कास्की र स्याङ्जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेसँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । पर्वतको मोदी गाउँपालिका– ६ रतीखोलादेखि वडा नं. ८ चित्रेसम्मको १२ किलोमिटर सडक स्तरोन्नति गर्न थालिएको हो ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत यो रतीखोला–दराक–चित्रे–गँगटे सडक स्तरोन्नतिका लागि रु. ४४ करोडमा सम्झौता भएको थियो ।
सडक स्तरोन्नति तथा कालोपत्रेसहित ३० महिनामा सम्पन्न गर्ने गरी गत असारमा सम्झौता भएको हो । सडक निर्माणको जिम्मा ओएशिस इन्जिनियरिङ बिल्डर्स, पूर्ण लक्ष्मी प्रालि जेभीले पाएको छ ।
उक्त सडकअन्तर्गत दुई खण्डमा विभाजन गरेर धमाधम निर्माण कार्य थालिएको निर्माण कम्पनीका साइड इन्चार्ज लाक्पा तामाङले जानकारी दिए । उनका अनुसार अहिले ९० जना मजदुर र पर्याप्त यन्त्र–उपकरण परिचालन गरेर द्रुत गतिमा काम भइरहेको छ । सडक मापदण्डअनुसार चक्ल्याउने, ग्याविन जाली भर्ने, नाली तथा टेवा पर्खाल निर्माणजस्ता काम भइरहेको तामाङको भनाइ छ ।
सडक निर्माणका लागि ढुंगाको भने समस्या रहेको छ । स्थानीय रतीखोलाबाट पर्याप्तमात्रामा ढुंगा निकाल्न नपाउँदा कामको गति बढाउन समस्या भएको उनको भनाइ छ । गाउँपालिका र स्थानीयसँग सहमति गरेर खोलाको ढुंगा प्रयोगमा ल्याउने तयारी भइरहेको छ । निर्माण सामग्रीको पर्याप्तता र अन्य कुनै अवरोध नभएमा अबको २५ महिनामै सडक कालोपत्र गरिसक्ने दाबी निर्माण कम्पनीको रहेको छ ।
सडक खण्डअन्तर्गत आठ किलोमिटरमा ग्याबिन जाली भर्ने र अन्य पूर्वाधारको काम भइरहेको छ भने तीन किलोमिटर कटिङ गरिसकिएको छ । गत असारमा पूर्वाधार विकास कार्यालयसँग निर्माणको सम्झौता भए पनि वर्षायाम रोकिएपछि मात्र काम सुरु भएको थियो । सडक स्तरोन्नति नहुँदा गण्डकी प्रदेशमै प्रख्यात चित्रे (होमस्टे) घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीयले आवतजावतमा सास्ती व्यहोर्दै आएका थिए ।
यहाँका बासिन्दा छिमेकी वडा राम्जादेउराली, आर्थरडाँडाखर्क हुँदै सदरमुकाम र डिमुवा बजारमा आउन बाध्य भएका थिए । अब भने मोदी गाउँपालिकाको केन्द्र रहेको मध्यपहाडी लोकमार्गमा जोडिने पातीचौरसम्म सीधा सडक सम्पर्कले जोडिने स्थानीय घरबास व्यवसायी सुशीलादेवी गुरुङले बताइन्। स्थानीयवासीका साथै घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने भएको छ ।