१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार ११:११:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुपर न्यादीको ७० प्रतिशत काम पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार ११:११:oo

लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको हो । 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म ७० प्रतिशत निर्माण सम्पन्न भएको उक्त आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङले बताए । उनले निर्धारित समयमा काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाको निर्माण सामग्री ढुवानीमा समस्या र बाढीपहिरोले सडक अवरुद्ध हुँदा निर्माण कार्यमा ढिलाइ हुँदा अझै ३० प्रतिशत निर्माण कार्य बाँकी रहेको बताए । 

आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) अनुसार दुई वर्षभित्र ०८१ असारमा विद्युत् उत्पादन सुरु गर्ने गरी सम्झौता भएको थियो । तर, निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि ०८२ असोजभित्रमा काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाका प्रबन्ध निर्देशक गुरुङको भनाइ छ । ट्रान्समिसन लाइन सम्पन्न नभएका कारणले पनि निर्माणमा ढिलाइ भएको प्रबन्ध निर्देशक गुरुङले बताए । उनले आयोजनाको निर्माण कार्य लम्बिँदा नियमित भार परे पनि करिब सात अर्ब लागतको लक्ष्यमै निर्माण सम्पन्न गरिने बताए । हालसम्म यस आयोजनाको विद्यृत्गृह पुग्ने सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ, साथै ड्यामसाइडसम्मको २२ किलोमिटर सडक निर्माण पनि सम्पन्न भएको आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार पेनस्टक, अन्डरग्राउन्ड, पावर हाउसको काम ८५ प्रतिशत सम्पन्न भएको छ । पावरहाउसको अन्डरग्राउण्ड टनेल खन्ने काम, मुख्य सुरुङ खन्नेलगायत काम यतिवेला तीव्र रूपमा भइरहेको छ । जीएन्डजी इन्फ्र प्राइभेट लिमिटेडले निर्माणको काम गरिरहेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वित्तीय संस्थाले पाँच अर्ब २५ करोड ऋण लगानी गरेका छन् ।

प्रवर्द्धकको इक्विटी (स्वपुँजी) एक अर्ब ७५ करोड रुपैयाँ रहनेछ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्द्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् गृहबाट ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने एक सय ३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइनमध्ये करिब ६ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ । आयोजनाका अनुसार वर्षाको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरिद–बिक्री गरिनेछ ।