मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Thursday, 19 December, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ भदौ १७ सोमबार o६:४o:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

करेन्ट लागेर तीन वर्षमा एक हजारभन्दा बढीले गुमाए ज्यान

सचेतनाको अभाव र राज्यको लापरबाहीले दैनिकजसो ‘विद्युतीय पासो’मा नागरिक

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार o६:४o:oo

सचेतनाको अभाव र सेवा प्रवाह गर्ने निकायको लापरबाहीका कारण नागरिकहरू दिनहुँजसो ‘विद्युतीय पासो’मा परिरहेका छन् । पछिल्ला तीन वर्षमा एक हजारभन्दा धेरैको करेन्ट लागेर मृत्यु भएको प्रहरी रिपोर्ट छ । शुक्रबारयता तीन दिनमा मात्रै करेन्ट लागेर आठजनाले ज्यान गुमाएका छन् । शुक्रबार दुई, शनिबार पाँच र आइतबार एकजनाले ज्यान गुमाएका हुन् । 

प्रहरीका अनुसार शुक्रबार बाराको जितपुर–सिमरा उपमहानगरपालिका– १६ टाँगिया बस्तीका टीकाबहादुर खनाल र बाराकै सुवर्ण गाउँपालिका– ३ सतगन्जका ५५ वर्षीय रामअश्रय पण्डितको मृत्यु भयो । दुवैजनालाई धानखेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा करेनट लागेको हो । 

शनिबार सुनसरीको इटहरी उपमहानगरपालिका– २ स्थित निर्माणाधीन घरमा वाइरिङको काम गर्ने क्रममा करेन्ट लागेर ५० वर्षीय पाचु उराउ, बाराको जितपुर–सिमरा उपमहानगरपालिका– ७ जितपुरमा डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका– ३१ केहुनियाका १८ वर्षीय राजन पटेलको विद्युतीय मोटर जडान भएको कलबाट पानी चलाउने क्रममा र जुम्लाको कनकासुन्दरी गाउँपालिका– २ चुनिलेखमा ८४ वर्षीय गोरे रावतको राष्ट्रिय प्रसारणलाइनको विद्युत् पोलबाट करेन्ट लागेर मृत्यु भयो ।

त्यस्तै, धनुषाको धनौजी गाउँपालिका– २ गोरदाहाका ५५ वर्षीय कालीचरण मण्डलको पानी सिँचाइ गर्न विद्युतीय मोटर जोड्ने क्रममा र रूपन्देहीको देवदह नगरपालिका– ३ सूर्यपुराका ४८ वर्षीय युक्तबहादुर कुँवरको चापाकल चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरी रिपोर्ट छ । आइतबार पनि काभ्रेको पनौतीस्थित प्रहरी एकेडेमीको निर्माणाधीन भवन ढलान गर्ने क्रममा करेन्ट लाग्दा सप्तरीका सबिन चौधरीको मृत्यु भयो । 

विद्युत्को बढ्दो प्रयोगसँगै सुरक्षामा लापरबाही गर्दा दैनिकजसो यससम्बन्धी दुर्घटनामा सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । दुर्घटना, प्राकृतिक विपत् जस्तै करेन्टबाट ठुलो जनधनको क्षति भइरहेको छ । तर, राज्यका कुनै पनि निकायको यसतर्फ ध्यान जान सकेको छैन । यसरी ज्यान गुमाउनेमा धेरै मजदुर र किसान छन् । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा मात्र ३३३ जनाले ज्यान गुमाए भने १०६ जना घाइते भएका छन् । त्यस्तै, ०७९/८० मा ३०८ को मृत्यु र ७४ घाइते भएका थिए । ०७८/७९ मा ३५३ को मृत्यु र नौजना घाइते भएका छन् । 

प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्की करेन्ट लागेर मृत्यु हुने घटना बढ्नुमा सर्वसाधारण र राज्य दुवैको लापरबाही रहेको बताउँछन् । ‘धेरै घटनामा विद्युतीय सामान प्रयोगबारे ज्ञान नहुँदा करेन्ट लागेर सर्वसाधारणले ज्यान गुमाइरहेका छन्,’ उनी भन्छन्, ‘यसमा अज्ञानता पनि उत्तिकै छ, सामाजिक दायित्वअन्तर्गत सम्बन्धित कम्पनीले पनि सचेतनाका लागि लगानी बढाउनुपर्छ ।’ 

