मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १९ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १९ शनिबार o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कान्तिपुर सहकारीमा ६ अर्ब हिनामिना : पूर्वअध्यक्ष लामा पक्राउ, नौ सञ्चालक अझै फरार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १९ शनिबार o६:१३:oo

काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार बिहान चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । 

चितवनमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । यसअघि नै लामासहित ११ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । 

संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी सहकारी ठगीको मुद्दा गत चैतमा दायर भएको हो । मुद्दा दायर भएपछि पनि उजुरी आउने क्रम जारी रहेको बानेश्वर वृत्तका डिएसपी शिवराज बुढाथोकी बताउँछन् । हालसम्म करिब दुई अर्ब हिनामिनाको उजुरी परिसकेको छ । 

प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी मुद्दा चलाएकोमा अन्य १० जना फरार थिए । सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन् ।

हाल पुर्पक्षका लागि जेलमा रहेका अध्यक्ष ठकुरीले बयानका क्रममा संस्थाको पैसा सिबी लामाले नै दुरुपयोग गरेको बताएका छन् । लामाले एक अर्ब रुपैयाँ लगेर नतिरेको बताएका छन् । लामाले संस्थाको पैसा घरजग्गामा लगानी गरेका थिए । घरजग्गा व्यवसाय खस्किएपछि संस्था समस्यामा परेको ठकुरीको बयान छ ।

संस्था जोगाउन भन्दै पछि सगरमाथा सहकारी, कुरिनटार सहकारी तथा मेरिगोल्ड सहकारीलाई समेत मर्ज गरेर चलाइएको थियो । तैपनि सहकारीले विनाधितो प्रवाह गरेको ऋण उठाउन नसकेपछि बचतकर्ताको पैसा फिर्ता गर्न नसकी बन्द भएको हो ।

सो सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ । सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ फसेको हो । थोरै बचतकर्ताले मात्र हाल प्रहरीमा जाहेरी दिएका छन् । सञ्चालकहरूले नियमविपरीत संस्थाको पैसा निजी व्यवसायमा लगाएर फिर्ता गर्न नसकेका हुन् । अस्पताल, रिसोर्ट तथा घरजग्गामा सञ्चालकले करोडौँ लगानी गरेका छन् । सो संस्थाका पूर्वअध्यक्ष सिबी लामा सञ्चालक रहेको पशुपति सहकारीले पनि सर्वसाधारणको पैसा फिर्ता गर्न सकेको छैन । काभ्रे घर भएका लामा कांग्रेसका जिल्ला नेतासमेत हुन् । 

यो सहकारी ठगीको प्रहरीले फितलो अनुसन्धान गरेको छ । गत २७ फागुनमा जिल्ला अदालतमा ५६ पृष्ठ लामो अभियोगपत्र दायर भएको छ । जसमध्ये ३९ पृष्ठमा पीडितहरूको नाम र उनीहरूको बचत रकम उल्लेख छ । पक्राउ परेका ठकुरीको बयान लिई अन्य केही व्यक्तिलाई सामान्य सोधपुछ गरेर अभियोजन गरिएको छ । सहकारीको पैसा कुन–कुन कम्पनीमा कसरी लगानी गरेर हिनामिना भएको छ भन्नेतर्फ अनुसन्धान नै हुन सकेको छैन । 

सुरुमा सहकारीविरुद्ध सिआइबीमा जाहेरी परेको थियो । सिआइबीले अनुसन्धानमा ढिलाइ गरी पछि फाइल वृत्तमा पठाएको हो । ठूला सहकारीको अनुसन्धान सिआइबीले गर्नेमा यस प्रकरणमा सिआइबी अनुसन्धानबाट पन्छिनु नै शंकास्पद रहेको एक पीडित बताउँछन् ।