१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
बिहीबार मेचीनगर–३ मा मृत भेटिएको हात्ती । 
२o८१ असार १४ शुक्रबार o६:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

झापामा तीन महिनाअघि हात्ती मार्ने समूह अझै फेला परेन, अर्को मृत भेटियो 

सुकेनिन्दामा खोलानजिकै भेटिएको हात्ती गोली हानेर मारिएको हुन सक्ने आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o६:o३:oo

झापामा तीन महिनाअघि हात्तीको सिकार गर्ने समूहको पहिचान हुन नसकिरहेका वेला फेरि अर्को हात्ती मृत भेटिएको छ । मेचीनगर नगरपालिका– ३ सुकेनिन्दामा खोलानजिकै बिहीबार बिहान आठ–नौ वर्षजतिको छावा मृत अवस्थामा भेटिएको हो । 

हात्ती संरक्षणमा कार्यरतहरूले हेर्दा शरीरमा गोली देखिएको बताएको मेचीनगर– ४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । तर, यकिन कारण खुलेको छैन । ‘यो हात्तीलाई तस्करले नै गोली हानेको हो । आठ–नौ वर्षको यो हात्ती एक्लै हिँड्ने होइन, हञ्जा (हुल)कै हो,’ लामो समयदेखि हात्ती संरक्षणमा लागेका वडाध्यक्ष कार्कीले भने, ‘ठूलो हात्तीलाई गोली हान्दा यसलाई लागेको हुन सक्छ ।’ 

तर, सरकारी अधिकारीले भने यसको पुष्टि गरेका छैनन् । डिभिजन वन कार्यालय झापाका कर्मचारी रामनाथ यादवका अनुसार हात्तीको शरीरमा साइकलको बेरिङ छ । तर, त्यही कारणले मृत्यु भएको हो कि होइन भन्ने निचोडका लागि पोस्टमार्टम रिपोर्ट पर्खनुपर्ने उनले बताए । 

गत वैशाखमा यसरी मारिएको थियो हात्ती
२ वैशाखमा मेचीनगर–११ स्थित कालिका सामुदायिक वनमा करिब ४० वर्ष उमेरको वयस्क भालेको सिकार भएको थियो । तस्करीकै लागि गोली हानेर हात्ती मारिएको अनुसन्धानबाट खुलिसकेको छ । मारिएको अवस्थामा फेला परेको हात्तीको दाह्रा र रौँ घटनास्थलमा भेटिएको थिएन ।

डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीले तस्कर पत्ता लगाउन अनुसन्धान जारी रहेको बताइन् । ‘अनुसन्धानका लागि हामीसँग ठूलो सञ्जाल पनि छैन,’ उनले भनिन्, ‘हात्तीको दाह्रा, रौँ लानेको अलिक ठूलो सञ्जाल भएकाले अनुसन्धानमा केही समस्या भएको छ । तर, पनि हामीले सूक्ष्म हिसाबले अनुसन्धान गरिरहेका छौँ ।’

डिभिजन वन कार्यालयले सुरुमा मृत फेला परेको हात्ती गाडेको थियो । तर, संरक्षणकर्मीले अनुसन्धानको माग गरेपछि पाँच दिनपछि खाडलबाट हात्ती निकालेर पोस्टमार्टम गरिएको थियो । यो घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गरिरहेको छ ।

दुई दशकमा झापामा २१ हात्ती मारिए, तर कोही परेको छैन पक्राउ
०६० यता झापामा २१ हात्ती मारिएका छन् । कतिपय हात्तीको शरीरमा गोली भेटिएको छ भने कतिपयलाई करेन्ट लगाएर मारिएको छ । झापामा ०८०÷८१ मा मात्रै चार हात्ती मारिए । तर, डिभिजन वन कार्यालयको अनुसन्धान फितलो हुँदा कारण खुल्ने गरेको छैन । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार हात्ती मार्न, बिक्री–वितरण गर्न निषेध छ । कसुर ठहर भएमा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । तर, यो ऐनअनुसार झापामा कारबाही भएको रेकर्ड डिभिजन वनसँग छैन । झापामा हालसम्म हात्तीको अंग तस्करी गर्ने कोही पनि पक्राउ परेको उदाहरण नै छैन । दाह्रा, खुर, रौँ, हड्डीलगायत शरीरका विभिन्न अंगको तस्करीका लागि हात्तीको हत्या हुने गरेको छ । 

‘राज्यले अनुसन्धान गर्दा घरमा राखेको गडी, सुन चोर त पत्ता लाग्छ । संसारकै ठूलो प्राणी मार्दा कसरी पत्ता लाग्दैन ? राज्यले अनुसन्धानमा खेलाँची गर्दा तस्करहरू पक्राउ पर्न सक्दैनन्,’ मेचीनगर–४ का वडाध्यक्ष कार्कीले भने, ‘यसरी नै अनुसन्धान फितलो हुने हो भने अझै हात्ती मारिइरहन्छन् । राज्य सशक्त बनोस् ।’

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले हात्ती मृत भेटिनु संवेनदशील भएको बताए । यसअघि वैशाखमा मृत अवस्थामा भेटिएको हात्तीको अनुसन्धानका लागि अनुसन्धान गर्ने सुरक्षा निकायलाई अनुसन्धान सहयोगका लागि पत्र लेखिएको उनले बताए । ‘यसअघि मृत भेटिएको हात्तीबारे अनुसन्धान गरिरहेका छौँ । हात्तीको विषय संवेदनशील हुन्छ । हात्ती मार्न प्रयोग भएको गोली, मृत भेटिएको ठाउँ हेर्दा तालिम प्राप्त सञ्जालको संलग्नता अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘हात्ती तस्करीको सञ्जाल अन्तर्राष्ट्रिय हुन्छ । हाम्रो कार्यक्षेत्र जिल्लामा मात्र भएकाले अनुसन्धान गर्ने सुरक्षा निकायसँग समन्वय गरिरहेका छौँ ।’
 

ad
ad
ad
ad