१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार o७:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

खानेपानी आयोजना सात वर्षमा पनि बनेन

कार्यालय भवनको पनि जग र पिल्लर मात्रै ठड्याएर निर्माण कम्पनी आस्था कन्स्ट्रक्सनले काम छाडेको छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:३३:oo

सिराहाको धनगढीमाई नगरपालिका–१३, भोर्लेनीस्थित एक लाख लिटर क्षमताको खानेपानी आयोजना निर्माण सुरु भएको सात वर्षमा पनि पूरा भएको छैन । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमातहतको आयोजना आव ०७३/७४ देखि निर्माण सुरु भए पनि हालसम्म पूरा नभएको स्थानीय विष्णुपुरकट्टी खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष किताब तामाङले जानकारी दिए । 

सप्तरीको राजविराजस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बजेट परिचालन गरिरहेको आयोजना समयमै निर्माण नहुँदा स्थानीयले पिउने पानीका लागि संघर्ष गरिरहेको अध्यक्ष तामाङको गुनासो छ ।  समितिका अनुसार आयोजना निर्माण सुरु भएको पहिलो वर्ष आव ०७३/७४ मा १९ लाख बजेट विनियोजन भएको र सो रकमले बोरिङ खनिएको थियो । त्यसपछि आव ०७४/७५ मा २० लाख रुपैयाँ विनियोजन भएकोमा १७ लाख ५० हजार रुपैयाँ खर्चेर वरिपरि पर्खाल निर्माण गरियो ।

आव ०७५/७६ मा विनियोजन भएको एक करोड रुपैयाँले एक लाख लिटर पानी अटाउने ओभरहेड ट्यांकी निर्माण गरिएको छ । आव ०७६/७७ मा भने १० लाख रुपैयाँ फ्रिज भएको थियो । आव ०७७/७८ मा १० लाख विनियोजन भएकोमा ५० केभिएको ट्रान्सफर्मर खरिद गरिएको थियो । तर, उपयोगविहीन अवस्थामा रहेको ट्रान्सफर्मरलाई त्रिपालले छोपेर राखिएको छ । आव ०७९/८० मा ३० लाख रुपैयाँ बजेट आए पनि २.४१ लाख रुपैयाँ मात्रै खर्च गरिएको समितिले जनाएको छ । कार्यालय भवन निर्माणका लागि सो रकम भुक्तानी गरे पनि भवन निर्माणले पूर्णता पाएको छैन । ‘गत वर्ष आएको बजेटमध्ये २७ लाख ५९ हजार रुपैयाँ फ्रिज भयो । सो रकमले पाइप र विद्युतीय मोटर खरिद गरेर खानेपानी वितरण सुरु गरौँ भन्दा डिभिजन कार्यालयले मानेन,’ धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले भने ।

कार्यालय भवन बनाइसकेर पानी वितरण गर्ने डिभिजन कार्यालयको अडानले अहिलेसम्म पानी वितरण हुन नसकेको उनको भनाइ छ । ‘तत्कालीन विष्णुपुरकट्टी गाविसको १, २ र ४ नम्बर वडाका आठ सय ८१ घरधुरीलाई लक्षित गरी थालिएको आयोजनाको पूर्णताका लागि डिभिजन कार्यालयले हेलचेक्र्याइँ गरिरहेको छ,’ वडाध्यक्ष तामाङले भने ।

सो खानेपानी आयोजना निर्माणका लागि स्थानीय सिंहमान तामाङ र जयलाल तामाङले चार कट्ठा जमिन दिएका थिए । समयमै आयोजना नबन्दा उनीहरू पनि निराश छन् । चालू आव ०८०/८१ मा १० लाख विनियोजन भएको र भवनका लागि पाँच लाख रुपैयाँ मात्रै खर्चेको उपभोक्ता समितिले जनाएको छ । कार्यालय भवनको पनि जग र पिल्लर मात्रै ठड्याएर निर्माण कम्पनी आस्था कन्स्ट्रक्सनले काम छाडेको छ ।

कार्यालय भवन निर्माणका लागि २७ लाख ५० हजार रुपैयाँमा ठेक्का भएको आस्था कन्स्ट्रक्सनका सञ्चालक प्रमोद महतोले जानकारी दिए । ‘ठेक्का सम्झौतापछि मोबिलाइजेसनबापत सोही वर्ष दुई लाख ४१ हजार रुपैयाँ र चालू आवमा जग र पिल्लरको कामबापत पाँच लाख रुपैयाँ भुक्तानी लिएको छु,’ उनले भने । 

ad
ad