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल विद्युतीय दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम हुँदै आए पनि अपेक्षित नतिजा नआएको स्विकार्छन् । ‘सचेतना कार्यक्रम देशैभरि भइरहेका छन्, तर नतिजा सोचेअनुसार आउन सकेको छैन,’ उनी भन्छन्, ‘अब स्थानीय तहसँग मिलेर यसलाई प्रभावकारी बनाउने तयारीमा छौँ ।’ 
कतिपय अवस्थामा सर्वसाधारणका गल्ती पनि हुने गरेका छन् । जस्तो २ भदौमा रूपन्देहीमा नांगो तारमा कपडा सुकाउने क्रममा माने सार्कीले ज्यान गुमाए । ५ भदौमा अछामको घटनामा पनि विद्युत् लाइन बन्द नगरी मर्मत गर्दा दुईजना घाइते भएका हुन् ।

विद्युत्को पोलआसपास घाँस काट्ने क्रममा करेन्ट लागेर पनि धेरैले ज्यान गुमाएका घटना छन् । खोलामा माछा मार्ने क्रममा तथा जनावरलाई राखिएको विद्युतीय पासोमा करेन्ट लागेरसमेत सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । सिँचाइका लागि विद्युतीय मोटरबाट पानी तान्ने क्रममा समेत करेन्ट लागेर ज्यान गुमाउने संख्या पनि ठुलो छ । त्यस्तै, घर ढलान गर्ने क्रममा पनि करेन्ट लागेर धेरैले ज्यान गुमाएको प्रहरी अधिकारी बताउँछन् । कतिपय अवस्थामा प्राधिकरणकै लापरबाहीले समेत ज्यान जाने गरेको छ । नांगा तार सडकमा लत्रिएर गाडीमा करेन्ट लागेरसमेत कतिपयले ज्यान गुमाएका छन् । 

गत वर्ष असारमा सल्यान जिल्लामा बसमा करेन्ट लाग्दा तीनजनाले ज्यान गुमाएका थिए । दाङबाट रोल्पा जाँदै गरेको बसमा सल्यानको कपुरकोटमा करेन्ट लागेको थियो । पहिरोका कारण पोल ढलेर करेन्ट लागेको थियो । पोल ढलेपछि समयमै विद्युत् लाइन काट्नुपर्नेमा सो हुन नसक्दा तीनजनाले ज्यान गुमाएका थिए । २०७१ सालमा सिन्धुपाल्चोकको बराम्चीमा यस्तै घटना भयो । गुडिरहेको बसमा हाइटेन्सन लाइनको तारले छुँदा चारजनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । 

गत वर्ष वैशाखमा मोरङको उर्लाबारीमा टिपरमा करेन्ट लाग्दा चालक 
खड्गबहादुर विकले ज्यान गुमाएका थिए । गत वर्ष नै कात्तिकमा विद्युत् प्रवाह भएको तार चँुडिएर करेन्ट लाग्दा धादिङको नेत्रावतीमा निर्मला तामाङले ज्यान गुमाएकी थिइन् । प्राधिकरणका उपकार्यकारी निर्देशक सिलवाल कतै तार चुँडिएको तथा पोल ढलेको अवस्थामा आफूहरूलाई समयमै जानकारी नगराउँदा पनि दुर्घटना भएको बताउँछन् ।

‘सर्वसाधारणबाट तत्कालै जानकारी गराएमा हामीले विद्युत् लाइन बन्द गर्छौँ,’ उनी भन्छन्, ‘व्यवस्थापनपछि मात्र विद्युत् प्रवाह गर्दछौँ ।’ कतिपय अवस्थामा अन्य निकायले काम गर्दा प्राधिकरणसँग समन्वय नगर्ने प्रवृत्तिले पनि दुर्घटना बढेको उनको भनाइ छ । विद्युत्को व्यापारबाट नेपाल विद्युत् प्राधिकरणले कमाउने नाफा उच्च भइरहेको छ । तर, त्यसअनुसार उसले सर्वसाधारणको सुरक्षामा भने लगानी गरेको छैन । 

धेरै घटना मधेश र लुम्बिनीमा 
प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै करेन्ट लागेर मृत्यु हुने घटना मधेश प्रदेशमा छन् । गत वर्ष मात्र मधेशमा ११० जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०७९/८० मा ९१ तथा ०७८/७९ मा ७२ जनाले ज्यान गुमाएका थिए । मधेशपछि लुम्बिनी प्रदेशमा करेन्टका घटना धेरै छन् । गत वर्ष ०८०/८१ लुम्बिनीमा ८४, ०७९/८० मा ६१ र ०७८/७९ मा ६० जनाले ज्यान गुमाएका छन् । 

बालबालिका विद्युतीय धरापमा 
गत २६ साउनमा रौतटहको ईशनाथ नगरपालिका– ४, मठिया टोल बस्ने महमद साहबानका छोरा ६ वर्षीय महमद सुल्तानको करेन्ट लागेर मृत्यु भयो । घरमै छतमा खेलिरहेको अवस्थामा विद्युत्को नांगो तारमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको थियो । गत ११ असारमा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर अछामको तुर्माखाँद गाउँपालिकामा १५ वर्षीय बालक विमल कामीले ज्यान गुमाए ।

