भारी वर्षाले मंगलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गरिएका छन् । भारी वर्षापछि रेल तथा उडान सेवा प्रभावित भएका छन् ।
सोमबार विभिन्न स्थानमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ । यससँगै मुम्बई विश्वविद्यालयले मंगलबारका लागि निर्धारित सबै परीक्षा स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विज्ञप्तिमार्फत जानकारी गरेको छ ।
जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपत् प्रतिक्रिया बलका टोलीहरू ठाणे, बसई, महाड, चिप्लुन, कोल्हापुर, सांगली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्गलगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएका छन् ।
यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।