
भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले उक्त शव भारतीय नागरिककाे भएकाे बताए।
भारतीय आधार कार्ड र ग्लोबल आइएमई बैंकको एटिएम कार्डका आधारमा उनी भारतीय नागरिक ऋषि पाल साह भएको सिडिओ यादवले बताए।
नारायणी नदीको बाढीले पुरिएको अवस्थामा फेला परेका उनी सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रु भएको अनुमानसमेत गरिएको छ। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार अहिले मुचुल्का बनाएर शव उठाउने प्रक्रिया सुरु भएको छ।
वाटरड्रोनबाट खोज्दा पनि पत्ता लागेनन् यात्रु र बस
शुक्रबार बिहान साढे ३ बजे चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा खसेको गेग्रान र लेदोसहितको पहिरोले धकेलेर गुड्दागुड्दैका दुई बस त्रिशूली नदीमा खसालिदिँदा ४८ यात्रु बेपत्ता भएको अनुमान छ।
पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र बसमा सवार यात्रुको खोजी कार्य आज (शनिबार) बिहानैदेखि सुरु भएको चितवनका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए।
क्यामेरा (वाटरड्रोन), चुम्बक, बोटलगायतका माध्यमबाट पानीमा खोजीकार्य हुँदा पनि बस र यात्रुको अवस्थाबारे पत्ता लागेको छैन । वर्षा नरोकिएको तथा नदीमा पानीको बहाव उच्च रहेसँगै धमिलो पानीको कारण खोजीकार्यमा समस्या भएको यादव बताउँछन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित गोताखोरको टोली अहिले पनि खोजतलासमा खटिएको छ। हिजो दुर्घटनास्थलनजिकै गाडीको पर्दा र बालकको ट्रयाकसुट फेला परेको र उक्त पर्दा वीरगन्जबाट छुटेको गाडीको भएको जनाइएको छ।
काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९६ र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्सको बा.प्र ०३००६ ख १५१६ नम्बरका बस पहिरोसँगै नदीमा खसेका थिए।
चालक दलका सदस्यसहित काठमाडौंबाट छुटेको बसमा २७ र वीरगन्जबाट छुटेकोमा २४ गरी ५१ जना सवार थिए । तीमध्ये काठमाडौं–रौतहटको बसका तीनजना पौडिएर जोगिएका थिए। चितवनका प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उनीहरू रौतहटको देवाही गोनाही नगरपालिका– १ का ३१ वर्षीय नन्द दास, राजदेवी नगरपालिका– ९ का जोगेश्वरराय यादव र गण्डमाई नगरपालिका– ३ का २६ वर्षीय सुरज गुप्ता हुन् ।
वीरगन्ज–काठमाडौं बसमा तीन चालक दलका सदस्य, १४ नेपाली र सात भारतीय यात्रु रहेको पुष्टि भएको छ । एकै व्यक्तिको नाममा दुई–तीनजनासम्म यात्रुको टिकट काटिएकाले सबैको यकिन पहिचान हुन सकेको छैन।