१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
टेकराज थामी काठमाडाैं
२o८१ असार १२ बुधबार o९:४६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिँदै बालिकामाथि निरन्तर यौन शोषण

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o९:४६:oo

गोरखाको सिरानचोक गाउँपालिका– ८ का ४१ वर्षीय क्याल्भिन जेम्स भनिने रेशम गुरुङ अश्लील भिडियो बनाएर बालिकालाई यौन र श्रम शोषण गरेको अभियोगमा पक्राउ परेका छन् । सुरुमा बालिकाको अश्लील भिडियो बनाउने र पछि त्यसैलाई प्रयोग गरेर बालिकालाई निरन्तर यौन धन्दामा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आफूले सञ्चालन गरेको स्पामा बालिकालाई जबर्जस्ती करणीसमेत गरेका थिए । मासिक १० हजार रुपैयाँ दिने गरी स्पामा राखेका गुरुङले यौन धन्दाबाट प्राप्त आम्दानी आफैँ असुल्थे । निरन्तर यौन र श्रम शोषणबाट आजित भएकी बालिकाले जब काम गर्न अस्वीकार गरिन्, त्यसपछि गुरुङले पहिले बनाएर राखेको अश्लील भिडियो सार्वजनिक गरिदिने धम्की दिए । र, पुनः यौन व्यवसायमा लगाएर शोषण गरिरहेको प्रहरीको भनाइ छ ।

ब्युरोका प्रवक्ता एसपी गौतम केसीले यौन क्रियाकलाप गरेको भिडियो सार्वजनिक गरिदिने भन्दै गुरुङले बालिकालाई पटक–पटक बलात्कार र शोषण गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए । ‘बालिकासँग सुरुमा ऊ आफैँले जबर्जस्ती करणी गरेर त्यससम्बन्धी भिडियो खिच्यो । आर्थिक र यौन दुवै शोषण ग¥यो । जब बालिकाले काम गर्न अस्वीकार गरिन् । खिचिएको भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दियो । ‘ट्र्याप’मा परेकी बालिकालाई त्यसपछि पनि निरन्तर यौन र आर्थिक शोषण गरेको रहेछ,’ उनले भने ।

प्रहरीका अनुसार गुरुङले बालिकालाई टिकटकमा भेटेका थिए । १७ वर्षीया बालिकाले टिकटकमा फोटो पोस्ट गरेकी थिइन् । गुरुङले बालिकाको प्रोफाइल सर्च गरे । यही क्रममा उनले बालिकासँग संवाद अघि बढाए । दुईबीच केही दिन संवाद चल्यो । यही क्रममा गुरुङले बालिकाको पारिवारिक पृष्ठभूमि बुझे । कमजोर आर्थिक अवस्था रहेको बुझेपछि गुरुङले बालिकालाई आकर्षक तलबमा जागिरको अफर गरे । बालिका काम गर्न राजी भइन् । तर, काठमाडौंसम्म आउने भाडा थिएन । भाडा पनि गुरुङले नै पठाइदिए । बालिका भोलिपल्टै बलाजुस्थित नयाँ बसपार्क आइपुगिन् । गुरुङले उनलाई रिसिभ गरे । बालिकालाई लिएर गोंगबुस्थित डेरामा लगे । गुरुङकी श्रीमती सुत्केरी थिइन् । गुरुङले बालिकालाई अर्को कोठामा लगेर त्यही रात बलात्कार गरे । बालिका केही दिन गुरुङकै कोठामा बसिन् । गुरुङले पटक–पटक बलात्कार गरे । 

गुरुङले टोखा नगरपालिका– ११ मा सनफ्वार नामक स्पा चलाउँथे । मासिक १० हजार रुपैयाँ दिने प्रलोभनमा बालिकालाई सोही स्पामा लगे । स्पामा उनीजस्तै अन्य ६ युवती थिए । जसमध्ये एक उनीजस्तै बालिका थिइन् । उनीहरूलाई पनि गुरुङले स्पामा आउने ग्राहकसँग यौन सम्पर्क गर्न लगाउने गरेको प्रहरीको भनाइ छ । तलब कम र ग्राहकबाट आउने टिप्स पनि गुरुङले नै असुल्ने भएपछि बालिका त्यहाँबाट बाहिर जान खोजिन् । तर, उनको प्रस्ताव गुरुङले अस्वीकार गरे । 

यही क्रममा पीडित बालिका ठमेलस्थित ललितपुरको बागमती गाउँपालिका– ९ की ३३ बर्षीय मखमली माया स्याङ्तानले सञ्चालन गरेको एवान स्पामा पुगिन् । स्पामा उनले मसाज तालिम लिइन् । तर, यौनधन्दा त्यहाँ पनि चल्थ्यो । उनलाई सोही धन्दामा लगाइयो । बालिका मखमलीको स्पामा रहेको सूचना गुरुङले पाए । गुरुङले बालिकालाई फिर्ता लैजान खोजे । तर, बालिका जान मानिनन् । यही क्रममा गुरुङले बालिकाको अश्लील भिडियो देखाए । र, धम्की दिँदै भने, ‘मसँग गइनौ भने तिम्रो भिडियो पोर्न साइटमा हालिदिन्छु । आफन्तलाई पनि पठाइदिन्छु ।’

गुरुङले ब्ल्याकमेल गरेपछि डराएकी बालिका पहिलेकै स्पामा फर्किन् । त्यसपछि पनि उनीमाथि जबर्जस्ती करणी निरन्तर भयो । आजित बनेकी बालिकाले घटना विवरणसहित प्रहरीमा जाहेरी दिइन् । उनकै जाहेरीपछि प्रहरीले यौनधन्दामा लगाउने गुरुङ र स्याङ्तानलाई पक्राउ गरेको हो । प्रहरीले स्पामा रहेकी अन्य बालिकालाई पनि उद्धार गरेको छ । ‘यिनीहरूले बालिकालाई जबर्जस्ती यौनधन्दामा लगाएको खुलेको छ । उनीहरूको स्पाबाट दुई बालिकालाई उद्धार गरिएको छ । सामाजिक सञ्जालमार्फत युवती खोज्ने र सम्पर्कमा आएकालाई ट्र्यापमा परेर यौनधन्दामा लगाउने रहेछन् । यिनीहरूले युवतीमाथि यौन र श्रम शोषण गरेको देखियो,’ ब्युरोका एसपी मिश्रले भने ।