१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Friday, 18 October, 2024
२o८१ श्रावण १२ शनिबार १o:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेतीमा दुईजनामा हैजा पुष्टि, शंकास्पद लक्षण भएका दुई बालकको ‘आरडिटी पोजेटिभ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १o:o९:oo

सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका दुईजना बिरामीमा हैजा भएको पुष्टि भएको छ। दुवैजनाको नमुना ल्याबमा परीक्षण गर्दा हैजा पुष्टि भएको अस्पतालले जनाएको छ। उनीहरू दुवैजनाको बिहीबार आरडिटी परीक्षण गर्दा हैजा पोजेटिभ देखिएको थियो।

हैजा देखिएका दुवैजना धनगढीको पशुपति टोलमा एउटै घरमा बस्ने दुई परिवारका रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार हैजा देखिएका एकजना उपचारपछि घर फर्केका र एक उपचाररत छन्। प्रदूषित पानीका कारण हैजा भएको देखिएको अस्पतालले जनाएको छ।  

पखाला लागेर सेतीमा बिहीबार भर्ना भएका पशुपति टोलकै दुई बालकमा पनि शुक्रबार आरडिटी परीक्षण गर्दा हैजा ‘पोजेटिभ’ देखिएको छ। हैजाको लक्षण देखिएपछि आरडिटी जाँच गर्दा ६ वर्षीय र आठ वर्षीय दुई बालकमा हैजा पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। ‘आरडिटी पोजेटिभ देखिँदैमा हैजा हो भन्न मिल्दैन, कल्चर जाँचका लागि नमुना ल्याबमा पठाएका छौँ, उनले भने, ‘आइतबार रिपोर्ट आएपछि थाहा हुन्छ।’

हैजा पुष्टि भएका दुईजना र आरडिटी पोजेटिभ भएका दुई बालक एउटै घरमा बस्ने फरक-फरक परिवारका रहेकाे जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताए। हैजा देखिएपछि उक्त घरमा बस्ने सबैको आरडीटी परीक्षण गरिने उनले जानकारी दिए। 

स्वास्थ्य कार्यालयको टोलीले शुक्रबार त्यहाँ खानेपानीको नमुनासमेत संकलन गरेको छ। त्यहाँको खानेपानी परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख श्रेष्ठले बताए। खानेपानी शुद्धीकरण गरेर पठाउन खानेपानी संस्थान, खानेपानी डिभिजन र खानेपानी कार्यालयलाई शुक्रबार नै पत्राचारसमेत गरिएको उनले जानकारी दिए। 

धनगढी मुख्य बजारमा सडक निमार्णका क्रममा रहेकाले खानेपानीको पाइप फुटेका ठाउँबाट ढल मिसिएको हुन सक्ने अनुमान गरिएको छ। सेतीमा गत जेठमा पनि भारतको दिल्लीबाट आएकी एक महिलामा हैजा देखिएको थियो। कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्बन्धित ठाउँमा द्रुत प्रतिकार्य टोलीसहित जनशक्ति परिचालन गर्न मातहतका सम्बन्धित स्वास्थ्य निकायहरूलाई निर्देशन दिएको छ।

सचिवस्तरीय बैठकको निर्णयअनुसार हैजा, दादुरालगायत महामारीजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्न सतर्कता अपनाई पूर्वतयारीमा रहन मन्त्रालयअन्तर्गत स्वास्थ्य निकायहरूलाई निर्देशन गरिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले जानकारी दिए। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दुईजनामा हालै दादुरा पुष्टि भएको मन्त्रालयले जनाएको छ।