गत जेठ १६ मा मकवानपुरको इन्द्रसरोवरमा क्रसरको तारमा छुँदा १३ वर्षीय रोहित रुम्बाको मृत्यु भएको थियो भने अर्का एक घाइते भएका थिए । बालबालिकासमेत करेन्टको ठुलो जोखिममा छन् । पछिल्लो तीन वर्षमा ६३ जना बालबालिकाले करेन्टबाट ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०८०/८१ मा ३१, ०७९/८० मा ३२ र ०७८/७९ मा ३० बालबालिकाको करेन्टबाट मृत्यु भएको छ । 

‘लापरबाही’ले ज्यान गुमाउँदै प्राधिकरणकै कर्मचारी
सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर गत साता विद्युत् प्राधिकरणकै कर्मचारी विष्णु राईले ज्यान गुमाए । प्राधिकरणअन्तर्गतको सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक राईको हाइटेन्सन लाइनआसपासको रुख काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । सोही घटनामा विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत बुद्धि राजभण्डारी तथा ज्यालादारीका कर्मचारीद्वय टसी शेर्पा र कुमार बस्नेत घाइते भएका थिए । 

गत १४ जेठमा कपिलवस्तुको यशोधरा गाउँपालिका–६, रंगपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारीका कर्मचारी यशोधरा–२, गणेशपुरका ३२ वर्षीय हरिशचन्द्र मिश्रको मृत्यु भएको थियो । हावाहुरीसँगै आएको पानीले गर्दा रंगपुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेका वेला मर्मत गर्न पुगेका उनलाई करेन्ट लागेको थियो । 

गत १२ वैशाखमा प्राधिकरण सुर्खेतमा कार्यरत विशाल केसीको पनि करेन्ट लागेर मृत्यु भएको थियो । विद्युत् मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । हरेक वर्ष प्राधिकरणकै ५–६ जना कर्मचारीको करेन्ट लागेर मृत्यु हुने गरेको छ । यद्यपि, यसको तथ्यांक प्राधिकरणले समेत राखेको छैन । कर्मचारीको मृत्युमा लापरबाही प्रमुख कारण रहेको उपकार्यकारी निर्देशक सिलवाल बताउँछन् । ‘हामीले कर्मचारीलाई पर्याप्त तालिम र सुरक्षा उपकरण दिएका छौँ,’ उनी भन्छन्, ‘तर, सुरक्षा उपकरण प्रयोग नगर्ने र काममा लापरबाही गर्दा हाम्रा कर्मचारीले ज्यान गुमाइरहेका छन् ।’

डिआइजी दानबहादुर कार्की, प्रवक्ता, नेपाल प्रहरी
दैनिकजसो करेन्ट लागेर सर्वसाधारणले ज्यान गुमाउनुको मुख्य कारण विद्युत् प्रयोगको सुरक्षाबारे सचेतनाको अभाव हो । सर्वसाधारणको अज्ञानतादेखि राज्यको लापरबाहीसम्मले घटना बढिरहेका छन् । विद्य्त् प्रयोगकर्तालाई सुरक्षाबारे जानकारी दिने कर्पाेरेट सामाजिक दायित्व सम्बन्धित निकायकै हो । 

 मनोज सिलवाल, प्रमुख, वितरण तथा 
ग्राहक सेवा निर्देशनालय, नेपाल विद्युत् प्राधिकरण

करेन्टबाट हुने मृत्यु रोक्न प्राधिकरणले जनचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ, तर नतिजा अपेक्षाअनुसार छैन । अब स्थानीय तहसँग मिलेर जनचेतनाका लागि काम गर्ने तयारीमा छौँ ।  कतिपय अवस्थामा विद्युत् चोर्ने क्रममा करेन्ट लागेर मृत्यु हुने गरेको छ । लापरबाहीका कारण हाम्रै कर्मचारीले पनि ज्यान गुमाइरहेका छन् । प्राधिकरणसँग समन्वय नगरी अन्य निकायले काम गर्दा पनि दुर्घटना भएका छन् ।

  •  प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा मात्र ३३३ जनाले ज्यान गुमाए भने १०६ जना घाइते भएका छन् । त्यस्तै, ०७९/८० मा ३०८ को मृत्यु र ७४ घाइते भएका थिए । ०७८/७९ मा ३५३ को मृत्यु र नौजना घाइते भएका छन् । 
  • बालबालिकासमेत करेन्टको ठुलो जोखिममा छन् । पछिल्लो तीन वर्षमा ६३ जना बालबालिकाले करेन्टबाट ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०८०/८१ मा ३१, ०७९/८० मा ३२ र ०७८/७९ मा ३० बालबालिकाको करेन्टबाट मृत्यु भएको छ ।