मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ २६ शनिबार
  • Friday, 14 August, 2026
२o८१ जेठ २६ शनिबार १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले विभाजनको औचित्य पुष्टि गर्न बाँकी छ : झलनाथ खनाल

समाजवादलाई मुद्दा नबनाए एमाले नटिक्ने दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २६ शनिबार १५:o३:oo

एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपालका कम्युनिस्ट पार्टीहरूमा दक्षिणपन्थी अवसरवाद हाबी भएको टिप्पणी गरेका छन्। 

शनिबार पार्टीको हेटौँडा उपमहानगर कमिटीको पहिलो नगर अधिवेशनलाई सम्बोधन गर्दै खनालले दक्षिणपन्थी अवसरवादकै कारण कम्युनिस्ट पार्टीहरूबीच एकीकरण हुन नसकेको जिकिर गरे।

नेता खनालले समाजवादी क्रान्तिले मात्रै कम्युनिस्टहरूलाई एकठाउँमा ल्याउन सक्ने उल्लेख गर्दै त्यसको नेतृत्व अब एकीकृत समाजवादीले गर्ने बताए। उनले आगामी महाधिवेशनबाट समाजवादी कार्यक्रम र कार्यभार बोकेको एकीकृत समाजवादी पार्टी पहिलो र बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरे।

‘मुलुकको समृद्धि र विकासका लागि समाजवादी क्रान्ति आवश्यक छ। त्यसको नेतृत्व एकीकृत समाजवादीले मात्र गर्न सक्छ। त्यसकारण आगामी दिनमा एकीकृत समाजवादीलाई बलियो र पहिलो पार्टीको रूपमा स्थापित गर्न भूमिका खेल्नुपर्छ,’ उनले भने।

नेता खनालले एमाले विभाजन र विद्रोहको औचित्य पुष्टि गर्न बाँकी रहेको पनि बताए। दक्षिणपन्थी अवसरवादविरुद्ध र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि एमालेमा विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन गरेको स्मरण गर्दै उनले संविधानविरोधी तत्त्वहरू विस्तारै कमजोर हुँदै गइरहेको दाबी गरे।

खनालले दक्षिणपन्थी अवसरवादकै कारण दुईतिहाइ बुहमत प्राप्त नेकपाको सरकार ढालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा दुईपटक विघटन गरेको बताए। ढिलो चाँडो एमाले पनि समाजवादको मुद्दामा आउने बताउँदै उनले समाजवादलाई मुद्दा नबनाउने हो भने एमाले पनि धेरै नटिक्ने दाबी गरे।