१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १२ बुधबार o५:५८:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : खुसी रहने सूत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o५:५८:oo

खुसी रहने उपायबारे हामीलाई बाल्यावस्थादेखि नै थाहा हुन्छ । केवल पछि जीवनको लिगलिगे दौडमा हामी तिनलाई बिर्सिन्छौँ । निम्न बुँदामा ध्यान दिनुभयो भने तपाईंले जीवनमा खुसी नै खुसी पाउन सक्नुहुन्छ :

१. बढी हाँस्नुहोस्, कम गुनासो गर्नुहोस् : हरेक समय गुनासो नै गुनासो गर्ने मानिसलाई कसले मन पराउँछ ? बालबालिकाबाट केही सिक्नुहोस् । उनीहरू दिनभरि हाँसिरहन्छन् र निकै कम मात्र गुनासो गर्छन् । 

२. नयाँ–नयाँ मानिस र आफ्ना पुराना मित्रसित भेटघाट गरिरहनुहोस् : फोन हातमा लिएर हेर्नुहोस् त, तपाईंले आफ्ना कति पुराना मित्र र आफन्तसित कति लामो समयदेखि कुराकानी गर्नुभएको छैन ? उनीहरूलाई फोन गरेर ‘सरप्राइज’ दिनुहोस् । तपाईंलाई निकै खुसी महसुस हुनेछ । छिमेकमा कोही नयाँ मानिस सरेर आएको छ भने ऊसित आफैँ अघि सरेर परिचय गर्नुहोस् । 

३. परिवारलाई केही बढी समय दिनुहोस् : पुराना दिनमा तपाईं स्कुलबाट घर फर्किनासाथ पूरै दिनभरको घटना विवरण सुनाउन थाल्नुहुन्थ्यो होइन ? त्यसैगरी, बेलुकको चिया या डिनरको समयमा परिवारका सदस्यसित कुराकानी गर्नुहोस् र उनीहरूको दिन कस्तो बित्यो, चासो दिनुहोस् । 

४. आशावादी बन्नुहोस् : आमाले गाली गरेको अवस्थामा केटाकेटीले बेलुका घर फर्किएपछि बाबासित गुनासो गर्छन्, होइन ? जुन कुरा खराब हुनु छ, त्यो खराब भइछाड्छ भन्ने कहिल्यै नसोच्नुहोला । सबथोक समाप्त भइसकेपछि पनि केही आशाका किरण अझै बाँकी रहन्छ भन्ने नबिर्सनुहोस् । संसार सुन्दर छ, यही नै जीवनको सुन्दरता हो भन्ने सोच्नुहोस् । 

५. छुट्टी लिनुहोस् र घुम्न जानुहोस् : हरेक सहरको नजिकै यस्ता अनेक सुन्दर स्थान हुन सक्छन्, जसकाबारे तपाईं अनभिज्ञ हुन सक्नुहुन्छ । कहिलेकाहीँ बालबालिकासित छुट्टीको मौकामा पिकनिक या कुनै घुमफिरको योजना बनाउनुहोस् । 

६. नयाँ लक्ष्य बनाउनुहोस्, नयाँ–नयाँ विषय सिक्नुहोस् : केटाकेटीले जस्तै हरेक दिन एउटा नयाँ लक्ष्य बनाउनुहोस् । लेखक बन्न चाहनुहुन्छ भने एक नोटबुक राखेर त्यसमा आफ्ना विचार टिपोट गर्न थाल्नुहोस् । फोटोग्राफीको सोख छ र राम्रो क्यामेरा किन्नुभएको छ भने त्यसबाट दैनिक कुनै न कुनै नयाँ फोटो खिच्नुहोस् । यसलाई ३६५ प्रोजेक्ट भन्न सकिन्छ । आफूले सिक्न खोजेको र गर्न खोजेको कामको व्यक्तिगत प्रोजेक्ट बनाउनुहोस् र आफ्नो प्रगति सेयर गरिरहनुहोस् ।