१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार o९:o९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप : अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o९:o९:oo

अफगानिस्तान पहिलोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्ट मैदानमा मंगलबार बिहान बंगलादेशलाई डिएलएस प्रणालीमा आठ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक यात्रा तय गरेको हो । विश्वकपअन्तर्गत सुपर एटको समूह ‘१’ मा अफगानिस्तानको जितले सन् २०२१ को विजेता अस्ट्रेलिया अप्रत्याशित रूपमा बाहिरिएको छ ।  

यद्यपि, यस समूहमा अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेशका सम्भावना जीवितै थिए । जितले अफगानिस्तान समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्ने थियो । बंगलादेश उत्कृष्ट रनरेटमा अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने थियो । बंगलादेशको सामान्य जितमा अस्ट्रेलिया अन्तिम चारमा पुग्ने समीकरण बनेको थियो । 

वर्षाले बारम्बार प्रभावित बनाएको खेलमा अफगानिस्तानले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १५ रनको सामान्य योगफल खडा गर्‍यो । बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाउँदा एक सय ५ रन मात्र जोड्यो । अब अफगानिस्तानले समूह २ को विजेता दक्षिण अफ्रिकाविरुद्ध बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ । आगामी शनिबार साबिक विजेता इंग्ल्यान्ड र भारतबीच खेल हुनेछ । 

बंगलादेशले लो स्कोरिङ पछ्याइरहँदा अस्ट्रेलियाको सम्भावना पनि उत्तिकै रह्यो । तर, कप्तान रसिद खान र नभिन उल हकले समान चार विकेट लिँदा अफगानिस्तानले बंगलादेश र अस्ट्रेलियाको अन्तिम चारमा पुग्ने सबै आशा समाप्त पार्‍यो । बंगलादेशका लेग स्पिनर रिसद होसेनले २६ रन खर्चेर तीन विकेट लिँदा अफगानिस्तानले पहिलो १० ओभरमा औसत प्रदर्शन गरेको थियो । अफगानिस्तानका ओपनर रहमानुल्लाह गुर्वाज र इब्राहिम जार्दानले प्रतिओभर पाँच रनरेटमा ब्याटिङ गरेका थिए । 

बंगलादेशलाई १२.१ ओभरको चुनौती
दोस्रो इनिङ्समा वर्षाले प्रभावित पार्दा बंगलादेशले १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको थियो । पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुग्न बंगलादेशले १२.१ ओभरमा खेल जित्नुपर्ने थियो । यो ओभरमा बंगलादेशले बाजी मार्दा राम्रो रनरेटमा अन्तिम चारमा पुग्ने थियो । ओपनर लिटन दासले अन्तिमसम्म ५४ रनको नटआउट रहँदा जितको आशा दिलाएका थिए । नभिनले भेट्रान खेलाडी सकिब अल हसन तथा कप्तान नजमुल होसनको विकेट लिँदा बंगलादेशलाई कठिन अवस्थामा राखे । 

रसिदद्वारा नेपालको प्रशंसा
नवौँ संस्करणको टी–२० विश्वकपमा ऐतिहासिक यात्रा तय गरेपछि अफगानिस्तानका कप्तान रसिदले नेपाली क्रिकेट टोलीको खुलेर प्रशंसा गरेका छन् । विश्वकपको सेमिफाइनलमा प्रवेश गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको प्रशंसा गरेका हुन् । ‘हामीलाई विश्वकपमा नेपालको प्रदर्शन हेर्दा आनन्द महसुस भएको थियो, उनीहरूले सबै प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे,’ उनले भने, ‘टी–२० क्रिकेटको राम्रो पक्ष नै यही हो, सबै टोलीलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास हुनुपर्छ ।’ रसिदले नेपाली खेलाडीसमक्ष बलिया टोलीलाई हराउन सक्ने क्षमता भएको बताए । ‘नेपाली खेलाडीसँग जोश र आत्मविश्वास थियो, उनीहरूले टेस्ट राष्ट्रलाई कडा चुनौती दिएका थिए, हामी परिस्थितिलाई सामान्य राख्दै सही समयमा सही कार्य गर्ने प्रयास गर्नेछौँ,’ उनले भने, ‘मलाई लाग्छ उनीहरूले पनि त्यस्तै गरे । उनीहरूले टिमको योजनालाई कार्यान्वयन गर्ने प्रयास गरे ।’

