१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ असार १५ शनिबार o९:o७:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

घाउ बल्झाउने त्यो किक र सागको स्वर्ण 

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o९:o७:oo

सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा कराँते खेलबाट नेपालले समग्रमा १९ पदक जितेको थियो । जसमा १० स्वर्ण, चार रजत र पाँच कांस्य थिए । नेपाललाई कराँतेमा स्वर्ण दिलाउने खेलाडीमध्ये विप्लवलाल श्रेष्ठ पनि एक थिए । उनले कुमुतेको ८४ केजी प्लस समूहमा स्वर्ण पदक जितेका थिए । फाइनलमा पाकिस्तानबाट सहभागीमध्ये बाज मोहम्मद बढी अन्तर्राष्ट्रिय अनुभवप्राप्त खेलाडी उनका प्रतिद्वन्द्वी थिए । यस समूहमा स्वर्णको दाबेदार मोहम्मदलाई मानेको थियो । खेल सकिन ३० सेकेन्डसम्म श्रेष्ठ ३–४ ले पछि थिए । पाकिस्तानी खेलाडीविरुद्ध एक अचुक किकले ५–४ को अग्रता अन्तिमसम्म राखी उनले स्वर्ण हात पारे । यसै किकले व्यहोरेको चोटले अहिलेसम्म उनलाई सताइरहेको छ । श्रेष्ठले स्वर्ण पदक हात पारेको क्षण नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाएका छन् :

छनोट खेल्न अस्ट्रेलियाबाट नेपाल आएँ
सन् २०१९ को साग छनोटको एक महिनाअघि म अस्ट्रेलियामा थिएँ । अस्ट्रेलियन ओपन कराँते खेल्न त्यहाँ पुगेको थिएँ । च्याम्पियनसिपमा पहिलो फाइट जिते पनि पदकविहीन भएँ । प्रतियोगितामा सहभागी हुनुका साथै परिवारसँग तीन महिना अस्ट्रेलियामा बस्ने योजनाका साथ पुगेको थिएँ । तर, त्यही समयमा १३औँ सागको प्रारम्भिक छनोटको घोषणा भयो । 

त्यसपछि परिवारसँगै स्वदेश फर्किएँ । साग छनोटको पहिलो चरणमा धेरैजनासँग प्रतिस्पर्धा भएको थियो । तर, अन्तिम चरणमा मेरो क्याटागोरीमा तीनजनासँग प्रतिस्पर्धा गर्नुपर्ने भयो । छनोटको फाइनलमा लेखनाथ मैनालीलाई हराएर अन्तिम चरणमा स्थान पक्का गरे । आर्मीका मैनाली दाइलाई पराजित गर्नुअघि मैले सागर राउतलाई हराएको थिएँ । अन्तिम छनोटमा ८४ केजी प्लसमा १० खेलाडी थिए । राजेश श्रेष्ठ र गंगाराम महर्जन गुरुले मलाई प्रशिक्षण गराउनुभएको थियो । नेपाली कराँते टोलीमा २१ जना थियौँ । टिम फाइट भएकाले २८ जना खेलाडी अन्तिम छनोटमा समावेश भएका थियौँ । सागका लागि ६ महिना अभ्यास भयो । 

हामीले फरक–फरक दिनमा सातदोबाटो र गोकर्ण गएर अभ्यास गर्‍यौँ । अक्सर साग गेमका लागि एक महिनाको तयारी हुने गर्छ । तर, यसपटक ६ महिनाको तयारी गर्ने अवसर पाउँदा चित्त बुझायौँ । देशअनुसारको भेष भनेझैँ व्यवस्थापन उस्तै थियो । यो वा त्यो सुविधा पाइएन भन्नुभन्दा जे पाएका थियौँ, त्यसमै सबैले चित्त बुझायौँ । 

अघिल्लो रात गुरुले दिलाएको आत्मविश्वास
कराँतेको खेल सातदोबाटोमा थियो । पहिलो दिन नेपाली कराँते खेलाडीले आठ पदक जितेका थिए । पहिलो दिनमा मन्डेदाइले स्वर्ण जित्दा म निकै खुसी थिएँ  । उहाँको सफलतामा म केही क्षण भावुक बनेँ । मन्डेदाइले स्वर्ण जित्दा जति खुसी भएको थिएँ, त्यति नै चञ्चला दनुवार दिदी रजत पदकमा सीमित हुँदा दुःखी भएँ । खेलमा कोही पहिलो वा दोस्रो हुने स्वाभाविक नै हो । यसलाई एक खेलाडीले सामान्य रूपमा लिनुपर्छ । तर, स्वर्ण दाबेदार खेलाडी त्यसमा चुक्दा अलिकति दुःख लाग्छ नै । 

