चर्च ब्वाइज युनाइटेडले पहिलो संस्करणको झापा कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । प्रतियोगिताको सोमबार डोमालाल राजवंशी रंगशालामा भएको फाइनलमा न्युरोड टिम (एनआरटी)लाई ३–१ ले हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजले दश लाख र उपविजेता एनआरटीले पाँच लाख रुपैयाँ पाएका छन् । गत वर्ष डोमालाल रंगशालामै छैटौँ झापा गोल्डकप पनि चर्च ब्वाइजले जितेको थियो । जितसँगै चर्च ब्वाइजले १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ ।
च्याम्पियन बनाउने क्रममा चर्च ब्वाइजलाई विदेशी खेलाडी अमार्नन्डले दुई र समीर तामाङ एक गोल गरे । एनआरटीका कप्तान अञ्जन विष्टले एक गोल फर्काए । खेलको २९औँ मिनेटमा चर्च ब्वाइजले १–० को अग्रता लियो । समीरले दोस्रो प्रयासमा एनआरटीलाई अग्रता दिलाएका थिए । उनले एनआरटीका खेलाडीबाट बल खोस्दै पहिलोपटक पोस्ट चार्ज गरेको बल गोलरक्षक विशाल सुनारको हातबाट फुत्कियो । त्यसपछि दोस्रो प्रयासमा समीरले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे ।
खेलको ४३औँ मिनेटमा अर्मान्डले चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए । उनले रोहन कार्कीले डिबक्समा मिलाएको पासमा सहजै गोल गरे । पहिलो हाफ सकिनुअगाडि नै एनआरटीले खेलमा फर्कने प्रयास गरेको थियो । कप्तान अञ्जन विष्टले एनआरटीलाई पहिलो हाफको इन्जुरी समयमा २–१ का लागि गोल गरे । अञ्जनले विदेशी खेलाडी कार्लोसले मिलाएको पासमा गोल गरेका हुन् । त्यसपछि खेलको अन्तिम इन्जुरी समयमा चर्च ब्वाइजले ३–१ को अग्रता लियो । अर्मान्डले व्यक्तिगत दोस्रो गरेका हुन् । समीरले मैदानको मध्यभागबाट बल लैजाँदै डिबक्समा दिएको उत्कृष्ट क्रसमा अर्मान्डले गोल गरे ।
दुई खेलाडीलाई रातो कार्ड
खेलको ८०औँ मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । निकै तनावपूर्ण उपाधि भिडन्तमा रेफ्री प्रज्वल क्षेत्रीले दुई रातो कार्ड देखाए । मैदानभित्र आपसमा झगडा गरेपछि एनआरटीका कप्तान अञ्जन र चर्च ब्वाइजका विदेशी खेलाडी डिकाले रातो कार्ड पाए । चर्च ब्वाइजका समीर फाइनलका म्यान अफ दी म्याच हुँदै दश हजार रुपैयाँ पाए । उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका क्रिशल मोक्तान, सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रूपमा छनोट भएका झापा–११ का प्रदीप बुढाथोकीले ३५ हजार रुपैयाँ पुरस्कार पाए । मोस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहन कार्की हुँदै एक लाख रुपैयाँ पुरस्कार पाए ।
यसअघि, प्रतिस्पर्धात्मक फाइनलमा एनआरटीले बल नियन्त्रणमा राखेको थियो । तर, एनआरटीको फिनिसिङ पक्ष कमजोर भयो । डिफेन्सको गल्तीमा एनआरटीले पहिलो गोल खाएको थियो । चर्च ब्वाइजले दोस्रो हाफ सम्हालिएर खेलेको थियो ।