१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 28 September, 2024
घटनास्थलनजिकै रहेका आदर्श कोतवाल गाउँपालिका– ३ बाराका स्थानीय
२o८१ असार ९ आइतबार o६:११:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाराका कलेज प्रमुख कुसवाह हत्या प्रकरण, एक साता बित्दा पनि हत्यारा पहिचान गर्न प्रहरी असफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o६:११:oo

कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुसवाहको हत्या गरिएको आठ दिन बित्दा पनि प्रहरीले अझै हत्यारा पहिचान गर्न सकेको छैन । गोेली लागेलगत्तै कुसवाहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई फोन गरेर जानकारी दिएका थिए । प्रहरीले हत्यारा पक्राउ गर्न अनुसन्धान अगाडि बढाउनुपर्ने थियो, तर सर्वसाधारणलाई पक्राउ गरेर दुःख दिन थालेको भन्दै स्थानीयले दुखेसो पोखेका छन् । 

बाराको आदर्श कोतवाल गाउँपालिका– २ खजुरियाबाट मोटरसाइकलमा कलैया जाने क्रममा गोली प्रहार भएपछि क्याम्पस प्रमुख कुसवाहले तत्कालै फोनबाट आफूमाथि गाउँकै सुरेन्द्र कुसवाहले गोली प्रहार गरेको भनेर प्रहरी र नातामा भाइ पर्ने शेखरलाई जानकारी गराएका थिए । ‘साँझ ५:१५ मा दाजुको मोबाइलबाट फोन आयो,’ शेखरले भने, ‘एकदमै मलिन स्वरमा मलाई सुरेशले गोली हान्यो मात्रै भनेर फोन राख्नुभयो । त्यसपछि आत्तिँदै आफूहरू दौडेर घटनास्थल पुग्दा उहाँ लडिसक्नुभएको थियो ।’

आदर्श कोतवालका एमाले नेता लालबाबु यादवले प्रहरीले आफ्ना पार्टीका कार्यकर्तालाई पक्राउ गरेर झुटा मुद्दामा फसाउने प्रयास गरेको आरोप लगाए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँपालिका– २ का पूर्ववडाध्यक्ष एवं एमाले कार्यकर्ता विनोद पटेलसहित उनका भाइ रामेश्वर, भतिजा सिकेन्द्र, नरेन्द्र र एमालेका कार्यकर्ता वसन्त पासवान तथा अगन्धलाई पक्राउ गरेको यादवले बताए । 

‘हत्या गर्ने मान्छे यकिन हुँदाहुँदै पनि घटनामा संलग्न नै नभएका सर्वसाधारणलाई समात्ने काम भएको छ,’ उनले भने, ‘स्थानीय राजनीतिक दलको प्रभावमा परेर प्रहरी प्रशासन एमाले कार्यकर्तालाई छानीछानी झुटा मुद्दामा फसाउने प्रयासमा लागेको देखिन्छ ।’ उनले प्रहरीले गाउँमा निगरानी बढाएर पक्राउ गर्न थालेपछि दर्जनभन्दा बढी एमाले कार्यकर्ता घर छाडेर अन्यत्र लागेको बताए ।

आदर्श कोतवाल गाउँपालिका– २ खजुरियास्थित घरबाट मोटरसाइकलमा कलैयातर्फ फर्किँदै गरेको अवस्थामा पछाडिबाट एउटा मोटरसाइकलमा आएका सुरेन्द्रसहित दुईजनाले बतरा गाउँनजिकको सडकमा क्याम्पस प्रमुख कुसवाहको कोखमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सोही क्रममा मोटरसाइकल रोकेर कुसवाहले फोनमा कुरा गरेको प्रत्यक्षदर्शी नरेश साहले बताए । ‘सडकनजिकैको खेतमा काम गरिरहेका थियौँ,’ उनले भने, ‘एक्कासि मोटरसाइकलको टायर पड्केको जस्तो ठूलो आवाज आयो, गएर हेर्दा त माडसाबको शरीरबाट रगत बग्दै थियो ।’ गोली लागिसकेपछि पनि १०–२० मिटर परसम्म मोटरसाइकल चलाएर गएका कुसवाहले आफैँ ओर्लेर फोनमा कुरा गरेको आफूहरूले देखेको उनले सुनाए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक खड्काले अनुसन्धानका क्रममा केही आशंकितलाई नियन्त्रणमा लिए पनि निर्दोष देखिए छोडिने बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको र चाँडै अपराधी पक्राउ पर्ने दाबी गरे ।