कराँते इभेन्ट्सको पहिलो दिनमा कराँते हलमा दर्शक खचाखच भरिएका थिए । घरेलु खेलाडीलाई समर्थकहरूले समर्थन गरिरहँदा विपक्षी खेलाडी नभर्सझँै देखिए । पहिलो दिनको सफलतापछि कराँते खेलाडी होटेलमा फर्किएका थिए । त्यो पहिलो दिन मलाई अझै झलझली याद आउँछ । होटेलमा एक किसिमको फरक माहोल बनेको थियो । पदक जित्ने खेलाडी खुसी र हार्ने दुःखी थिए ।  विनोद शाक्य मेरो व्यक्तिगत गुरु हुनुहुन्छ । उहाँ पनि १३औँ सागको टिम फाइटमा हुनुहुन्थ्यो । हामी रुम पार्टनर थियौँ । 

कराँते इभेन्ट्सको दोस्रो दिन म समावेश इभेन्ट्सको खेल थियो । राति खासै निद्रा लागेन । घरेलु भूमिमा मेरो प्रदर्शन कस्तो हुन्छ ? कसरी खेल्नेलगायत कुरा मेरो मनमा खेलिरहेका थिए । खेलमा नर्भस होला भनी उहाँले मलाई गफमै अलमल्याउनुभयो । विनोद गुरुले मेरो आत्मबल बलियो बनाइदिनुभयो । उहाँले भोलि हुने खेलमा स्वर्ण पदक जित्न सक्ने मलाई हौसला दिनुभएको थियो । 

श्रीलंकन खेलाडीलाई नकआउट गरेँ
दोस्रो दिन मेरो खेल दिउँसो दुई बजे थियो । त्यसवेलासम्म नेपाली कराँते खेलाडीले दुई–तीनवटा स्वर्ण पदक जितिसकेका थिए । ड्रअनुसार बाई पाएर मेरो खेल सेमिफाइनलमा पुग्यो । मैले सीधै फाइनल प्रवेशका लागि श्रीलंकन खेलाडी मागोना गमरालागेसँग प्रतिस्पर्धा गर्ने भएँ । विपक्षी खेलाडी अग्ला थिए । तैपनि, मेरो हाइटसँग मिल्दोजुल्दो नै थिए । मेरो हाइट पाँच फिट आठ इन्च र श्रीलंकन खेलाडीको ६ फिट दुई इन्च थियो । श्रीलंकन खेलाडी धेरै बलिया थिए । दुवैजनाको शरीरिक बनोटअनुरूप सेमिफाइनल खेलमा चर्कोे प्रतिस्पर्धा हुने जस्तो देखिन्थ्यो । तर, श्रीलंकन खेलाडीको हाइटको फाइदा लिँदै मैले भित्र छिरेर प्रहार गर्ने योजनासहित सामान्य खेल खेलिरहेँ । प्रतिस्पर्धामा दबाबको महसुस गरिनँ । यसले मलाई एक किसिमको आत्मविश्वास दिलाइरहेको थियो । 

खेल पनि सहज बनिरहेको थियो । मैले उनलाई आठ अकको अन्तरले नकआउट गरँे । संयोग कस्तो भयो भने कराँतको खेल दुई दिनसम्म चलिरहँदा विपक्षी खेलाडीलाई नकआउट गर्ने म पहिलो खेलाडी बनेको थिएँ । मेरो खेलपछि नै अनु अधिकारीले विपक्षीलाई नकआउट गरेकी थिइन् । पहिलो खेल जितेपछि मेरो मनोबल उच्च भयो । श्रीलंकन खेलाडीलाई पाखा लगाएपछि कम्तीमा सागमा रजत पदक आउने निश्चित भयो । अब कम्तीमा सागमा खाली हात नहुने भयो । 

एउटै किकले स्वर्ण जितेँ 
स्वर्ण पदकको भिडन्त पाकिस्तानी खेलाडी  बाज मोहम्मदसँग थियो । करिअरमा हामीबीच पहिलोपटक प्रतिस्पर्धा हुँदै थियो । मेरो तुलनामा पाकिस्तानीसँग दुईपटक एसियन गेम्स खेलेको अनुभव थियो । पाकिस्तानी कराँते खेलाडीमध्ये मोहम्मद धेरै अनुभवी खेलाडी भएको उनका साथीबाट जानकारी पाएँ । पाकिस्तानले उनीबाट स्वर्ण पदकको आशा गरेको थियो । १३औँ सागमा मैले उनीविरुद्ध उत्कृष्ट खेल खेल्नुका साथै कमब्याक जित निकालेको थिएँ । प्रतिस्पर्धामा मलाई लिड गर्न गाह्रो भइरहेको थियो । 

