१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १४ शुक्रबार o८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मध्यभोटेकोशी जलविद्युतकाे बिजुली खेर जाने जोखिम हट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o८:५२:oo

अस्थायी रूपमा वैकल्पिक प्रसारणलाइनको व्यवस्था भएपछि तत्काललाई एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् परियोजनाको विद्युत् खेर जाने जोखिम टरेको छ । आगामी भदौ दोस्रो सातासम्म परियोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मध्यभोटेकोशी परियोजनाबाट बाह्रबिसे सबस्टेसनमा जोडिने प्रसारणलाइन नबन्दा परियोजनाको विद्युत् खेर जाने जोखिम थियो । 

तर, अहिले त्यसका लागि वैकल्पिक प्रसारणलाइनको व्यवस्था गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत ९ असारमा दुई सय २० केभी बाह्रबिसे सबस्टेसन तयार भइसकेको छ । मध्यभोटेकोशीकै बिजुलीले उक्त सबस्टेसन चार्ज गर्ने तयारी छ । त्यसका लागि मुख्य प्रसारणलाइन नबन्दासम्मलाई वैकल्पिक प्रसारणलाइनको व्यवस्था गरिएको छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी सिंगल सर्किट प्रसारणलाइनलाई डबल बनाएर बाह्रबिसे सबस्टेसनमा लगिनेछ । 

सोही प्रसारणलाइनबाट मध्यभोटेकोशीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने प्राधिकरणले बताएको छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारणलाइन सम्पन्न नभएसम्म रहनेछ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ । 

आयोजनाले आफ्नो विद्युत्गृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो दुई सय २० केभी सिंगल सर्किट प्रसारणलाइनका टावर निर्माण गरिसकेको छ । प्रसारणलाइनको करिब दुई किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको छैन । त्यो नभए वैकल्पिक लाइनबाटै विद्युत् प्रसारण गरिनेछ ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेका र वैकल्पिक व्यवस्था पनि भएकाले मध्यभोटेकोशीबाट उत्पादित विद्युत् प्रवाहका लागि समस्या नरहेको बताए । ‘सबस्टेसन तयार गर्न नसक्दा मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिने हो कि भन्ने अवस्था थियो । अब दुई सय २० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेपछि आयोजनाको विद्युत् जोड्न विभिन्न विकल्पहरू तयार भएका छन्, चुहिएको सुरुङ मर्मतका लागि पनि केही समय लाग्ने देखिएको छ, त्यसैले अब प्रसारणलाइन तथा सबस्टेसन अभावमा आयोजनाको विद्युत् खेर नजाने अवस्था बनेको छ,’ उनले बताए ।

ad
ad
ad
ad