१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ७ शुक्रबार ११:oo:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धादिङकाे नीलकण्ठ र बेनीघाट रोराङ देशभरकै उत्कृष्ट पालिका

देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक र बेनीघाट रोराङ गाउँपालिकाले ८७ अंक पाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार ११:oo:oo

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा नगरपालिका र गाउँपालिका दुवैतर्फ धादिङ देशकै उत्कृष्ट बनेको छ । नगरपालिकातर्फ नीलकण्ठ र गाउँपालिकातर्फ बेनीघाट रोराङ सर्वाधिक अंकसहित देशकै उत्कृष्ट बनेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विकास गरेको लिजा एउटा परीक्षा हो । लिजामा देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक र बेनीघाट रोराङ गाउँपालिकाले ८७ अंक पाएको छ । 

विभिन्न सयवटा सूचकमा भएको मूल्यांकनका आधारमा आव ०७९/८० मा नगरपालिका उत्कृष्ट बनेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए ।

‘नीलकण्ठ नगरपालिका ९२.५० अंक ल्याएर देशकै उत्कृष्ट नगरपालिका बनेको हो । सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हकलगायत विभिन्न सूचकमा नगरपालिकाले उत्कृष्ट नतिजा ल्याएको छ,’ उनले भने, ‘यसमा जनप्रतिनिधि, कर्मचारीको काम र नगरवासीको सुझाव तथा उत्प्रेरणा महत्वपूर्ण छ ।’

यो नतिजाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा थप परिस्कृत गर्न उत्साह थपेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहितालगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बताए ।

‘शासक नभएर जनताको सुखदुःखको सारथि भएर काम गरिरहेका छौँ । जनताप्रति उत्तरदायी भएर काम गरे सफलता मिल्छ भन्ने यो एउटा उदाहरण हो,’ उनले भने ।