मर्निङ वाकमा निस्किएकी एक महिला मोरङको कटहरी गाउँपालिकास्थित बाँसको झाङमा हातखुट्टा बाँधिएको र मुखमा टेप लगाएको अवस्थामा फेला परेकी छिन् । मंगलबार बिहान हिँड्डुल गर्न भनेर निस्किएकी मोरङको जहदाकी २२ वर्षीया महिला कटहरी– २ मा पर्ने धानखेतको बिचमा रहेको बाँसको झाङमा हातखुट्टा बाँधिएको र मुखमा टेप लगाएको अवस्थामा फेला परेकी हुन् ।
उनलाई दिउँसो १२ बजे खेतमा पराल लिन गएका महिलाले अर्धचेत अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले घटनास्थल पुगेर बाँधिएको हातखुट्टा र मुखको पट्टी खोलेर उपचारका लागि अस्पताल पु¥याएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार दुई सन्तानकी आमासमेत रहेकी उनी जहदा गाउँपालिकास्थित माइती घरमा बस्दै आएकी थिइन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक बयानमा उनले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी छिन् । पीडितको स्वास्थ्य र मानसिक अवस्था गम्भीर रहेकाले चिकित्सकीय परीक्षण भइसकेको छैन । उनले दिएको हुलियाअनुसार प्रहरीले सामूहिक बलात्कारमा संलग्न भनिएकाको खोजी तीव्र बनाएको छ । डिएसपी जोशीका अनुसार पीडितको अवस्थामा क्रमिक सुधार भइरहेको र उनलाई मनोविमर्शकर्ताले सेवा प्रदान गरिरहेका छन् । घटना गम्भीर प्रकारको रहेकाले चिकित्सकीय परीक्षणपछि मात्र उनीमाथि सामूहिक बलात्कार भएको हो–होइन यकिन गर्न सकिने बताए । ‘डाक्टरको रिपोर्टपछि मात्र के कसरी बलात्कार भएको हो–होइन, यकिन हुन्छ । प्रहरीले उनको बयानका आधारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ,’ उनले भने ।