१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Saturday, 28 September, 2024
२o८१ असार ११ मंगलबार ११:५३:oo
Read Time : > 2 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बागलुङ नगरको बजेट एक अर्ब ६१ करोड ५८ लाख

७६ प्रतिशत बजेट पुर्वाधार र सामाजिक विकासमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार ११:५३:oo

आर्थिक वर्ष ०८१/८२ का लागि जिल्लाको सबैभन्दा ठूलो नगरपालिका बागलुङ नगरपालिकाको कुल एक अर्ब ६१ करोड ५८ लाख ५४ हजार ३५७ रुपैयाँकाे बजेट विनियोजन गरेको छ । नगरपालिकाको १५औँ नगरसभामा नगर उपप्रमुख राजु खड्काले उक्त बजेट नगरसभासमक्ष प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले चालू आर्थिक वर्षमा भन्दा २८ करोड रुपैयाँ बढाएर यस वर्षको बजेट ल्याएको हो । चालू आ.व. एक अर्ब ३३ करोड रुपैयाँ रहेकोमा आगामी वर्ष एक अर्ब ६१ करोड ५८ लाख रुपैयाँको पुर्‍याइएको नगर उपप्रमुख खड्काले जानकारी दिए । आइतबार नगरप्रमुख वसन्तकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफलपश्चात् सोमबार उपप्रमुख खड्काले उक्त बजेट सार्वजनिक गरेका हुन् । 

बजेटको ७६ प्रतिशत बजेट पूर्वाधार र सामाजिक विकासमा विनियोजन गरिएको छ । नगरपालिकामा नेपाल सरकारको वित्तीय समानीकरणतर्फ १५ करोड ७८ लाख रुपैयाँ, ससर्त अनुदानतर्फ ९९ करोड ८७ लाख ३८ हजार रुपैयाँ र समपूरक अनुदानतर्फ चार करोड रुपैयाँ आयको अनुमान गरेको छ । त्यसैगरी, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ दुई करोड २६ लाख रुपैयाँ, समपूरक र विशेष अनुदान एक करोड रुपैयाँ संघ प्रदेश र स्थानीय तहको राजस्व १६ करोड ४९ लाख रुपैयाँ, आन्तरिक राजस्व आयतर्फ सात करोड ४९ लाख ८२ हजार र बैंक मौज्दात र विविध आय १४ करोड ५८ लाखसमेत गरी कुल एक अर्ब ६१ करोड ५८ लाख ५४ हजार तीन सय ५७ रुपैयाँ आयको अनुमान गरी उक्त बजेट सार्वजनिक गरिएको हो ।   नगरपालिकाले आन्तरिक आय बढाउने लक्ष्यका साथ आगामी वर्षको बजेट ल्याएको उपप्रमुख खड्काले जानकारी दिए । 

नगरपालिकाले आर्थिक विकासतर्फको नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, आत्मनिर्भर बागलुङ, कृषि, पशुपन्छीलगायतका कार्यक्रममा पाँच करोड ५१ लाख एक हजार रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ वडा तथा नगरस्तरीय योजना चालू आवका क्रमागत योजनाहरू, समपूरक कोष, मुक्तिनाथबाबा परिक्रमा सडक, गलुवा–भकुण्डे सडक, ब्लुहिल, आकस्मिक योजनालगायतका कार्यक्रमका लागि ६२ करोड दुई लाख ७० हजार चार सय ३० रुपैयाँ अर्थात् कुल विनियोजित रकमको ३८.३९ प्रतिशत रकम विनियोजन गरेको छ ।

सामाजिक विकासतर्फ नगर खेलकुद कार्यक्रम, विद्यालय शिक्षा, अनुदान तथा कार्यक्रम नगर अस्पताल सञ्चालन, दिवा खाजा र स्वास्थ्य सेवालगायतका कार्यक्रममा ६१ करोड २४ लाख  १६ हजार ६ सय ८७ रुपैयाँ  विनियोजना गरेको नगर उपप्रमुख खड्काले जानकारी दिए । नगरपालिकाले कार्यालय सञ्चालनतर्फ २० करोड ८८  लाख ९१ हजार नौ सय २६ रुपैयाँ विनियोजन गरेको छ भने सुशासनतर्फ ११ करोड ९१ लाख ७४ हजार ३१४  रुपैयाँ बजेट विनियोजन गरेको छ । 

नयाँ जनप्रतिनिधि आएसँगै पहिलो निर्णय बालमैत्री नगर घोषणा कार्यक्रमका लागि  आवश्यक बजेट विनियोजन गरेको छ ।  नगरपालिकाले आत्मनिर्भर बागलुङ, गोरु संरक्षण, हनुमान नाच संरक्षण, कुकुर सेल्टर हाउस, नगरकी छोरी कार्यक्रम, बागलुङ बजार साैन्दर्यकरण, नगर अस्पतालको नयाँ भवन सञ्चालन, विद्यालय नर्स कार्यक्रमलाई थप गर्ने, सबै स्वास्थ्य संस्था बालमैत्री, किशोर–किशोरीमैत्री र पोषणमैत्री घोषणा, टाढाका विद्यार्थीलाई आवासको व्यवस्थालगायतका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

नगरको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको कृषि तथा पशुपालनलाई आधुनिकीकरण गर्ने, बाँझो जग्गामा फलफूल खेती गर्ने, बजार क्षेत्रमा कौशी खेती प्रवर्द्धन गर्नेलगायतका कार्यक्रममा आवश्यक बजेट व्यवस्था गरेको नगर उपप्रमुख खड्काले जानकारी दिए ।

यस्तै, नगरपालिकाले पाडापाडी संरक्षणका लागि ‘आज होइन भोलिलाई, पालौँ पाडा बाच्छीलाई’ भन्ने नाराका  साथा बाच्छी र पाडीको निःशुल्क बिमा, औषधिउपचार र सुत्केरी पशुलाई भिटामिनलगायतका औषधि उपलब्ध गराउने र बाच्छी र पाडी पाल्ने कृषकलाई सम्मान गर्ने कार्यक्रमलाई बजेट विनियोजन गरेको छ ।

रायडाँडा विशेष कार्यक्रम, सामुदायिक विकास साझेदारी कार्यक्रम, उपप्रमुख युवा तथा स्वास्थ्य जागरण कार्यक्रम, बसपार्क सञ्चालन, कोसेली घर निर्माण, नगरप्रमुखसँग ज्येष्ठ नागरिक सेवा कार्यक्रम, भगवत सर्वजित कोष, क्लिन बागलुङ कार्यक्रम, जिरो वेस्ट प्रविधि सञ्चालन र गण्डकी प्रदेशभित्र रहेका न्यायिक समितिका गतिविधिबारे अनुभव आदान–प्रदान गर्न प्रदेशस्तरीय न्यायिक सम्मेलनको आयोजना गर्न आवश्यक बजेट व्यवस्था गरेको छ ।

 नगरपालिकाले सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, समावेशीकरण, आत्मनिर्भर हुँदै उत्पादकत्व वृद्धि र व्यवसायीकरण, उपलब्ध मानव संसाधन तथा आन्तरिक स्राेतको परिचालन, दिगो विकासका लक्ष्यहरूको प्राप्ति र वातावरणीय सन्तुलनलगायतका विषयलाई मुख्य विशेषता मानी नीति तथा कार्यक्रम तथा बजेटमा व्यवस्थापन गरेको छ ।