१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Wednesday, 26 June, 2024
२o८१ जेठ १३ आइतबार o९:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चालू आवको १० महिनामा ६ लाख वैदेशिक रोजगारमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o९:२७:oo

चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा ६ लाख नौ हजार सात सय पाँचजनाले वैदेशिक रोजगारीको अनुमति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा यो ७.६५ प्रतिशतले कम हो । 

गत आवको सोही अवधिमा ६ लाख ६० हजार दुई सय ५५ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका थिए । गत आव ०७९/८० मा सात लाख ७४ हजार नौ सय ७६ नेपालीले वैदेशिक रोजगारीको स्वीकृति लिएका थिए, जुन वार्षिक रूपमा हालसम्मकै उच्च हो । 

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अनिवार्य रूपमा नेपाल सरकारबाट श्रम स्वीकृत लिनुपर्ने प्रावधान छ । वैशाख मसान्तसम्म तीन लाख ७३ हजार तीन सय सातजना नेपाली नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । थप दुई लाख ३६ हजार तीन सय ९८ जना नेपाली भने श्रम स्वीकृत नवीकरण गरेर वैदेशिक रोजगारीमा गएका हुन् । 

चालू आवमा रोजगारदाता मुलुकहरूले कामदार कम मागेका कारण पनि वैदेशिक रोजगारीमा जानेको संख्या केही कमी भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए । 

अघिल्लो वर्ष कारोनाका कारण रोकिएका कामदार एकैपटक जाँदा धेरै देखिएको उनको भनाइ छ । ‘कोरोनाका कारण भिसा आएर र छुट्टीमा आएका कामदार नेपालमै अड्किएका थिए । अन्य कामदारको वैदेशिक रोजगारीमा जाने प्रक्रिया पनि रोकिएको थियो,’ उनले भने, ‘लकडाउन खुल्न थालेपछि बीचमा रोकिएका माग आउन थाले । नेपालमै अड्किएका कामदार पनि जान थाले । त्यसले गर्दा गत आवमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च थियो । तर, अहिले त्यसको तुलनामा कामदारको माग आएको छैन । सामान्य अवस्थाको तुलनामा यो बढी नै हो ।’

यो वर्ष साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ र मंसिरमा ६८ हजार दुई सय एकजना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसैगरी, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार नौ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ । 

मुख्यतः माग घट्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको विभागका अधिकारी बताउँछन् । गत आवमा विदेशस्थित रोजगारदाता कम्पनीबाट नेपाली कामदारको माग नै उच्च थियो । तर, यसपालि गत आवको तुलना कम माग आइरहेको विभागका अधिकारी बताउँछन् । 

कोरोना संक्रमण र त्यसलाई नियन्त्रण गर्न आव ०७८/७९ सम्म नेपाल र विश्वका विभिन्न मुलुकमा पटक–पटक लकडाउन तथा निषेधाज्ञा लगाइएको थियो । त्यसले गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको थियो । 

मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसकेकाले नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यता छ । बिदेसिएका नेपालीले पठाउने रेमिट्यान्सले भने अर्थतन्त्रलाई ठूलो टेवा दिँदै आएको छ । मुलुकको विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो स्रोत नै रेमिट्यान्स बनेको छ । चैत मसान्तसम्म रेमिट्यान्सबापत १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी भन्छन्–
१० महिनामा ६ लाखभन्दा बढी नेपाली युवाले वैदेशिक रोजगारीमा जानका लागि स्वीकृति लिएका छन् । यो गत वर्षभन्दा केही कम हो । रोजगारदाता मुलुकहरूले कामदार कम मागेका कारण पनि वैदेशिक रोजगारीमा जानेको संख्या केही कमी भएको हो । अघिल्लो वर्ष कोरोनाका कारण रोकिएका कामदार एकैपटक जाँदा धेरै देखिएको हो । कोरोनाका कारण भिसा आएका र छुट्टीमा आएका कामदार नेपालमै अड्किएका थिए । लकडाउन खुल्न थालेपछि बीचमा रोकिएका माग आउन थाले । अहिले सामान्य अवस्थाको तुलनामा केही बढी माग छ । 

ad
ad
ad
ad