१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १२ बुधबार १o:११:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लागुऔषध कारोबारमा दैनिक १८ जना पक्राउ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १o:११:oo

रोकथाममा राज्यको लगानी शून्य, सहरबाट गाउँसम्म दुर्व्यसन

लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको यस वर्षको नारा छ, ‘लागुऔषधविरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ ।’ नाराले रोकथाममा जोड दिए पनि नेपालमा भने यसतर्फ राज्यको लगानी शून्यजस्तै छ । प्रहरी कारोबारीलाई पक्राउमा मात्र सक्रिय हुँदा समाजमा दुर्व्यसनीको सञ्जाल नियन्त्रण हुन सकेको छैन । 

बुधबार लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा युवापुस्तामा बढ्दो दुर्व्यसनचिन्ताको विषय छ । प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागुऔषधसहित पक्राउ पर्दै आएका छन् । जेलमा अधिकांश कैदी–बन्दी लागुऔषध मुद्दाकै छन् । तैपनि कारोबार र दुर्व्यसन झन्झन् बढ्दै गएको छ । 

गृह मन्त्रालयले गरेको सर्वेक्षणअनुसार नेपालमा दुर्व्यसनीको संख्या ५.०६ प्रतिशतले वृद्धि हुने गरेको छ । ०७६ को सर्वेक्षणअनुसार नेपालमा दुर्व्यसनीको संख्या एक लाख ३० हजार ४२४ थियो । सोही सर्वेक्षणको वृद्धिदरअनुसार हाल दुर्व्यसनी डेढ लाख नाघेको गृह मन्त्रालयका अधिकारी बताउँछन् । सहर मात्र होइन, ग्रामीण भेगका युवापुस्तामा समेत दुर्व्यसनको सञ्जाल बढेको प्रहरीको भनाइ छ । पछिल्लो समय बढेको सहरीकरणसँगै लागुऔषध कारोबारसमेत फैलँदै गएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले बताए । प्रहरीले पहाडी जिल्लाहरूबाट पनि पछिल्लो समय लागुऔषध कारोबारी तथा दुर्व्यसनीलाई पक्राउ गरिरहेको छ । 

रोकथाममा राज्यको कमजोर उपस्थिति नै नेपालमा लागुऔषध दुर्व्यसनको प्रमुख समस्या रहेको जानकारहरू बताउँछन् । रोकथाममा दुर्व्यसनमा लाग्नैबाट रोक्नु र ओसारपसार नियन्त्रण गर्नु हो । तर, लागुऔषध दुर्व्यसनबाट रोक्न राज्यको कुनै संयन्त्र र कार्यक्रम नै छैन । गृह मन्त्रालयमा यससम्बन्धी एक शाखा भए पनि स्रोत–साधन र संयन्त्र नहुँदा औपचारिकता मात्रै छ । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय तथा समुदायमा गएर वेलावेलामा सचेतना कार्यक्रम गर्नेबाहेक रोकथाममा अन्य गतिविधि छैनन् । प्रहरीलाई पनि यससम्बन्धी छुट्ट बजेट नहुँदा कार्यक्रम प्रभावकारी छैन । 

प्रहरीका सहप्रवक्ता एसएसपी विश्व अधिकारी भने लागुऔषध नियन्त्रणका लागि प्रहरीले विशेष कार्यक्रम नै बनाएर कार्यान्वयन गरिरहेको बताउँछन् । ‘लागुऔषध नियन्त्रणका लागि गृह मन्त्रालयको समेत विशेष सक्रियता र चासो छ,’ उनले भने, ‘प्रहरीले पनि सक्रियता बढाएको छ, प्रहरी सक्रियताकै कारण कारोबारी पक्राउको संख्या बढेको हो ।’ यससम्बन्धी अपराध अनुसन्धानका लागि प्रहरीमा विशिष्टीकृत इकाइ विस्तार गर्नुका साथै आसरा सुधार केन्द्रसम्म सञ्चालन गरिएको उनको भनाइ छ ।

