
बुधबार दिउँसो पौने २ बजेतिर चितवनका स्थानीयले रेलमार्गको सर्भेका लागि आएको ठानेर एउटा गाडीमा आगजनी गरे। प्रहरीकै अगाडि स्थानीयले भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरे।
तर, आगजनी गरिएको उक्त गाडी रेलमार्गको सर्भेका लागि नभई सडककाे नक्सांकनका लागि आएको खुलेको छ। उक्त टोली सडककाे म्याप अपडेटको लागि कालोपुल काठमाडाैंबाट आएको आरएस इन्जिनियरिङ सोलुसन्स प्रालिको रहेको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले जानकारी दिए।
रेलमार्गको योजना उक्त स्थानबाट सार्नुपर्ने माग गर्दै विगतदेखि नै स्थानीयहरू विरोधमा थिए। तर, बुधबार उक्त टोली सर्भेका लागि आएको हल्लैहल्लामा स्थानीयले आगजनी गरिदिएका हुन्।
गाडीको आगो भरतपुर महानगरको दमकल र प्रहरीको सहयोगमा करिब सवा २ बजेतिर निभाइएको थियो। घटनामा मानवीय क्षति नभए पनि कार पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।