Skip This
सुदूरपश्चिममा एक महिनासम्म सरकार विस्तार हुन सकेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १३ आइतबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा एक महिनासम्म सरकार विस्तार हुन सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o८:२१:oo

मन्त्रालय भागबन्डामा केन्द्रको सहमति कुर्दै मुख्यमन्त्री सोडारी

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म सरकार विस्तार हुन सकेको छैन । मुख्यमन्त्री दीर्घबहादुर सोडारी सरकार विस्तारका लागि मन्त्रालय भागबन्डाबारे केन्द्रमा गठबन्धनको शीर्ष तहको सहमति पर्खिरहेका छन् । सरकार विस्तार हुन नसक्दा बजेट निर्माणका वेला प्रदेशका चारवटा मन्त्रालय मन्त्रीविहीन छन् ।

एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र एकजना स्वतन्त्र सांसदको समर्थनमा गत ६ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए । सरकारमा अहिले नागरिक उन्मुक्तिबाट मात्र दुईजना मन्त्री छन् ।

मुख्यमन्त्रीको शपथ लिएकै दिन सोडारीले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए । १८ वैशाखमा नागरिक उन्मुक्तिकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरे । त्यसपछि सरकार थप विस्तार हुन सकेको छैन । स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा सहभागी गराउने गठबन्धनमा सहमति छ, तर मन्त्रालयबारे टुंगो लागेको छैन ।

मन्त्रालय भागबन्डाको टुंगो केन्द्रबाटै हुने भएकाले सरकार विस्तारमा केही ढिलाइ भएको गठबन्धनका नेताहरूले बताएका छन् । मुख्यमन्त्री सोडारी सरकार विस्तारबारे गठबन्धनका शीर्ष नेताहरूसँग परामर्श गरेर फर्किएका छन् । एकीकृत समाजवादीको संसदीय दलका उपनेता प्रकाश रावलले अब एक–दुई दिनमै सरकारले पूर्णता पाउने दाबी गरे । उनले मन्त्रालय भागबन्डाको विषय केन्द्रमा गठबन्धनको शीर्ष तहमा टुंगिने भएकाले मुख्यमन्त्री केन्द्रमा हुने सहमतिको पर्खाइमा रहेको बताए । ‘सरकार विस्तार गर्न मुख्यमन्त्री केन्द्रको निर्णय पर्खनुभएको हो,’ रावलले भने, ‘केन्द्रमा छलफल भइरहेको छ, अब एक–दुई दिनमै सरकार विस्तार हुन्छ ।’ बजेटलाई अन्तिम रूप दिनुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ गर्न नहुने पक्षमा आफूहरू रहेको उनले बताए ।

प्रदेशमा अहिले चार मन्त्रालय रिक्त छन् । नेताहरूका अनुसार एमाले र माओवादीले दुई–दुई मन्त्रालय लिने गरी भागबन्डा टुंग्याउने प्रयास भइरहेको छ । सरकारलाई विश्वासको मत दिएका स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा सहभागी गराउन गठबन्धन सहमत छ । भागबन्डा मिलाउन भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत, सिँचाइ तथा यातायात क्षेत्रलाई समेटेर छुट्टै मन्त्रालय बनाउने तयारी छ ।

आर्थिक मामिला मन्त्रालयमा एमाले र माओवादीले दाबी गरेका छन् । यो मन्त्रालयमा स्वतन्त्र सांसद जोशीको पनि चाहना छ । स्रोतका अनुसार माओवादीले यसअघि लिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने सम्भावना छ । ‘सुदूरपश्चिममा मन्त्रालय भागबन्डा टुंग्याउन प्रधानमन्त्री र एमाले अध्यक्षबीच आजभोलिमै छलफल हुने जानकारी छ,’ माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले भने, ‘बजेट ल्याउनुपर्ने भएकाले यो विषय चाँडै टुंग्याउनुपर्छ भनेका छाैँ ।’ प्रधानमन्त्रीले सरकारले छिट्टै पूर्णता पाउने बताएकाले उनले बताए ।

सरकार विस्तारको तयारी भइरहँदा मन्त्रीका लागि आकांक्षीले आ–आफ्नो पार्टीको नेतृत्व तहमा ‘लबिङ’ बढाएका छन् । मन्त्रीका लागि माओवादीबाट दलका उपनेता रावल, ओमविक्रम भाट, शिवसिंह ओली, लक्ष्मी विकको नाम चर्चामा छ । अघिल्लो सरकारका मन्त्री झपट साउद र रमेशसिंह धामीलाई दोहो¥याउने विषयमा पनि पार्टीमा छलफल भइरहेको माओवादीका एक नेताले बताए । एमालेमा सन्तोष शर्मा थापा, सुरेन्द्र पाल, धर्मराज पाठक, वीरबहादुर थापा र दमनबहादुर भण्डारीमध्येबाट मन्त्री हुने बताइएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने सरकारमा सहभागिताको विषयमा दलले निर्णय नगरेको बताए । पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेशमा आफूहरू अगाडि बढ्ने उनले बताए ।

ad
ad
ad
ad