खुला सीमाका कारण लागुऔषध ओसारपसार रोक्न चुनौतीपूर्ण हुँदै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी आचार्यका अनुसार नेपालमा धेरै दुर्व्यसनीले औषधीजन्य लागुऔषध प्रयोग गर्दछन् । यस्ता लागुऔषध भारतबाट नेपालमा तस्करी हुने गरेको छ । प्रहरीले दैनिकजसो सीमा क्षेत्रमा यस्तो लागुऔषध बरामद गरे पनि खुला सीमाका कारण सहजै भित्रने र जिल्ला–जिल्लासम्म पुग्ने गरेको छ । नेपालले भारतसँग औषधीजन्य लागुऔषधको बिक्रीमा कडाइ गर्न भने पनि त्यसमा अपेक्षित सहयोग नभएको प्रहरी अधिकारी बताउँछन् । अर्काेतर्फ दुर्व्यसनमा लागेकाहरूको उपचार प्रणाली पनि महँगो छ । पुनर्स्थापन तथा उपचार केन्द्रहरू निजी क्षेत्रबाट सञ्चालित छन् । ती महँगा भएकाले धेरै परिवारले थेग्न नसक्ने भएकाले उपचारमा जान सक्दैनन् ।

गृह मन्त्रालयको सर्वेक्षणअनुसार लागुऔषध सुरु गर्नुको कारणमध्ये ८९.४ प्रतिशतले साथीसंगतको दबाब रहेको छ । यसले गलत संगतकै कारण धेरै दुर्व्यसनको दलदलमा फस्ने गरेका छन् । जसकारण दुर्व्यसनरोक्न अभिभावक नै सबैभन्दा पहिला चनाखो हुनुपर्ने एसएसपी आचार्य बताउँछन् । प्रहरीको अनुसन्धानमा अभिभावकको निगरानी नहुँदा धेरै युवाहरू दुर्व्यसनमा फस्ने गरेका छन् । विद्यालय तहमा यससम्बन्धी शिक्षालाई समेत अनिवार्य गर्न माग हुँदै आएको छ । 

औषधिजन्य र हेरोइन नेपालतर्फ, कोकिन र चरेस भारतर्फ 
खुला सीमाका कारण भारतबाट नेपालमा लागुऔषध आउने मात्र होइन, नेपालबाट समेत जाने गरेको छ । नेपालमा उत्पादन हुने गाँजा र चरेस मात्र होइन, दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिनसमेत नेपाल हुँदै भारत जाने गरेको छ । गत साता मात्र प्रहरीले कोकिन लिएर आएका तीन विदेशीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सो कोकिन भारत लैजान लागिएको खुलेको छ । कोकिन लिन आएकी एक भारतीयलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । नेपाल लामो समयदेखि लागुऔषध तस्करीको ट्रान्जिट बनेको छ । विगतमा खैरो हेरोइन, सेतो हेरोइन ठूलो मात्रामा नेपालमा बरामद हुन्थ्यो । पछिल्लो समय कोकिन तस्करीका लागि अन्तर्राष्ट्रिय गिरोहले नेपाली दुरुपयोग गरिरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । 

तीन वर्षमा १८ हजार कारोबारी पक्राउ 
पछिल्लो तीन वर्षमा नेपालमा करिब १८ हजार जना लागुऔषधसहित पक्राउ परेका छन् । जसअनुसार औसतमा दैनिक १८ जना पक्राउ परिरहेका छन् । आर्थिक वर्ष ०७८/७९ मा पाँच हजार ७८९ जना, ०७९/८० मा ६ हजार १८६ तथा चालू आर्थिक वर्षको जेठसम्म ६ हजार १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेशीको संख्या पनि उल्लेख छ । चालू आर्थिक वर्षमा दुई सय ६५ जना नेपालमा लागुऔषधसहित पक्राउ परेका छन् । ०७९/८० मा दुई सय २८ तथा ०७८/७८ मा दुई सय २१ जना पक्राउ परेका छन् । लागुऔषध दुर्व्यसनकै कारण चोरी, लुटपाटदेखि हत्यासम्मका अन्य अपराध पनि बढेको प्रहरी अधिकारीहरू बताउँछन् ।