मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ११ मंगलबार o७:४५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्राइम सहकारी ठगीमा प्रदेशसचिवसहित ६ कर्मचारीको साँठगाँठ 

अनुगमन रोक्न तथा कार्यक्षेत्र विस्तार गर्दा घुस लिएको पुष्टि, थप अनुसन्धानका लागि अख्तियारलाई पत्राचार 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o७:४५:oo

सुपरिवेक्षणको जिम्मेवारी बोकेका कर्मचारीकै सहयोगमा सञ्चालकहरूले पोखराको प्राइम सहकारीको रकम ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । अनियमितता गरेको आरोपमा प्रहरीले प्रदेशसचिवसहित ६ जनालाई प्रतिवादी बनाएको छ । 

जिल्ला प्रहरी कार्यालय, कास्कीले ६५ जनाविरुद्ध मुद्दा दायर गरेकोमा त्यसमध्ये ६ जना कर्मचारी हुन् । उनीहरूले सहकारी सञ्चालकबाट आर्थिक लाभ लिएर सहकारी ठगीमा सघाएको पुष्टि भएपछि मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेलले नै घुस लिने कर्मचारीको विवरण प्रहरीलाई जानकारी गराएका हुन् । 

प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशका सचिव बद्रीनाथ अधिकारीसहितलाई प्रहरीले गत साता जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा प्राचार्यका रूपमा कार्यरत रहँदा उनले प्राइम सहकारीबाट आर्थिक लाभ लिएको पुष्टि भएपछि प्रहरीले मुद्दा चलाएको हो । 

सहकारीमा अनुगमनमा नजाने वातावरण बनाइदिने तथा बहुउद्देश्यीय सहकारी बनाउने भन्दै नगद घुस तथा अन्य सुविधा लिएका थिए । गाडी मर्मतका लागि भनेर एकपटक एक लाख ५० हजार तथा भ्रमणको टिकट तथा होटेल खर्चबापत ३१ हजार रुपैयाँ लिएका थिए । पछि छानबिन भएपछि उनले आफ्नो नाममा भएको रकम हटाइदिन भनेर सहकारीलाई निवेदन लेखेका पत्रसमेत प्रहरीले फेला पारेको छ । उनले सहकारीको बैंक खातामा एक लाख ७६ हजार रुपैयाँ जम्मा गरी यस्तो निवेदन लेखेका थिए । पैसा फिर्ता गर्नुले समेत ठगीमा उनको संलग्नता पुष्टि भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । सहकारीकी व्यवस्थापन निरु थापाले पनि अधिकारीलाई आफूले ७० हजार रुपैयाँ दिएको बयानमा खुलाएकी छिन् । अधिकारी हाल फरार छन् । 

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका तत्कालीन रजिस्ट्रार उदयबहादुर पराजुलीले १६ लाख लिएका थिए । पौडेलले गरेको बयानअनुसार विरौटाको राममन्दिरनजिकै १२ लाख नगद तथा चार लाख रुपैयाँ केबी थापा एन्ड कम्पनीको पेस्की खाताबाट दिइएको थियो । सहकारीको गोखार तनहुँमा कार्यक्षेत्र विस्तार तथा नयाँ पुल र बगर सेवा केन्द्र थप गर्नका लागि घुस लिएका हुन् । 

त्यस्तै, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका तत्कालीन प्राचार्य चन्द्रबहादुर ठकुरी (पूर्वउपसचिव), पूर्वसहकारी प्रशिक्षक बालकृष्ण सुवेदीले पनि सहकारी संस्थाबाट पैसा लिएका थिए । ठकुरीले गीति एल्बममा लगानी गर्ने भन्दै सहकारीबाट ०६८ मा दुई लाख ५० हजार रुपैयाँ लगेका थिए । उनले पनि छानबिन सुरु भएपछि ब्याजसहितको रकम सहकारीको खातामा फिर्ता गरेका थिए । सहकारी कर्मचारी बालकृष्ण सुवेदीलाई पनि वैदेशिक भ्रमणमा एक लाख १० हजार रुपैयाँ सहकारीबाटै खर्च गरिएको थियो । सहकारी विभाग नयाँबानेश्वरका अधिकृत सन्देशप्रसाद जोशी र नासु कमल पोखरेललाई समेत प्रतिवादी बनाइएको छ ।

उनीहरूले २० लाख बार्गेनिङ गरेकोमा १५ लाख रुपैयाँ लिएका थिए । विभागबाट उनीहरू अनुगमनका लागि पोखरा गएका वेला कुटी रिसोर्टमा बसेर बार्गेनिङ गरेको पौडेलले बयानमा बताएका छन् । आठ लाख ५० हजार रुपैयाँ नगदै लिएको तथा ६ लाख ५० हजार रुपैयाँ उनीहरूले भनेका भक्तबहादुर खड्काको बैंक खातामा जम्मा गरेका थिए । सो लेनदेनसम्बन्धि कुराकारी समेत पौडेलको कुराकानी फेला पारेको छ । 

राष्ट्रिय सहकारी बैंकबाट कर्जा लिने क्रममा कर्मचारी केदार उप्रेती र सन्तोष घिमिरेलाई विदेश भ्रमणमा लगेका थिए । सोही आधारमा उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । यसरी मुद्दा दायर गरिएका सबै कर्मचारी फरार छन् । उनीहरूमध्ये उपसचिव उदयबहादुर पराजुली यसअघि मित्रमिलन सहकारीबाट एक करोड रुपैयाँ लिएको मुद्दामा पनि पक्राउ परेका थिए । जिल्ला अदालतबाट जेलचलान भएका उनी पछि उच्च अदालतको आदेशमा धरौटीमा छुटेकोमा हाल फरार छन् ।

अनुसन्धानको क्रममा केही सरकारी कर्मचारीहरूले समेत संस्थाबाट गैरकानुनी रूपमा लाभ लिएको खुलेपछि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको कास्कीका एसपी मोहन थापाले बताए । यसरी घुस लेनदेनमा संलग्न कर्मचारीमाथि भ्रष्टाचार मुद्दामा समेत थप अनुसन्धान गर्न प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । 

सो सहकारीले एक अर्ब ५७ करोड १५ लाख रुपैयाँ हिनामिना गरेको अभियोग गत साता जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको हो । प्रमुख कार्यकारी पौडेल र व्यवस्थापक निरु थापा केसीको ठगीमा प्रमुख भूमिका देखिएको छ । पूर्वअध्यक्षहरू निदेश कोइराला र शंकर कार्कीलाई समेत पक्राउ गरी मुद्दा दायर गरिएको छ । कानुनी सल्लाहकार तथा लेखापरीक्षकको समेत मिलेमतोमा सहकारीमा ठगी भएको निष्कर्ष प्रहरीको छ ।