मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २९ मंगलबार
  • Thursday, 19 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ श्रावण २९ मंगलबार ११:४७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हनुमानढोकाको प्रहरी कार्यालय भवन भत्काउन आलटाल, जोखिमपूर्ण भवनमै बस्छन् ३६ प्रहरी

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २९ मंगलबार ११:४७:oo

सम्पदा अभियन्ता यादवलाल कायस्थलाई हनुमानढोका क्षेत्रमा रहेको नेपाल प्रहरीको थोत्रो भवन लडेर ऐतिहासिक मठमन्दिरसँगै मानवीय क्षति हुने हो कि भन्ने चिन्ता छ । सम्भावित क्षति रोक्न र सम्पदा जोगाउन वसन्तपुरस्थित कालभैरव मन्दिरअगाडि रहेको सो भवन हटाउन भन्दै उनी प्रशासनलाई हारगुहार गर्न थालेको महिनौँ बित्यो । तर, प्रशासनले उनको हारगुहारलाई सुन्न मानेकै छैन ।

धरापपूर्ण भवनमा प्रहरी बसिरहेको छ भने भवनको सामुन्नेबाट पर्यटक ओहोरदोहोर गर्छन् । जीर्ण भवन लड्यो भने आसपासका सम्पदा पुरिन्छन् । उक्त भवन यथाशीघ्र भत्काउनुपर्ने, यस क्षेत्रको मौलिकता कायम राख्नुपर्नेलगायत माग राख्दै कायस्थ पुरातत्व विभाग, प्रहरी प्रधान कार्यालय, हनुमानढोका दरबार संग्रहालय हेरचाह विकास समिति, काठमाडौं महानगरलगायत कार्यालयमा पटक–पटक धाइसके । तर, आफूले उठान गरेको विषयबारे सरकारी निकायले चासो नदिएको उनको गुनासो छ । ‘यो भवन भत्काएर जोखिम हटाउनुपर्छ, ऐतिहासिक सम्पदा क्षेत्रलाई खुला र सुरक्षित बनाउनुपर्छ भनेर धाउन थालेको धेरै भयो,’ उनले सुनाए, ‘तर कामै नलाग्ने भवन भत्काउनेबारे कसैले सुनेनन्, व्यक्तिका घरटहरा भत्काउन डोजर दौडाउने काठमाडौं महानगरले पनि यसमा बेवास्ता गरेको छ, नेपाल प्रहरीले पनि चासै दिएको छैन ।’ 

उक्त भवन रहेको जग्गा नेपाल प्रहरीको नाममा छ । ०१२ देखि ०७२ सालसम्म नेपाल प्रहरीको काठमाडौं परिसर यहीँ बस्दै आइरहेको थियो । ०७२ को भूकम्पमा भवन चिराचिरा परेपछि प्रहरी त्यहाँबाट टेकु सर्‍यो । प्रशासनिक कामकाज टेकुबाटै गरे पनि रातो स्टिकर लगाएको उक्त भवन भने प्रहरी छाडेको थिएन । यस भवनमा केही प्रहरी कर्मचारी अझै पनि बसोवास गर्दै आइरहेका छन् ।

हनुमानढोका दरबार संग्रहालय हेरचाह विकास समितिका प्रमुख सन्दीप खनालले यो ठाउँमा प्रहरीको भवन बन्नुपूर्व जे–जस्ता संरचना थिए, त्यही अवस्थामा लैजानुपर्ने बताए । ‘यो भवन भत्काएर प्रहरीकै संरचना बनाउने होइन, प्रहरी भवन बन्नुभन्दा पहिले ऐतिहासिक सम्पदा रहेको बुझिएको छ, त्यसकारण पूर्ववत् अवस्थामै लैजानुपर्छ,’ उनले भने, ‘सबैभन्दा पहिले जोखिमपूर्ण भवन छिटोभन्दा छिटो भत्काएर जोखिम कम गर्नुपर्छ ।’ उनका अनुसार त्यस स्थानमा ढुंगेधारा, पार्टीलगायत संरचना भएको बुझिएको छ । उक्त जग्गा प्रहरीको नाममा कसरी गयो भन्ने विषय झन् रहस्यमयी बनेको छ । उनका अनुसार उक्त भवनमा नेपाल प्रहरीको संग्रहालय राख्दा अन्य समस्यासमेत उत्पन्न हुन्छ । प्रहरीको संग्रहालय बनाएपछि अन्य निकायसँग सम्बन्धित संग्रहालयको पनि माग हुन्छ । समितिका प्रमुख खनालले प्रहरीले भवन बनाउनुभन्दा पहिले उक्त जग्गामा जे थियो, अध्ययन गरेर त्यही अवस्थामा पुर्‍याइनेछ । त्यसलाई पुष्टि गर्ने केही फोटा र कागजात पनि भेटिएको समितिले जनाएको छ । 

तर, नेपाल प्रहरीले भने सो जग्गा प्रहरीकै भएकाले प्रहरीले प्रयोग गर्ने नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताए । ‘उक्त भवन जोखिमपूर्ण नै छ । एद्यपि त्यो नेपाल प्रहरीकै सम्पत्ति हो । त्यसलाई प्रहरीले नै उपभोग र संरक्षण गर्नेबारे छलफल भइरहेको छ । वसन्तपुर क्षेत्र पर्यटकीय गन्तव्य भएकाले पर्यटक प्रहरी राख्नेबारे पनि छलफल चलिरहेको छ,’ उनले भने, ‘अन्य विकल्प नहुँदा अहिले त्यहाँ अस्थायी रूपमा केही प्रहरीलाई राखिएको हो ।’

हेर्दै अहिले नै गल्र्याम्म पल्टिएलाझैं उक्त भवनमा सुरक्षाकर्मी भने बसिरहेका छन् । प्रहरी परिसर, जनसेवा, रानीपोखरीलगायतबाट खटिने ३६ जना प्रहरी राति सोही भवनमा सुत्ने गर्छन् । जोखिम हुँदाहुँदै पनि सुत्न बाध्य भएको एक प्रहरीले बताए । ‘भवन निकै धराप छ, कतिवेला लड्ने हो थाहा छैन, तर हामी त्यही भवनमा बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अन्त जाऊँ भने ठाउँ छैन, अफिसले यही बस्नुस् भनेर पठाएको छ । खाना खाने र सुत्ने यही गर्छौं ।’

नेपाल प्रहरीका प्रवक्ता कार्कीले अन्य बसोवास स्थानको विकल्प नभएकाले उक्त भवनमा प्रहरी बस्न बाध्य भएको बताए । ‘अन्य विकल्प नभएरै उक्त भवनमा प्रहरी बस्न बाध्य हुनुपरेको हो,’ उनले भने, ‘प्रहरीकै नाममा रहेको भवन भत्काएर अर्को संरचना बनाउन दिँदैनन् । अब ससाना संरचना बनाएर पर्यटकीय प्रहरी राख्नेबारे छलफल चलिरहेको छ । तर, प्रहरीसँग नयाँ संरचना बनाउन बजेट नै छैन ।’