१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
सिद्धिचरण भट्टराई
२o८१ असार ९ आइतबार o७:३९:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेकपा एसको समाजवादी बाटो 

Read Time : > 5 मिनेट
सिद्धिचरण भट्टराई
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o७:३९:oo

कम्युनिस्ट पार्टीले समाजवादी मोडेलको पार्टी बनाउन पहिले यसको नेतृत्व चयनको प्रणाली स्पष्ट पारी त्यसलाई समाजवादी बनाउनुपर्छ 

समाजवादी पार्टीको जग : नेकपा एकीकृत समाजवादी पार्टीको दसौँ महाधिवेशन १६ देखि २० असारसम्म काठमाडौंमा आयोजना हुँदै छ । अदालतले राजनीतिक फैसला गरेर जन्माइदिएको तथा एमालेबाट विद्रोह गरेर बनेको पार्टीको यो प्रथम महाधिवेशन हो । वाम आन्दोलनलाई एकीकृत गर्दै मुलुकलाई दिगो विकास दिने कसम खाएर एकीकृत भएको नेकपालाई विभाजित गराउन केपी ओली र अदालत एकसाथ लागेका थिए भन्नु सायद अन्यथा नहोला । यसै वरिपरिको शक्ति संघर्षको वैधानिक संघर्षबीच दिगो विकास दिने कसमविपरीत आधा कार्यकाल नपुग्दै झन्डै दुईतिहाइनिकट वामपन्थी सरकार र संसद् विघटन गरी पुनः नयाँ जनादेश माग गर्ने ओलीको असंवैधानिक कदमविरुद्ध सडक संघर्ष र न्यायिक लडाइँ दुवैका बीचबाट एकीकृत समाजवादीको राजनीतिक जग बनेको हो । 

नेपाली समाजको चरित्रको विश्लेषणअनुरूप क्रान्तिको कार्यक्रम निरुपण गर्नुपर्ने विषय एमालेमा आठौँ महाधिवेशनदेखि उठ्यो । नवौँ महाधिवेशनले नेपाली समाज मूलतः पुँजीवादी भएको र यसको चरित्र दलाल भएको निष्कर्ष निकाल्यो । तर विडम्बना ! यसका वकालतकर्ता माधव नेपाल नेतृत्वमा नआएर नेपाली समाज अर्धसामन्ती र अर्ध–औपनिवेशिक रहेको विचारका वकालतकर्ता केपी ओली अध्यक्षमा निर्वाचित भए । कम्युनिस्ट पार्टीमा मूल सामाजिक अन्तरविरोध पहिचान र त्यस अन्तरविरोधको समाधानका लागि क्रान्तिको कार्यक्रम तय गरिन्छ । नेपाली समाजको मूल अन्तरविरोध दलाल पुँजीवादसँग रहेको निष्कर्ष नवौँ महाधिवेशनबाट निक्र्योल भइसकेपछि तदनुरूप संघर्षका कार्यक्रम, दलाल पुँजीपतिको प्रभाव कम गरी राष्ट्रिय पुँजी निर्माण हुँदै समाजवादी कार्यक्रम तय हुनुपर्ने कार्यभार बन्थ्यो । तर, अध्यक्ष नै यो विचारका नभएपछि यसले साविक एमालेभित्र वैचारिक र सांगठनिक कार्यदिशामा समस्या थपिँदै गए । यही संघर्षका क्रममै माओवादीसँग एकता भयो । माओवादीले पनि नेपाली समाज मूलतः पुँजीवादी भएको निष्कर्ष निकालेको थियो । समाजको चरित्र बदलिएपछि संगठन, आन्दोलन र मुद्दा बदलिन्छन् र यसले अलग्गै कार्यक्रम माग गर्छ । दुईतिहाइ बहुमत, सबै प्रदेशमा वामपन्थी सरकार, अधिकांश पालिकामा दुर्लभ हुने वामपन्थी वर्चस्व । त्यो शक्तिलाई देशको सुस्पष्ट कार्यदिशासाथ अगाडि बढ्दा मुलुकले छिटै नयाँ उचाइ प्राप्त गर्थ्यो । यद्यपि, यो गम्भीरतालाई तत्कालीन नेतृत्वले बुझेन । दिशाहीन बन्न पुग्दा आन्दोलन विभाजित भयो । यसको मूल कारण नेपाली समाजको चरित्रमा आएको परिवर्तनलाई पार्टीका कार्यक्रमले बोक्ने र नबोक्नेबीचको संघर्ष नै थियो । यही संघर्षबीच संसद्को प्रतिगामी विघटन, पुनर्स्थापना र त्यसले जन्माएका आन्तरिक खिचातानिबीच एकीकृत समाजवादी पार्टी बन्यो । यसले स्थापनाकालदेखि नै आफ्नो क्रान्तिको कार्यक्रम वैज्ञानिक समाजवाद तय गरेको छ र आगामी महाधिवेशनमा नेपाली विशेषताको समाजवाद प्रस्ताव गरेको छ । 

