मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १७ बिहीबार
  • Wednesday, 15 January, 2025
अजित अधिकारी काठमाडाैं
२o८१ श्रावण १७ बिहीबार o७:४९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उपत्यकाको ठूलो खाद्यान्न गोदाममा पस्यो बाढी, ठूलो क्षति

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १७ बिहीबार o७:४९:oo

मंगलबार राति र बुधबार बिहानको अविरल वर्षाले काठमाडौंको कुलेश्वरमा रहेको उपत्यकाको सबैभन्दा ठूलो खाद्यान्न गोदाममा बाढी पसेर क्षति पुगेको छ । उपत्यकामा आपूर्ति हुने चामल, गेडागुडी, दाल, चिनी, तेल, घिउ, हार्डवेयर, दालमोठ, भुजियालगायतका खाद्यान्नमा बाढीले ठूलो क्षति पुर्‍याएको खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

‘बिहान साढे तीन बजेदेखि बाढी पसेर क्षति गर्न सुरु भयो र बिहान ९ बजेपछि मात्रै पानीको सतह कम हुन थालेको थियो,’ दिउँसो कुलेश्वरस्थित गोदाम परिसरमा भेटिएका श्रेष्ठले भने । दिउँसो १ बजे स्थलगत रिर्पोटिङमा पुग्दा अधिकांश व्यवसायी सटर खोलेर हिलो र पानी फाल्न व्यस्त थिए । हल्दिराम ब्रान्डको भुजिया, दालमोठलगायतको गोदाममा ७५ प्रतिशत क्षति पुर्‍याएको संघले जनाएको छ । 

त्यस्तै चामल, मकै, दाल, मैदालगायतको खाद्यान्न कारोबार गर्ने थोक व्यवसायी विनोद गुप्ताले एक मान्छे बराबरको पानीको सतह सटरमा पसेर क्षति पुर्‍याएको गुनासो गरे । ‘पोहोर पनि बाढी पसेको थियो, तर थोरै क्षति गरेको थियो,’ उनले भने, ‘यसपालि त एक मान्छे उचाइबराबरको पानी पसेर सबै क्षति गर्‍यो ।’ एउटा सिंगै घरलाई गोदाम बनाएका उनले भुइँतलामा रहेको मकैको दाना र चामल पूर्ण रूपले नष्ट भएको बताए । 

त्यस्तै, भुइँतलामै रहेको कार्यालय पनि पूर्ण क्षतिग्रस्त बनेको छ । ‘पानीले भिजेको र हिलोले छोपेको मकै, चामल खान अयोग्य हुन्छ । सबै फाल्नुपर्ने भयो,’ उनले भने, ‘मेरो पसलमा कम्तीमा ३०–३५ लाखको क्षति भएको छ ।’ उनको पसलमा रहेको ६–७ थरी खाद्यान्नमा बाढी पसेर क्षति पुगेको बताए ।

त्यस्तै, दिउँसो सटरबाट पानी फाल्दै गरेको अवस्थामा भेटिएका बालाजी इटरप्राइजेजका सञ्चालक पंकजकुमारले बाढीका कारण ५० लाखभन्दा बढीको नोक्सान व्यहोरेको बताए । ‘मेरो हार्डवेयरको सामान हो । महँगा सामान प्रयोग नै गर्न नमिल्ने गरी नष्ट भयो,’ उनले भने, ‘गत वर्ष पनि बाढी पसेकाले सटर अगाडि अग्लो ढलाइ गरेको थिएँ, तर यसपालि त मोटरसाइकल नै डुबाउने गरी पानी पसेकाले ढलाइले पनि काम गरेन ।’

उनको सटरभित्र रहेको पल्सर मोटरसाइकल पानीमा डुबेर प्रयोग गर्नै नमिल्ने अवस्थामा अलपत्र गरी राखिएको थियो । उनले बर्सेनि बाढीको समस्याबाट मुक्ति पाउन गोदाम नै अन्यत्र सार्न लागेको बताए । 

सबै गोदाममा सटर लगाएर राखिएको भए पनि बाढीको तीव्र वेगका कारण पानी पसेको व्यवसायीले बताएका छन् । करिब ४–५ घन्टासम्म पानीको सतह नघटेको कारण भुइँतलामा रहेको खाद्यान्न पूर्ण रूपले नष्ट भएको संघका अध्यक्ष श्रेष्ठले बताए । कुलेश्वर क्षेत्रमा एक सयभन्दा बढी थोक व्यवसायीका खाद्यान्न गोदाम छन् ।

‘यहाँका सबै व्यवसायीको गोदाममा भएको खाद्यान्नमा क्षति पुगेको छ । क्षतिको यकिन भने भएको छैन,’ श्रेष्ठले भने । बल्खु खोलाको पश्चिमपट्टि रहेको थोक बजार डुब्नुमा बाँध अभाव प्रमुख कारण रहेको श्रेष्ठले औँल्याए । ‘ललितपुरपट्टिको किनारमा बाँध छ । तर, काठमाडौंतिरको किनारामा बाँध नहुँदा सबै पानी पसेर बर्सेनि खाद्यान्नमा क्षति पुग्ने गरेको छ,’ उनले भने ।

ठूलो खाद्यान्न क्षेत्रमा बाढीले क्षति गरे पनि उपत्यकामा खाद्य वस्तुमा खासै असर नपर्ने उनको भनाइ छ । ‘यहाँको सामानको आपूर्तिमा कमी हुँदा केही न केही असर त देखिहाल्छ, तर अन्यत्रका गोदाममा भएका सामान पनि बाहिर आइहाल्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले मूल्य शृंखला र आपूर्ति प्रणालीमा तत्काल असर पर्दैन ।’