१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असार ८ शनिबार १६:४o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जन्तेढुंगाको प्रशासनिक भवन निर्माण कार्य तोकिएको मितिअगावै सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १६:४o:oo

खोटाङको जन्तेढुंगा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम तोकिएको मितिअगावै सम्पन्न भएको छ। 

नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालयको दुई करोड ३९ लाख आठ हजार ५५२ रुपैयाँ लागतमा (भ्याटसहित) मोहन एन्ड बेँसीगाउँ निर्माण सेवा कम्पनीले सम्झौतामा तोकिएको मितिभन्दा एक  महिनाअघि नै निर्माण सम्पन्न गरेको हो।

गाउँपालिकाको नवनिर्मित पक्की प्रशासनिक भवन गुणस्तरीय र सुविधा सम्पन्न बनेको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले बताइन्। ‘ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता भएपछि भवन निर्माणका लागि नियमित निगरानी गर्‍यौँ। ठेकेदारले सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा अगाडि नै गुणस्तरीय भवन निर्माण गरेका छन्,’ उनले भनिन्।

२०७९ भदौ ११ गते गाउँपालिकासँग सम्झौता गरिएको प्रशासनिक भवन २०८१ असार १६ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, ठेकेदार कम्पनीले महिना दिनअगावै सम्पन्न गरेको हो।

नवनिर्मित भवनको भुइँतलामा एउटा सभाहलसहित ६ कोठा, पहिलो तलामा एउटा सभाहलसहित चारवटा कोठा तथा दोस्रो तलामा चारवटा कोठा छन्। भवनको प्रत्येक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शाैचालयसमेत निर्माण गरिएको छ।

तीनतले पक्की प्रशासनिक भवनको भौतिक पूर्वाधार निर्माणको काम गत वैशाखमै सम्पन्न गरेर रङरोगन तथा झ्यालढोका लगाउने काम सुरु गरिएको ठेकेदार कम्पनीका प्रोप्राइटर जोसेफ रिजालले बताए। ‘सम्झौतामा उल्लेख भएबमोजिमको काम सम्पन्न भइसकेको छ। अहिले स्टिमेटभन्दा बाहिरको काम गरिरहेका छौँ,’ उनले भने, ‘निर्माणाधीन प्रशासनिक भवनमा अहिले फिनिसिङको काम भइरहेको छ। तोकिएको समयअगावै हस्तान्तरण गरेर भुक्तानी लिने योजनामा छौँ।’

१० स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ। अहिले जिल्लाका सबैजसो स्थानीय तहमा प्रशासनिक भवनहरू धमाधम निर्माण भइरहेका छन्।