एसको महाधिवेशन र प्रस्तावित दस्ताबेज : पार्टी महाधिवेशनमा चार दस्ताबेज राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, नेपाली विशेषताको समाजवाद र पार्टी विधान प्रस्तुत हुने भएका छन् । अहिले पार्टीका सबै तहमा यी प्रस्तावमाथि बहस चल्दै छ । त्यसले बिस्तारै नेपाली राजनीतिमा पनि यी कार्यक्रमबारे बहस सिर्जना गर्न थालेको छ । 

चारवटै दस्ताबेज वर्तमानका समस्या केलाएर भविष्यको दिशा तय गर्नमा कत्ति स्पष्ट छन् भन्नेबारे पनि बहस हुन आवश्यक छ । दस्ताबेज पढ्दा आमकिसान, मजदुर र भुइँमान्छेलाई आफ्नो कथा भनिरहेको अनुभूत हुनुपर्छ । 

०६२/६३ को आन्दोलनलाई पुँजीवादी जनवादी क्रान्ति ठान्नु, त्यसपछिको व्यवस्थालाई पुँजीवादी व्यवस्था ठान्नु, संविधान निर्माणको प्रावधानलाई पुँजीवादको विकास गर्दै समाजवादको निर्माण गर्न सहायक हुने निष्कर्ष निकाल्नु र वर्तमान पुँजीवादको चरित्र दलाल पुँजीवादी भएको निष्कर्षसाथ अहिलको बेरोजगारी, युवा पलायन, टाक्सिएको घरेलु उद्यम व्यवसाय सबै दलाल पुँजीवाद र दलाल पुँजीपतिका कारण भएको हो भन्ने निष्कर्षले क्रान्ति र कार्यदिशा स्पष्ट छ भन्ने बुझ्न सकिन्छ । 

मूलभूत कमजोरी : पार्टीका दस्ताबेजमा राजनीतिक र सांगठनिक पक्षमा आउनैपर्ने, तर छुटेका मुख्य कुरा नेकपा एसका आफ्नै सांगठनिक, वैचारिक र प्रवृत्तिगत कमजोरी, दर्शन र व्यवहारका कमजोरी, नीति र नेतृत्वका कमजोरी राम्रोसँग औँल्याउन नसक्नु आदि हुन् । 

दलाल पुँजीवादसँग दलाल पुँजी मात्र छैन, ऊसँग दलाल संस्कृति पनि छ । दलाल विचार र दृष्टिकोण पनि छ । त्यो संगठन र संगठनबाहिर पनि विचार र व्यवहारमा पटक–पटक प्रकट हुन्छ । गठबन्धनमा तालमेल मिलाउँदा, टिकट वितरणमा, मन्त्री बनाउँदा, राजनीतिक नियुक्ति दिँदा दलाल प्रवृत्ति कसरी हाबी भएको छ भन्ने उल्लेख भएको छैन, जबकि यो पद्धति र प्रवृत्तिले आमदललाई ग्रस्त बनाएको छ । राजनीतिक नियुक्ति पाएका मानिस र मन्त्रीले त्यहाँ पुगेर दलाल पुँजीवादसँग कसरी लड्ने भन्ने प्रशिक्षण पार्टीले दिन्छ कि त्यहाँबाट पार्टी सञ्चालनका लागि आर्थिक स्रोत कसरी जोहो गर्ने भन्ने ‘मन्त्र’ सिकाउँछ ? यसले त अर्को दलाल जन्माउँछ । बारम्बार सरकारमा गएको पार्टीसँग यसको उत्तर के छ ? हामी पार्टी र संगठन कसरी चलाइरहेका छाँै ? के ती पार्टी सदस्यको लेबी र सदस्यता शुल्कले मात्र चलेका छन् ? आजका पार्टीको भरणपोषण कुन स्रोतबाट भइरहेको छ ? यसको लेखाजोखा नगरी दलाल पुँजीवादसँग लड्न सकिँदैन । 

