१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Saturday, 28 September, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ ७ सोमबार १२:१८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१३.२६% ले बढ्यो आयकर संकलन

लक्ष्यको ८३ प्रतिशत आयकर उठ्यो, भ्याट संकलन १०.९६ प्रतिशतले बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:१८:oo

व्यक्तिगत तथा संस्थागत आम्दानीमा वृद्धि हुन थालेसँगै आयकर संकलनमा समेत सकारात्मक प्रभाव परेको छ । आन्तरिक राजस्व विभागका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म एक खर्ब ८० अर्ब १८ करोड आयकर संकलन भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा १३.२६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष ०७९÷८० को वैशाखसम्म एक खर्ब ५९ अर्ब आठ करोड आयकर उठेको थियो ।  

यो संकलन समीक्षा अवधिको निर्धारित लक्ष्यको ८३.०१ प्रतिशत र वार्षिक लक्ष्यको ६०.३९ प्रतिशत रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ । चालू आर्थिक वर्षको वैशाखसम्म सरकारले दुई खर्ब १७ अर्ब आयकर उठाउने लक्ष्य लिएको थियो । 

त्यस्तै, यो वर्ष दुई खर्ब ९८ अर्ब ३५ करोडको आयकर उठाउने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको वैशाखसम्म निर्धारित लक्ष्यको ६९.३६ प्रतिशत मात्रै उठेको थियो भने वार्षिक लक्ष्यको ५२.२७ प्रतिशत उठेको थियो ।  आम्दानीसँगै ब्याजमा लाग्ने कर संकलनमा पनि वृद्धि भएको छ । गत आवको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १२.७ प्रतिशतले ब्याज कर संकलन बढेको छ । गत आवको वैशाखसम्म ३० अर्ब २८ करोडको ब्याजबापत कर संकलन गरेको सरकारले समीक्षा अवधिमा ३४ अर्ब १३ करोड उठाएको छ ।

 भ्याट संकलनमा सुधार
आन्तरिक राजस्व कार्यालयहरूले संकलन गर्ने मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा सुधार देखिन थालेको छ । चालू आर्थिक वर्षका अन्तिम महिनाहरूमा सरकारी कोषबाट भुक्तानी बढ्दै जाँदा भ्याट संकलनमा स्वतः वृद्धि देखिएको हो । निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले दिने भुक्तानीमा भ्याटसमेत आंशिक रूपमा तिरिदिने व्यवस्था भएकाले भ्याट संकलनमा सुधार देखिएको हो ।

 विभागका अनुसार वैशाखसम्म ९८ अर्ब ४४ करोड ८७ लाख भ्याट संकलन भएको छ । यो गत आर्थिक वर्षको वैशाखसम्मको संकलनको तुलनामा १०.९६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ८८ अर्ब ७२ करोडको भ्याट संकलन भएको थियो । चालू आर्थिक वर्षमा सरकारले आन्तरिक बिक्री तथा उत्पादनबाट वैशाखसम्म एक खर्ब २३ अर्ब भ्याट उठाउने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ७९.९५ प्रतिशत भ्याट उठेको हो । वार्षिक एक खर्ब ५७ अर्ब २१ करोड भ्याट उठाउने सरकारी लक्ष्यको तुलनामा ६२.६२ प्रतिशत उठेको विभागले जनाएको छ । 

 अन्तःशुल्कको मासिक संकलनमा सुधार
चालू आर्थिक वर्षको १० महिनामा अन्तःशुल्क संकलनमा पोहोरको सोही अवधिको तुलनामा सुधार नदेखिए पनि मासिक संकलनमा भने सुधार देखिएको छ । गत आर्थिक वर्षको वैशाखको तुलनामा चालू आवको सोही महिनामा १३.०५ प्रतिशतले अन्तःशुल्क संकलनमा वृद्धि भएको छ । गत आवको वैशाख महिनामा नौ अर्ब ८३ करोड अन्तःशुल्क उठेकोमा चालू आवको वैशाखमा ११ अर्ब ११ करोड अन्तःशुल्क संकलन भएको छ । यो आन्तरिक राजस्व कार्यालयहरूले उठाउने अन्तःशुल्क मात्रै हो । कुल १० महिनाको संकलन हेर्ने हो भने गत आर्थिक वर्षको तुलनामा ०.७ प्रतिशतले उठेको छ । गत आर्थिक वर्षको १० महिनामा ८४ अर्ब १२ करोड अन्तःशुल्क संकलन भएकोमा चालू आवको सोही अवधिमा ८३ अर्ब ५२ करोड उठेको छ । 

 विदेश पढ्ने बढेसँगै शिक्षा शुल्कमा वृद्धि
पछिल्लो समय विदेशमा पढ्न जानेको लहरमा वृद्धि भएसँगै शिक्षा सेवा शुल्क संकलनमा पनि वृद्धि भएको छ । चालू आर्थिक वर्षको वैशाखसम्म दुई अर्ब ७३ करोडको शुल्क उठेको छ । यो गत आवको सोही अवधिभन्दा ८१.७२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा एक अर्ब ५० करोड मात्रै उठेको थियो । 

स्वास्थ्य सेवा कर र बहाल कर संकलन भने खस्किएको छ । समीक्षा अवधिमा एक अर्ब ९५ करोड (गत आवको सोही अवधिको तुलनामा ९.६८ प्रतिशत कम)को बहाल कर संकलन भएको छ भने स्वास्थ्य सेवा शुल्कतर्फ पाच अर्ब ६६ करोड ४१ लाख (गत आवको सोही अवधिको तुलनामा २.१५ प्रतिशत कम) संकलन भएको विभागले जानकारी दिएको छ ।