१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Thursday, 27 June, 2024
हिजबुल्लाका प्रमुख हसन नसरल्लाह
२o८१ असार ७ शुक्रबार o८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

युद्ध भड्किए इजरायलका कुनै पनि भाग सुरक्षित नरहने हिजबुल्लाको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार o८:५१:oo

इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढ्दै जाँदा पूर्णस्तरको युद्ध भड्किने आकलनबीच लेबनानी छापामार समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहले बुधबार इजरायललाई कडा चेतावनी दिएका छन् । नसरल्लाहले लेबनानविरुद्ध इजरायलले आक्रमण गरे इजरायलको कुनै भाग पनि सुरक्षित नहुने धम्की दिएका छन् । 

पछिल्लो समय इजरायली अधिकारीले तिनको देश हिजबुल्लाविरुद्ध पूर्णस्तरको युद्धका लागि तयार रहेको टिप्पणी गर्न थालेका छन् । हिजबुल्लाले उत्तरी इजरायलस्थित महत्वपूर्ण पूर्वाधार तथा सैन्य क्षेत्रको ड्रोन फुटेज सार्वजनिक गरेपछि मंगलबार इजरायली विदेशमन्त्री इजरायल काट्जले लेबनानी छापामार समूह हिजबुल्लासँग गम्भीर द्वन्द्वको सम्भावना बढेको बताएका थिए । 

‘हामी हिजबुल्ला तथा लेबनानविरुद्ध हाल अपनाइरहेको माग परिवर्तन गर्ने क्षणको धेरै नजिक छौँ । त्यसपछि सुरु हुने चौतर्फी युद्धमा, हिजबुल्ला पूर्ण नष्ट हुनेछ र लेबनानलाई पनि गम्भीर आघात पर्नेछ,’ इजरायली विदेशमन्त्री काट्जले सामाजिक सञ्जालमा चेतावनी दिँदै भनेका थिए । इजरायली विदेशमन्त्रीको टिप्पणीपछि नसरल्लाहले एक भिडियो सम्बोधन गर्दै भनेका छन्, ‘लेबनानमाथि आक्रमण गर्ने इजरायली मिडियामा आएका धम्की र चेतावनीले हामीलाई त्रसित बनाएको छैन । खासमा डराउनुपर्ने पक्ष इजरायल आफैँ हो ।’

नसरल्लाहले हिजबुल्लाको सैन्य क्षमतामाथि जोड दिँदै समूहसँग आफैँले निर्माण गरेका ठूला संख्याका नयाँ हतियार तथा ड्रोनको उल्लेख गरे । ‘दुस्मनलाई राम्रोसँग थाहा छ कि हामीले आफूलाई कसरी सबैभन्दा कठिन दिनहरूको लागि पनि तयार गरेका छौं । त्यही डरले त उनीहरूले अहिलेसम्म आफूलाई रोकिराखेका छन् । उनीहरूलाई राम्ररी थाहा छ कि युद्ध भड्किएपछि तिनको देशको कुनै पनि भाग हाम्रो रकेट र ड्रोनबाट जोगिनेछैनन् । पूर्णस्तरको युद्धको क्रममा अन्धाधुन्ध बमबारी हुनेछ,’ नसरल्लाहले भने । हिजबुल्ला प्रमुखले युद्धको अवस्थामा हिजबुल्लाले इजरायली क्षेत्रमा उसको स्थलसेना पठाउन सक्ने संकेत पनि गरे । इरान समर्थित लेबनानी संगठन हिजबुल्लाले अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएको भोलिपल्टदेखि प्यालेस्टाइनी समूहप्रति समर्थन जनाउँदै इजरायलका उत्तर भेगका निसानामा बमबारी गर्दै आएको छ । उसले गाजामाथिको इजरायली आक्रमण नरोकिएसम्म आक्रमण नरोकिने बताएको छ । 

साइप्रसलाई पनि धम्की 
नसरल्लाहले युरोपेली संघको सदस्य साइप्रस पनि लेबनान तथा हिजबुल्लामाथिको आक्रमणका लागि इजरायली सहयोगी बन्न लागेकोमा चेतावनी दिए । लेबनान र इजरायली तटबाट पश्चिमतर्फ पूर्वी भूमध्यसागरमा अवस्थित साइप्रसमा इजरायलले दक्षिण लेबनानसँग मिल्दोजुल्दो भूभागमा साइप्रसको क्षेत्रमा सैन्य अभ्यास गरिरहेको जानकारी आफूसँग रहेको नसरल्लाहले बताए । लेबनानसँग युद्ध भड्किएमा इजरायलले साइप्रसका विमानस्थल र सैन्य आधार प्रयोग गर्ने योजना बनाएको नसरल्लाहले थपे ।

‘लेबनानमाथिको आक्रमणका लागि साइप्रसले आफ्ना विमानस्थल र आधार इजरायली शत्रुका लगि खुला गर्‍यो भने साइप्रस सरकार युद्धको हिस्सा बनेको मानिनेछ, र हामी यसलाई युद्धको हिस्साको रूपमा व्यवहार गर्नेछौँ,’ उनले विस्तृत रूपमा भने ।

हिजबुल्लाको यस्तो टिप्पणीपछि साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिड्सले आफ्नो टापु राष्ट्र यस क्षेत्रमा कुनै पनि सैन्य कारबाहीमा संलग्न नभएको बताए । ‘साइप्रस समस्याको अंश नभएर समाधानको हिस्सा हो । अहिले हामीमाथि लगाइएको आरोप खासमा मानवीय सहायताका लागि खोलिएको कोरिडोरबारे उब्जिएको भ्रमण हुन सक्छ । यसलाई अरब विश्वलगायत अन्तर्राष्ट्रिय समुदायले नै स्वीकार गरेको छ,’ राष्ट्रपति निकोसले साइप्रसबाट समुद्री कोरिडोरमार्फत गाजा गइरहेको अन्तर्राष्ट्रिय सहायता ढुवानीलाई उल्लेख गर्दै भने ।

ad
ad
ad
ad