मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ९ मंगलबार o७:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारमाथि दबाब बढाउँदै माओवादी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार o७:o६:oo

प्रतिवेदन लेख्दै प्रचण्ड, देशैभरि खबरदारी सभा र सम्मेलन 

प्रमुख प्रतिपक्ष दल माओवादीले देशभरका पालिकास्तरबाट सरकारविरुद्ध खबरदारी बढाउन थालेको छ । माओवादीले १० कात्तिकमा सुरु गरेको पालिकास्तरीय खबरदारी सभा जारी राखेको छ । 

‘सरकारका गलत कामविरुद्ध जनतालाई सचेत गराउन देशव्यापी खबरदारी आवश्यक परेको हाम्रो बुझाइ छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उनका अनुसार खबरदारी सभा र पालिका सम्मेलन अन्तिम चरणमा पुगेको छ । ‘सबै जिल्लामा पालिकास्तरमा सम्मेलन र खबरदारी सभा भएका छन् । कपितय जिल्लामा पालिका सम्मेलन र खबरदारी कार्यक्रम सम्पन्न भएका छन् भने कतिपय पालिकामा जारी छ,’ उनले भने ।

माओवादीले पालिकास्तरीय खबरदारी सभा गत १० कात्तिकमा काठमाडौंबाट सुरु गरेको थियो । विपत्मा जनताले सरकारको अनुभूति गर्न नपाएको, पुनस्र्थापना र पुनर्निर्माणमा सरकार चुकेको, अन्तर्राष्ट्रिय जगत्मा पहलकदमी लिन नसकेको, जनहितविपरीत सरकार अघि बढेको, सुशासनविरुद्ध भ्रष्टाचारीको संरक्षणमा सरकार लागेको आरोप माओवादीको छ ।

संविधान संशोधन अग्रगमनको पक्षमा हुनुपर्ने एजेन्डा पनि माओवादीले अघि सारेको छ । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञ मन्त्री बन्ने गरी संविधान संशोधन गर्नुपर्ने विषय अघि सारेको छ । भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता नदिई व्यवस्था बलियो नहुने निचोड माओवादीको छ । त्यसका लागि संगठन सुदृढीकरण हुनुपर्ने आवश्यकता उसले औँल्याएको छ । अन्तर्राष्ट्रिय मानवताको विषयमा पनि सरकारमाथि दबाब बढाएको छ । माओवादीसहित विपक्ष दल र नागरिक समाजका अगुवाको नेतृत्वमा गाजामा इजरायली नरसंहारविरुद्ध देशव्यापी हस्ताक्षर संकलन भइरहेको छ । सरकारलाई गाजावासीको पीडामा बोल्न दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन जारी छ । हस्ताक्षर संयुक्त राष्ट्रसंघमा समेत बुझाउने तयारी छ ।

केन्द्रीय समिति बैठकको तयारी
प्रदेशस्तरीय सम्मेलन र खबरदारी सभाका साथै माओवादीले केन्द्रीय समिति बैठकको तयारीसमेत थालेको छ । आगामी २१ पुसमा बस्ने गरी बोलाइएको बैठकको तयारीमा रहेको नेताहरूले बताएका छन् । बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनको तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थालेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सदन र सडकबाट सशक्त खबरदारी गर्ने गरी प्रतिवेदन आउने माओवादी उपमहासचिव शक्ति बस्नेतले बताए । उनका अनुसार समाजवादी आन्दोलनको विषय पनि प्रतिवेदनमा समेटिनेछ ।

प्रतिवेदन स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ । माओवादी खबरदारी सभा र पालिका सम्मेलनका कारण केन्द्रीय समिति बैठकको मिति सारिएको सापकोटाले बताए । केन्द्रीय समिति बैठकको तयारीका लागि माओवादीले १८, १९ र २० पुसमा स्थायी समिति बैठक बोलाएको छ ।