१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २ आइतबार o८:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारको कार्यसम्पादनप्रति मन्त्रीकै असन्तुष्टि, ओलीको प्रश्न 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o८:५७:oo

सरकारको कार्यसम्पादनलाई लिएर सत्तारूढ दलहरूकै असन्तुष्टि देखिन थालेका छन् । प्रमुख सत्तारूढ दल एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै सरकारको काममाथि प्रश्न उठाएका छन् भने एक मन्त्रीले सरकार पुरातन शैलीमा चलेको भन्दै असन्तुष्टि पोखेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले बजेटको विषयलाई जोडेर सरकारप्रति असन्तुष्टि जनाएका हुन् । सरकारले विकासको काममा आवश्यक ध्यान दिन नसकेको उनको आरोप छ । गरिबी हटाएर देश विकास गर्न सरकारमा गए पनि त्यसतर्फ सरकार अगाडि बढ्न नसकेको ओलीको टिप्पणी छ । 

‘एक–दुईजनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक, त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । हामी सरकारमा छौँ, एक–दुईजनाको मुख हेरेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौँ । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’ ओलीले प्रश्न गरे । 

आफू नेतृत्वको सरकारको समयमा भन्दा अहिले गरिबी बढेको भन्दै ओलीले त्यसमा पनि असन्तुष्टि जनाएका छन् । ‘यो निरपेक्ष गरिबीको रेखामुनिलाई पाँच–सात वर्षभित्र समाप्त गर्न सकिन्छ । हामीले घटाएर ९–१० लाख जनतालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाएर १७ प्रतिशतमा झारेका थियौँ, अहिले तीन वर्षमा बढेर २०.२६ प्रतिशत पुगेको छ,’ ओलीले भने । आफ्नै पार्टीका नेताहरूले चलाएका मन्त्रालयका काममा पनि उनको असन्तुष्टि छ । एमालेले सम्हालेको मन्त्रालयको अवस्थाबारे पनि हेर्नुपर्ने उनले बताए । ‘हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति ? कस्तो छ त्यसको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ,’ उनले भने । ओलीले यसअघि पनि बजेटमाथि असन्तुष्टि जनाएका थिए । गत १५ जेठमा संघीय संसद्मा प्रस्तुत बजेटमाथि प्रतिनिधिसभामा मन्त्रालयगत छलफल जारी छ । ओलीले संसद्मा बजेटबारे खुलेर छलफल गर्न सांसदहरूलाई पुनः निर्देशन दिएका छन् । 

ओलीले एमालेलाई कमजोर पार्न विरोधीले षड्यन्त्र गरिरहेको र भ्रम फैलाएको दाबी पनि गरे । ‘हाम्रो पार्टीविरुद्ध तीव्र ढंगले दिनैपिच्छे नयाँ–नयाँ अकल्पनीय कुरा आविष्कार गरेर भ्रमको प्रचार भइरहेको छ । प्रतिक्रियावादीहरू जो देश अगाडि नबढोस् भन्ने चाहन्छन् । राष्ट्रिय शक्तिलाई कमजोर बनाउन चाहन्छन् । त्यसमा उनीहरूको अर्को कुनै उपाय छैन । त्यही भएर एमालेविरुद्ध भ्रम पैदा गर्ने काम भएको छ,’ उनले भने । उनले एमाले देश बनाउने संकल्पमा रहेको र निरन्तर अगाडि बढिरहेको जिकिर गरे ।  

सत्तारुढ दल रास्वपाका नेतासमेत रहेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेकाले समर्थनबारे विचार गर्ने वेला आएको बताएका छन् । उनले आफ्नो पार्टीका मन्त्री खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनको  भनाइ छ । शनिबार रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ ले आयोजना गरेको कार्यक्रममा उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको उनले बताए । 

श्रेष्ठले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक, अनधिकृत हिसाबले सम्झौता गर्न लगाए सरकारबाट बाहिरिने चेतावनी दिए । ‘हामी सरकारमा छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको छ । हामी दुईधारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो बोकेर हिँडेका छौँ,’ उनले भने ।

केपी ओली, अध्यक्ष, एमाले : एक–दुईजनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । हामी सरकारमा छौँ, एक–दुईजनाको मुख हेरेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौँ । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? 

विराजभक्त  श्रेष्ठ, मन्त्री, युवा तथा खेलकुद : हामी सरकारमा छौँ, तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको छ । हामी दुईधारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन तयार छ । राजीनामा पत्रमा बोकेर हिँडेका छौँ ।

सरकारमा गएर बेथिति रोक्ने काम गरेका छौँ : लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारका गएर बेथिति रोक्ने काम गरेको दाबी गरेका छन् । सय दिनमा रास्वपाले एउटा पनि नराम्रो काम नगरेको उनको भनाइ छ । सय दिनमा विधि स्थापित गर्ने काम गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो स्थापना दिवसका अवसरमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ ले राजधानीमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कम्तीमा हामी चारजना सरकारमा गएर अरूले गरेको बेथितिलाई रोक्ने काम त गर्‍यौँ । ठेक्कापट्टा, किनबेच नसुनेको हो र ? सरुवा–बढुवामा करोडौँको ब्रिफकेस हामीले नसुनेको हो र ? हामीले त्यस्ता सम्पूर्ण गतिविधिमा फुलिस्टप लगाएका छौँ ।’ लामिछानेले आफ्नो पार्टीप्रति प्रश्न उठ्नु स्वाभाविक भएको पनि बताए ।

एमाले सरकारले गरेका कामको जिम्मेवारी नलिने रणनीतिमा लाग्यो : गगन
कांग्रेस महामन्त्री गगन थापाले सत्तारूढ दलहरूबीच मतभेद देखिएको र एमालेले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् । शनिबार कांग्रेस नागार्जुन नगर कार्यसमितिको कार्यक्रममा उनले एमाले सरकारमा रहने, तर सरकारको कामको जिम्मेवारी नलिने रणनीतिमा लागेको आरोप लगाएका हुन् । ‘सरकारमा आफू बस्ने पनि अनि नागरिकको अगाडि गएर जिम्मा नलिने ? सरकार आफ्नो छ, अनि बजेट माओवादीको जस्तो देखियो भनेर सर्लक्क पन्छिएको छ,’ थापाले भने, ‘अबको दुई–तीन वर्ष सरकारमा पनि रहिरहन चाहन्छ । सबै खेलोफड्को पनि गर्छ, तर सरकारको कामको जिम्मेवारी लिँदैन ।’ थापाले प्रधानमन्त्री प्रचण्डले कांग्रेस सरकारमा रहँदा कांग्रेसका कारण काम गर्न नसकिएको भन्दै पन्छिएको आरोप लगाए । एमालेकोे विषयमा पनि प्रधानमन्त्री जिम्मेवार बन्न नसकेको उनको जिकिर थियो । महामन्त्री थापाले प्रचण्ड प्रधानमन्त्री बन्न चाहेको, तर केका लागि भन्ने स्पष्ट कारणबारे जानकार नरहेको दाबी गरे । ‘प्रचण्डजीलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने मेसो छैन । किन प्रधानमन्त्री हुनुभएको, के गर्ने पनि मेसो छैन,’ थापाले भने ।

ad
ad
ad
ad