अत्यधिक गर्मीले लाइटर पड्किँदा अछाम ढकारी–६ मोयमा एक घर जलेर खरानी भएको छ। अत्यधिक गर्मीले लाइटर पड्किँदा आगलागी भएको हो।
आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घर जलेर पूरै सखाप भएको स्थानीय नेत्रबहादुर बुढाले बताए।
उनका अनुसार दिउँसो ३ बजेतिर घरमा कोही नभएको वेला चुलो छेउमा राखिएको लाइटरभित्रको ग्यास विस्फोट भएपछि एकाएक घरमा आगोको मुस्लो देखिएको हो।
यस क्षेत्रमा पहिलोपटक अत्यधिक गर्मी महसुस भइरहेको स्थानीयले बताएका छन्। जसका कारण गाउँका खरले छाएका घर तथा गोठहरूमा आगलागीको जोखिम बढेको छ।
आगलागीका कारण घरमा रहेको केही नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको पीडितले बताए।