पार्टीको हरेक एकाइले दलाल पुँजीवादसँग लड्ने खाका बनाएन भने त्यो केवल शाब्दिक जार्गन मात्र हुन्छ । नेपालीलाई उद्यमशील बनाउनुको साटो आयातित वस्तुका उपभोक्ता बनाउनु दलाल संस्कृति हो । हाम्रो पार्टीका जनप्रतिनिधिको मूल उद्देश्य भुइँतहको उत्पादन, रोजगारी र बजार सुनिश्चित गर्ने हुनुपर्छ । पार्टीले जनप्रतिनिधिलाई समयतालिका, परिमाण र मात्रा तोकेर त्यस्तो बिजनेस दिन सक्नुपर्छ । हाम्रा पार्टी र जनप्रतिनिधि दृष्टिकोण र लक्ष्यमुखी नभई रामभरोसे चलेका छन् । यस्तो प्रवृत्ति बदल्ने पार्टी आजको आवश्यकता हो । 

अहिले ‘राजनीतिक बजार’मा समाजवादको भाषण छाँट्दै दलाल पुँजीपतिसँग मितेरी लाउने प्रवृत्तिले हाबी भएको छ । राष्ट्रिय पुँजीपति आफैँ टाक्सिएको छ, उसले पार्टीलाई चन्दा दिन सक्दैन । यसर्थ पार्टी निर्माण, पार्टीको आर्थिक नीति, व्यवहारले त्यो पार्टीले कसको सेवा गर्छ भन्ने निर्धारण गर्छ । आमजनताको सहयोग, पार्टी सदस्यको लेबी र जनताको वर्गीय आन्दोलनबाट प्राप्त समर्थनले पार्टीको जीवन निर्देशित भइरहनुपर्छ । तर, विद्रोहपछि यसको अभ्यास निकै कम भएको छ । यसको वस्तुनिष्ठ समीक्षा पनि भएको छैन । के यो समीक्षा गर्न पार्टी तयार छ ?

केही पूरक मत, व्यक्तिमुखी प्रणाली खारेजी : पार्टीको प्रस्तावित विधान बाहिर आएको छैन । पार्टी संगठनको स्वरूप हामीकहाँ आठौँ महाधिवेशनपछि बहुपदीय बन्दै गयो । कम्युनिस्ट पार्टीमा बहुपदीय प्रणाली हाबी भएपछि व्यक्ति एउटा पात्र नभएर संस्थाजस्तो बन्न गयो । यसले पार्टीलाई व्यक्तिवादी प्रवृत्ति र कार्यशैलीमा पुर्‍यायो । कम्युनिस्ट पार्टीमा मूलतः महासचिव वा अध्यक्ष मात्र चुन्ने प्रणाली वा अध्यक्ष र महासचिव दुई पद राखेर अन्य पदमा केन्द्रीय कमिटीले स्थायी कमिटी चुन्ने र स्थायी कमिटीले कार्यविभाजन गर्ने प्रणाली सबैभन्दा वैज्ञानिक प्रणाली हो । यसले सामूहिक नेतृत्वको अभ्यास गराउँछ । सबै पद हलले चुन्ने प्रणालीले बहुमतीय व्यक्तिवादी लोकप्रियतावादको दलदलमा पुर्‍याउँछ । यसर्थ कम्युनिस्ट पार्टीले समाजवादी मोडेलको पार्टी बनाउन पहिले यसको नेतृत्व चयनको प्रणाली स्पष्ट पारी त्यसलाई समाजवादी बनाउनुपर्छ । हलले केन्द्रीय सदस्यको चुनाव गर्ने र चुनिएका केन्द्रीय सदस्यले स्थायी कमिटी र अन्य मुख्य पदमा चुनाव गर्दा मात्र पार्टीको सामूहिक चरित्र बचाउन सकिन्छ । अध्यक्ष, उपाध्यक्ष र महासचिव, उपसचिव गरी धेरै पद सिर्जना गर्ने र पार्टीलाई क्लबजस्तो बनाउने काम कम्युनिस्ट पार्टीहरूले गरिरहेका छन् । यसमा नेकपा एस पनि उस्तै देखिएको छ । यो व्यक्तिवादी पुँजीवादी मोडेलको प्रणाली खारेज गरी अध्यक्ष वा महासचिव प्रमुख रहने गरी स्थायी र केन्द्रीय कमिटी बनाएर दुई ‘लेयर’को पार्टी प्रणाली बनाउनुपर्छ । 