उनले हरेक समय सम्हालिएर खेलिरहेको पाएँ । मैले पनि विपक्षीको रणनीतिअनुसार नै खेलिरहँदा स्वर्ण भिडन्त निकै रोमाञ्चक भइरहेको थियो । खेलमा म ३–४ अंकले पछि थिएँ । यो अवस्थामा मलाई खेल जित्छु जस्तो थिएन । बारम्बार मैले प्रहार गरेका हरेक सट र पावर खेर गइरहेका थिए । दर्शक र अफिसियल साइडबाट ‘हान–हान’ शब्द सुनिरहेको थिएँ । जति गरे पनि टाइमिङ सही नहुँदा मेरा हातखुट्टा नै चिसा भए । म हान्न नसक्ने अवस्थामै थिएँ । खेल सकिन ३० सेकेन्ड बाँकी थियो । फेरि त्यसमाथि पनि म ३–४ अंकले पछाडि नै थिएँ । गुरुहरूले किक हान भनिरहनुभएको थियो । त्यहीवेला पाकिस्तानी खेलाडी पछाडितिर भाग्न थाले । मैले आफ्नो खुट्टाको पोजिसन परिवर्तन गरेँ । त्यहीवेला उनी अगाडि आए । मैले केही नसोची एक्कासि किक हानेँ । यसपटक किक सही स्थानमा लाग्दा मैले अंक पाएँ । त्यो किक नलाग्दासम्म म ३–४ ले पछि थिएँ । किक लागेपछि मैले ५–४ को अग्रता लिएँ । 

मैले स्वर्ण पदक जित्नुको टर्निङ प्वाइन्ट नै त्यही किक थियो । सागको कराँतेको सबैभन्दा रोमाञ्चक खेल यही बनेछ । त्यो किकपछि मलाई समर्थन गर्नेले अझै हौस्याइरहे । ३० सेकेन्ड होल्ड गर्नुपर्ने थियो । मैले उनलाई अलमल्याउन धेरै प्रकारका शैली अपनाएँ । प्रतिस्पर्धामा फेरि दुवैले क्रस पन्च गरिरहेका थियौँ । अन्तिम १२–१३ सेकेन्ड रहँदा मैले छल्दै विपक्षीलाई पन्च गरिरहेँ । अन्ततः मैले रोमाञ्चक भिडन्तमा स्वर्ण जितेँ । 

त्यो किक र इन्जुरी 
अनुभवी पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेपछि कराँते हलमा सबैले मलाई बधाई दिन आए । तर, स्वर्ण पदक जित्ने किक प्रहार गरेको खुट्टा साह्रै दुःखेको थियो । रिङमा राम्रोसँग उभिन सक्ने अवस्थामा थिइनँ । त्यो घाउ अहिले पनि यथावत् छ । कहिलेकाही प्रशिक्षण गर्दा वा त्यतिकै पनि गोलीगाँठो दुःख्छ । अहिले पनि म १३औँ सागको फाइनल खेल सम्झने गर्छु । तर, स्वर्ण पदकको किक सम्झेर त्यसलाई भुलाउने प्रयास गर्छु । एक किसिमले यो सधैँका लागि सम्झनाजस्तै हो । यो मसल्स इन्जुरी हो । यसलाई सर्जरी गरिाख्नुपर्ने आवश्यकता छैन । वेला–वेलामा दुख्ने भएकाले सताइरहन्छ । गत वर्ष चीनमा १९औँ एसियन गेम्स खेल्न जाँदा पनि त्यही घाउले सताएको थियो । रिह्याब गएर पनि लगातार उत्कृष्ट नतिजा दिइरहेको छु । 

वास्तवमा मेरो काका सुरेन्द्रलाल श्रेष्ठकै कारण म खेलकुदमा लागेको हुँ । उहाँ आठौँ सागको स्वर्ण र नवौँ सागको रजत पदक विजेता हुनुहुन्छ । उहाँ अहिले क्यानडामा बस्नुहुन्छ । काकाले खेलेको देखेपछि म पनि यही खेलमा लागेको हुँ । उहाँबाट मैले धेरै सिक्ने अवसर पाएँ । उहाँसँग दैनिक बिहान र बेलुका दुई–दुई घण्टा प्रशिक्षण लिएको थिएँ । परिवारबाट खेल्नका लागि कहिल्यै रोकावट भएन । 

ad
ad
ad
ad