१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Thursday, 27 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ८ शनिबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

समाजवादीकाे महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १४:५o:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ। यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले राससलाई जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ।

अधिकांश स्थानमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताए। उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन्।

यसअघि केन्द्रीय नेता पनि चुनिएर आउनुपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो। छनोट गरिएका प्रतिनिधिको कुल संख्याकाे पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताए।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ। संघीय संसदमा १० र राष्ट्रिय सभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ। 

ad
ad
ad
ad