पार्टीका तह घटाऔँ : समाजमा क्रान्तकारी पार्टीको संगठन छिटो र छरितो हुनुपर्छ । जनतालाई डेलिभरी दिन पनि त्यस्तै संयन्त्र आवश्यक पर्छ । जसरी संविधानले तीन तहको सरकारको संरचना अघि सार्‍यो । त्यही किसिमले तीन तहको कमिटी प्रणाली बनाउने र अन्य संगठन विभाग, संयन्त्रलाई तिनै कमिटीका सहयोगी अंगको रूपमा विकास गर्ने । केन्द्रीय कमिटी, प्रदेश कमिटी र स्थानीय कमिटी, जनवर्गीय संगठन, मोर्चा, विभाग परोक्ष संगठनमा सोही तहको पार्टीले परिचालन गर्ने प्रणाली विकास गर्नुपर्छ । सबै तहमा तहगत आन्दोलन विकास गर्नुपर्छ । 

पालिका तहलाई निर्दलीय स्वरूपमा निर्वाचित गरौँ : स्थानीय पालिका तहका चुनाव दलमुखी बन्दा पनि स्थानीय नै चुनिन्छन् । मानिसले दलभन्दा पनि आफ्नो सम्बन्ध र बरव्यवहार हेरी मत दिएका हुन्छन् । दलका कमिटीले स्वतन्त्र रूपमा उम्मेदवार प्रस्तुत गर्ने र तिनका चुनावचिह्न दलका भन्दा भिन्न हुने व्यवस्था गरेर स्थानीय चुनावलाई दलविहीन बनाउन सकिन्छ । पार्टी कार्यकर्ताका रूपमा भन्दा एउटा व्यक्ति एकभन्दा बढी पार्टीको समर्थनमा उम्मेदवार बन्न सक्छ । एजेन्डा, प्रतिबद्धता, व्यवहार, ज्ञान, सीप, योग्यता र अनुभव हेरेर मतदाताले आफ्ना प्रतिनिधि छनोट गर्न सक्छन् । पार्टी नै फरक भएकाले योग्य मानिसलाई मतदाताले छनोट गर्न सकिरहेका छैनन् । जसले गर्दा पार्टीभित्रका दलाल समुह र गुटका प्रतिनिधिले टिकट पाएका छन् । त्यसैले, पार्टीभित्रको उम्मेदवार छनोट विधि पनि सदस्यको सामूहिक निर्णय वा मतदानबाट हुने प्रणाली स्थापित गर्नुपर्छ । 

विचारसहितको नेतृत्व स्थापित गरौँ : नवाैँ महाधिवेशनदेखि नेपाली समाजको वर्ग विश्लेषण गर्दै तय गरेको कार्यदिशाका प्रस्तावक नेता माधव नेपाल नै हुन् । तर, यसमा अध्ययनलाई अनुसन्धनात्मक बनाएर राजनीतिक लाइनको विकास गर्ने कार्यमा वर्तमान महासचिव घनश्याम भुसाललगायतको भूमिका महत्वपूर्ण छ । नवौँ महाधिवेशनमा नेपाली समाजको वर्ग र चरित्रको सवालमा एक ठाउँमा उभिएका नेता नेतृत्व निर्माणमा पनि एक ठाउँमा भएको भए नेतृत्वको निर्वाचनको परिणाम फरक आउने थियो । 

भर्खरै जन्मेर कार्यकर्ताले धानिरहेको नेकपा एसको जरा अझै जनता तहमा पुगिसकेको छैन । विद्रोहले कानुनी औचित्य पुष्टि गरे पनि जनतामाझ यसले वैधानिकता पाएको छैन । यसलाई जनस्तरमा वैधानिक बनाउन जनताका पक्षमा आन्दोलनको लहर उठाउन सक्नुपर्छ । महाधिवेशन फरक–फरक लाइनमा आधारित नभएकाले विचारधारात्मक एकताको वातावरण बनेको छ । यो वैचारिक एकतापछि नेतृत्व पनि सहमतीय हिसाबले जान सक्छ । त्यसका लागि सबै तयार बनौँ ।

(भट्टराई नेकपा एसका केन्द्रीय सदस्य हुन्)