१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ११ मंगलबार o९:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टीको भावी रणनीति तयार पार्न नेपाल–खनालबीच छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o९:१३:oo

एकीकृत समाजवादीमा भावी नेतृत्वको रस्साकस्सी चलिरहेका वेला शीर्ष दुई नेताबीच गोप्य छलफल भएको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच आइतबार राति सिंहदरबारअगाडिको बसेरा होटेलमा करिब एक घन्टा छलफल भएको हो । दुवै नेताले भावी अध्यक्षका लागि दाबी गरिरहेको वेला उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमालसहित छलफल गरेका छन् ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी १६–२० असारमा राजधानीको प्रज्ञा भवनमा हुँदै छ । नेपाल अध्यक्षमा दोहोरिन चाहेका छन् भने खनालले वैचारिक–राजनीतिक रूपान्तरणका लागि नेतृत्व लिन चाहेको बताएका छन् । महासचिव घनश्याम भुसालले पुस्तान्तरणको विषय अगाडि सारेका छन् । पार्टी विभाजनपछिको अवस्थाबारे दुई नेताले समीक्षा गरेको उपाध्यक्ष पाण्डेले बताए । उनले भने, ‘दुई नेताबीच गहन समीक्षा भएको थिएन । पार्टीको अहिलेसम्मको स्थिति र भावी रणनीतिबारे छलफल भयो ।’ 

नेताहरूले सर्वसम्मत नेतृत्व चयन हुने दाबी गर्दै आएका छन् । तर, सहमति भने जुट्न सकेको छैन । पाण्डेले नेतृत्व सहमतिमा चयन हुने विश्वास व्यक्त गरे । ‘अहिले हामी विशेष परिस्थितिमा छौँ । सहमतिमै नेतृत्व चयन गर्नुपर्छ भन्ने कार्यकर्ताको माग छ । कार्यकर्ताको चाहनाभन्दा बाहिर नेतृत्व जाने कुरा भएन । सहमतिमै नेतृत्व टुंगिन्छ भन्ने विश्वास छ,’ उनले भने ।

अर्का उपाध्यक्ष डा. बेदुराम भुसाल पनि सहमतिमै नेतृत्व चयनको प्रयास जारी रहेको बताउँछन् । ‘दुई शीर्ष नेताबीच सौहार्दपूर्ण कुराकानी भयो । पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषय नै मुख्य कुरा हो,’ उनले भने, ‘समझदारी निर्माण गर्न फेरि पनि छलफल गर्ने कुरा छ ।’ पुस्तान्तरणको माग गैरमाक्र्सवादी भएको भुसाल र पाण्डे दुवैको दाबी छ । 

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा डा. बेदुराम भुसाल र राजेन्द्र पाण्डेले दाबी गरेका छन् । यद्यपि, विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था भइसकेको छैन । महाधिवेशनमा विधान संशोधन हुँदै छ । संशोधित विधानमा वरिष्ठको व्यवस्था भए सोही पदमा उम्मेदवारी दिने तयारी भुसाल र पाण्डेको छ । ‘विधानमा वरिष्ठको व्यवस्था छैन । सबैभन्दा सिनियर उपाध्यक्ष भएको कारण वरिष्ठको व्यवस्था भए मेरो स्वतः उम्मेदवारी हुन्छ,’ भुसालले भने । पाण्डेले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताए ।