Skip This
विशेष अदालतको एक वर्ष : ४६८ मुद्दा फर्स्योट, सम्पत्ति  शुद्धीकरणको कसुरमा ठहर हुने संख्या बढ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ जेठ १३ आइतबार o८:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विशेष अदालतको एक वर्ष : ४६८ मुद्दा फर्स्योट, सम्पत्ति  शुद्धीकरणको कसुरमा ठहर हुने संख्या बढ्यो

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o८:२८:oo

विशेष अदालतले एक वर्षमा *चार सय ६८ वटा मुद्दा फर्स्योट गरेको छ । ०८० को वैशाखदेखि चैत मसान्तसम्म उक्त संख्याको मुद्दा किनारा लगाएको विशेषको अभिलेख छ । गत वर्षको सुरुवातमा तीन सय ७८ मुद्दा फर्स्योट हुन बाँकी रहेकोमा वर्षान्तमा एक सय ४२ थान मुद्दामा फैसला हुन बाँकी छन् ।

विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गर्ने गरेको छ । विशेष अदालतलाई नक्कली प्रमाणपत्र, निर्णयगत अनियमितता, गैरकानुनी सम्पत्ति, घुस/रिसवत, सम्पत्ति शुद्धीकरणका साथै ऐनमा उल्लिखित विषयमा भएका केही निर्णयमाथि भएका पुनरावेदन हेर्ने अधिकार छ । गत वर्ष वैशाखको सुरुवातमा यस्ता कुल मुद्दा चार सय ५३ थिए । वर्षान्तमा भने फर्स्योट हुन बाँकी मुद्दा एक सय ४२ थिए । एक वर्षमा विशेषमा दुई सय ६ वटा मुद्दा दर्ता भएका छन् । 

विशेषले एक वर्षमा गैरकानुनी सम्पत्ति आर्जनका २४, नक्कली प्रमाणपत्रका ३१ मुद्दामा फैसला गरेको छ । पुनरावेदनका मुद्दा रहेको अभिलेख छैन । यस अवधिमा सबैभन्दा बढी निर्णयगत अनियमितताका दुई सय ८८ मुद्दामा फैसला भएको विशेषको अभिलेख छ । यस अवधिमा घुस/रिसवत लिई भ्रष्टाचार गरेको भनी दायर एक सय चारवटा मुद्दामा फैसला भएको छ ।

साधारणतया सम्पत्ति शुद्धीकरणको कसुर यसअघि विशेषबाट ठहर हुँदैनथे वा आंशिक ठहरको फैसला आउँथ्यो । प्रतिवादीले सफाइ पाउने गरेको परिदृश्यमा पछिल्लो समय भने यस्ता मुद्दामा ठहर संख्या बढ्दो छ । विशेषको तथ्यांकअनुसार वर्षको सुरुवातमा सम्पत्ति शुद्धीकरणका ३६ मुद्दा विचाराधीन थिए । वर्षभरि मुद्दा दर्ता र फर्स्योट हुँदै जाँदा चैतसम्ममा जम्मा लगत ३३ रहेको छ । फैसला हुन बाँकी मुद्दा १२ वटा छन् । 

गत वर्ष मंसिरसम्म १० वटा सम्पत्ति शुद्धीकरणका मुद्दा फर्स्योट भएका थिए भने त्यसपछिका महिनामा अन्य मुद्दा फर्स्योटसँगै यस्तो प्रकृतिको भ्रष्टाचार मुद्दामा पनि फैसला संख्या बढेको देखिन्छ । पाँच महिनामा विशेषले १३ वटा यस प्रकृतिको मुद्दा टुंग्याएको छ । यसरी एक वर्षमा कुल २३ मुद्दा फैसला भएका छन् । 

यस्ता छन् विशेषले फैसला गरेका चर्चित मुद्दा
विशेष अदालतले फैसला गरेका चर्चित मुद्दामा पूर्वसांसद इच्छाराज तामाङ प्रतिवादी रहेको मुद्दासमेत हो । माघ पहिलो साता उनलाई विशेषले कसुरदार ठहर गर्दै सजाय सुनाएको थियो । बिमाको रकम हात पार्न बाँकेका युवकसँग विवाह गरी उनको हत्या भएको विषयमा समेत विशेषले कसुर ठहरको फैसला गरेको छ । चिट्ठा परेको अमेरिकी वृद्धको पैसा ठगेर नेपाल पठाएका पंकज जोशी गत पुसमा दोषी ठहर भएका थिए । यसैगरी, कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङमाथि कसुर कायमको फैसला भएको छ । 

विशेषले इन्साइडर ट्रेडिङको मुद्दामा समेत प्रतिवादी रहेका तत्कालीन रिडी पावर कम्पनीका अध्यक्ष गुुरुप्रसाद न्यौपानेले सम्पत्ति शुद्धीकरण गरेको ठहर गरिसकेको छ । गत १५ चैतमा उनीमाथि सजाय निर्धारण भएको थियो । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समिति अध्यक्ष लम्बोदर न्यौपाने पनि यसै अभियोगमा दोषी ठहर भइसकेका छन् । बाँकेका भन्सार अधिकृतसमेत दुईजनालाई पनि विशेषले सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी पाएको थियो । उनीहरूमाथि १५ चैतमा सजाय निर्धारण भएको थियो । माओवादी नेता रेवतराज पुरी गगनमाथि पनि यो अभियोग पुष्टि भइसकेको छ । उनीविरुद्ध सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगसहितको मुद्दा हाल विशेषमै विचाराधीन छ । 

टीकापुर र झापाको जग्गा प्रकरणले ह्वात्तै बढ्यो बयान र थुनछेक
टीकापुरको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको र झापाको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार भएको प्रकरण विशेष अदालत पुगेपछि पछिल्लो दुई महिनामा बयान र थुनछेकका निवेदन ह्वातै बढेका छन् । औसतभन्दा दोब्बर–तेब्बर निवेदन आउने गरेको विशेषका कर्मचारी बताउँछन् । गत वर्ष वैशाखदेखि असोजसम्म बयान र थुनछेकका निवेदन क्रमशः ६४, ६२, ३६, ८१, ८१ र ७० थिए । कात्तिकमा १७, मंसिरमा ५६, पुसमा ८६ माघमा १७ र फागुनमा ५४ जनाको थुनछेक र बयान सम्पन्न भएको विशेषको अभिलेख छ । तर, ०८० चैत र ०८१ वैशाखमा यो संख्या क्रमशः दुई सय ६४ र तीन सय १८ पुगेको छ । एकै दिन २८ वटासम्म बयान लिने कार्य भइरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । 

टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाई पदाधिकारीका आफन्त, कर्मचारीका आफन्त आदिलाई जग्गा वितरण गरिएको भेटिएको थियो । सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा व्यक्तिविशेष तथा संघसंस्थालाई वितरण गरिएको दाबीसहित दायर मुद्दा विशेषमा विचाराधीन छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ माघमा समितिका पदाधिकारी र कर्मचारी, जग्गाधनीलगायत नापी र मालपोत कार्यालयका कर्मचारीसमेतलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । लगभग दुई सय ४९ जनामाथि मुद्दा दायर भएको थियो । यसैगरी, झापाको बालुवाटारको २९ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अर्को मुद्दा पनि विशेषमा विचाराधीन छ । अख्तियारले उक्त मुद्दा १३ फागुन ०८० मा दायर गरेको थियो । यसमा तत्कालीन नेकपाका नेता गगन पुरीसमेत जोडिएका छन् । यो प्रकरणमा अख्तियारले एक सय ८७ जनामाथि मुद्दा दायर गरेको छ ।

*(एक वर्षमा चार सय ६८ वटा मुद्दा फर्स्योट हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित भुल सुधार गरिएकाे छ ।)

ad
ad
ad
ad