Skip This
स्वास्थ्यकर्मीले पाएनन् नौ महिनादेखि तलब
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
२o८१ असार २१ शुक्रबार o७:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

स्वास्थ्यकर्मीले पाएनन् नौ महिनादेखि तलब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o७:१५:oo

कैलालीको जानकी गाउँपालिका र गाउँपालिकामातहतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखिको तलब पाएका छैनन् । गाउँपालिका, चारवटा स्वास्थ्य चौकी, पाँचवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाइमा विभिन्न तहमा कार्यरत ४७ जना स्वास्थ्यकर्मीले गत कात्तिकयता तलब नपाएका हुन् ।

लामो समयसम्म तलब नपाउँदा घर खर्च चलाउन निकै समस्या भोग्नुपरिरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । उनले ऋणसापटी गरेर घर खर्च चलाइरहेको बताए । ‘तलब नपाउँदा निकै समस्यामा छौँ, घर खर्च चलाउन र बालबालिकाको स्कुलको शुल्क तिर्न ऋण लिनुपरेको छ,’ उनले भने, ‘आर्थिक वर्ष सकिन लागिसक्यो, तलब कहिले आउने हो थाहा छैन ।’

गाउँपालिकाअन्तर्गत २७ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि विभिन्न ठाउँबाट समायोजन र मिलान गरी आएका ४७ जना स्थायी स्वास्थ्यकर्मी कार्यरत छन् । दरबन्दीमा कार्यरतको तलबका लागि सुरुमा आएको बजेट बाँडेर लिएको र त्यसपछि थप बजेट नआएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गोदावरी नगरपालिका र नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत एक सय एकजना कर्मचारीले पनि आठ महिनादेखि तलब पाएका छैनन् । पहिलो चौमासिकमा दरबन्दीमा कार्यरत कर्मचारीको तलबका लागि आएको बजेट बाँडेर लिए पनि त्यसपछि तलब नआएको नगरपालिकाका स्वास्थ्य अधिकृत नवराज अवस्थीले बताए ।

५२ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको नगरपालिकामा ४९ जना फाजिलमा रहेका अवस्थीले जानकारी दिए । स्वास्थ्यका सबै कर्मचारीको तलबबापतको करिब तीन करोड रुपैयाँ बजेट नआएको उनले बताए । आठ महिनादेखि तलबविनै काम गर्दा आर्थिक समस्या भइरहेको उनले बताए । ‘दरबन्दीमै कार्यरत कर्मचारीको समेत तलब आएको छैन,’ स्वास्थ्य अधिकृत अवस्थीले भने, ‘केही दिनमा आउला कि !’ कैलाली गाउँपालिकामा पनि जेठदेखिको स्वास्थ्यकर्मीको तलब नआएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले बताए । 

स्थानीय तहका जनप्रतिनिधिको अघिल्लो कार्यकालमा स्थानीय तहको सहमति लिएर काजसरुवा गरी आएका स्वास्थ्यका कर्मचारीले सुगमका पालिकामा दरबन्दीभन्दा बढी कर्मचारी छन् । काजसरुवाले सुगमका पालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएपछि स्वास्थ्य मन्त्रालयले गत वर्ष काजका कर्मचारीलाई दरबन्दी भएको ठाउँमा फर्कन निर्देशन दिएको थियो । तर, पछि मन्त्रालयले यथावस्थामै काम गर्न पुनः परिपत्र गरे पनि तलब भने दरबन्दी भएको ठाउँमा पठाउने गरेको कर्मचारी बताउँछन् ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले स्वास्थ्यका कर्मचारीको तलब निकासाका लागि मन्त्रालयमा चारपटक पत्राचार गरे पनि नआएको बताए । केन्द्रबाट सहमति लिएर आएकाले गाउँपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी रहेको बताए । नौ महिनादेखि तलब नपाएको भन्दै जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यर्कीले बिहीबार कालोपट्टी बाँधेर गाउँपालिकामा धर्ना दिएका छन् । 

ad
ad
ad
ad