यो सपनाजस्तै हो : रसिद खान कप्तान, अफगानिस्तान
यतिवेला अफगानिस्तान विश्वकपको सेमिफाइनलमा पुगेको सपनाजस्तै भइरहेको छ । यो अविश्वसनीय क्षण हो । हाम्रो घरमा सबैजना धेरै खुसी छन् । विश्वकपको सेमिफाइनलमा पुग्नु हाम्रा लागि सपनाजस्तै हो । हामीले देशका जनताका लागि पनि अघि बढाउन आवश्यक थियो । यो हाम्रा लागि ठूलो उपलब्धि हो । 

वार्नरले लिए सन्न्यास 

टी–२० विश्वकपबाट बाहिरिएपछि अस्ट्रेलियन ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । विश्वकपको अन्तिम खेलमा भारतसँग २४ रनले पराजित भएपछि अस्ट्रेलियन खेलाडी वार्नरले अन्तर्राष्ट्रिय क्रिकेट करियर यात्रा समाप्त भएको घोषणा गरेका हुन् । उनले अमेरिका र वेस्ट इन्डिजमा आयोजना भइरहेको विश्वकप नै अस्ट्रेलियन टोलीबाट आफ्नो अन्तिम प्रतियोगिता हुने घोषणा गरेका थिए । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा उनले भारतविरुद्ध ६ बलमा ६ रन जोडे । 

सन् २००९ मा उनले टोलीबाट डेब्यु गरेका थिए । अस्ट्रेलियाका लागि वार्नर टी–२० आईमा धेरै रन बनाउने खेलाडी हुन् । उनले १ सय १० खेलमा तीन हजार ३७७ रन बनाएका छन् । १५ वर्ष अन्तर्राष्ट्रिय खेल यात्राको क्रममा उनले वार्नरले गत वर्षको नोभेम्बरमा अन्तिम एकदिवसीय खेल खेलेका थिए । १ सय ६१ एकदिवसीय खेलमा उनले ६ हजार ९ सय ३२ रन बनाए । १ सय १२ टेस्ट खेलमा उनले आठ हजार ७ सय ८६ रन बनाएका छन् । खेल करिअरमा उनी एकपटक आइसिसीको प्रतिबन्धमा परेका थिए । सन् २०१८ मा ‘बल टेम्परिङ’को अभियोगमा वार्नर आइसिसीबाट तत्कालीन कप्तान स्टिभ स्मिथसँगै एक वर्षको प्रतिबन्धमा समेत परेका थिए ।

खेलमा बनेका रेकर्ड
- किंग्सटनमा अफगानिस्तानले पहिलोपटक बंगलादेशलाई विश्वकपमा हरायो । यसअघि बंगलादेश र अफगानिस्तानले चारपटक विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । एकदिवसीय विश्वकपमा तीन र टी–२० विश्वकपमा एकपटक यी दुई टोलीबीच आमनेसामने भएको थियो जसमा बंगलादेश विजयी भयो । 

- अफगानिस्तान चालू विश्वकपको सेमिफाइनलमा पुग्नुअघि आइसिसीको पूर्णकालीन सदस्यबाहेक कुनै पनि टोली मुख्य प्रतियोगिताको सेमिफाइनलमा पुगेको पहिलोपटक हो । यसअघि सन् २००३ को एकदिवसीय विश्वकपमा केन्या र सन् २०१७ को च्याम्पियन्स ट्रफीमा बंगलादेश सेमिफाइनलसम्म पुगेका थिए ।

- अन्तर्राष्ट्रिय टी–२० मा अफगानिस्तानका कप्तान रासिद खानले नौपटकमा चार वा सोभन्दा बढी विकेट लिए । उनले बंगलदेशका साकिब अल हसनको आठपटकको रेकर्ड तोडेका छन् । बंगलादेशविरुद्ध उनले विश्वकपमा तेस्रोपटक चारभन्दा बढी विकेट लिएको प्रदर्शन गरे । 

- अन्तर्राष्ट्रिय टी–२० खेलमा तीनपटक मात्र ओपनर ब्याट्सम्यान अन्तिमसम्म नटआउट रहे । बंगलादेशका अफगानिस्तानविरुद्ध लिटन दासले यो उपलब्धि हासिल गरे । क्रिस गेलले सन् २००९ को सेमिफाइनलमा श्रीलंकाविरुद्ध नटआउट रहेका थिए । सन् २०२३ मा घानाका रिचमन्ड बालेरीले पनि बोत्सवानाविरुद्धको अन्तिमसम्म ब्याटिङ गरेका थिए । 

- अफगानी बलर रसिदले अन्तर्राष्ट्रिय टी–२० खेलमा एक सय ५२ विकेट लिएका छन् । टी–२० फम्र्याटमा एक सय ५० विकेट लिने उनी दोस्रो बलर हुन् । न्युजिल्यान्डका टिम साउथीले १ सय ६४ विकेट लिएका छन् ।