मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २५ आइतबार
  • Tuesday, 01 September, 2026
२o८o चैत २५ आइतबार १o:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शैक्षिक सत्र सुरु हुनुअगावै मुगुमा पुगे पाठ्यपुस्तक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २५ आइतबार १o:५९:oo

यस वर्ष भर्नासँगै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक हुने 

पाठ्यपुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीले यसपटक भने समयमै पुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक साता बाँकी छँदै जिल्लामा पाठ्यपुस्तक पुगेपछि यसपटक मुगाली विद्यार्थीले हातमा पुस्तकसहित कक्षामा प्रवेश पाउने भएका हुन् । विगतका वर्षमा विद्यार्थीले वार्षिक परीक्षा आइसक्दासमेत पूरै विषयका पुस्तक नपाउँदा पाठ्यपुस्तकविना नै अधुरो पढाइमै परीक्षा दिँदै आएका थिए ।

जिल्लास्थित चारवटा स्थानीय तहमध्ये शुक्रबारसम्म छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पुस्तक विक्रेताहरूले पाठ्यपुस्तक पालिका केन्द्रहरूमा ल्याइसकेका छन् । छायानाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयका लागि पहिलो चरणमा चार हजार पाँच सय सेट पुस्तक जिल्लामा आइपुगेको पुस्तक विक्रेता जयलक्ष्मी पुस्तक पसलका लक्ष्मी भामले जानकारी दिए ।

उता जिल्लाको उत्तरी  सोरु गाउँपालिकामा पनि यसपटक समयमा नै पुस्तक पुगेको छ ।  ठूलो गाडीमा जिल्ला सदरमुकाम गमगढी पुगेको पुस्तक शनिबार साना गाडीमा लोड गरेर  सोरु गाउँपालिका पुर्‍याइएको हो ।

यस पालिकामा  रहेका ३८ वटा सामुदायिक विद्यालयका लागि पुस्तक बिक्री गर्न जिम्मा लिएको शाही जनरल अडर एन्ड सप्लायर्सले चार हजार सात सय ७१ विद्यार्थीका लागि पुग्ने गरी सबै विषयका पुस्तक पालिकामा पुर्‍याइसकेको छ । 

मुगुम कार्मारोङ गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका एक हजार दुई सय विद्यार्थीका लागि पुस्तक विक्रेताको जिम्मा लिएको युके स्टेसनरीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझी गाडीमा हिँडाइसकेको र आउने बुधबारसम्म पालिका केन्द्र पुलसम्म पुस्तक पुगिसक्ने मुगुम कार्मारोङ गाउँपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी दिए । 

जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँपालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयका लागि पुस्तक विक्रेताको जिम्मा लिएको एम भी इन्टरप्राइजेजले गत आइतबार नै पालिकामा पुस्तक पुर्‍याई बिक्री–वितरण सुरु गरिसकेको शिक्षा शाखा प्रमुख दानबहादुर बुढाले जानकारी दिए ।

आगामी वर्षको शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुँदै छ । वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना अभियान चल्छ । यसरी शैक्षिक सत्र सुरु हुनु अगावै चैतमै पुस्तक जिल्लामा पुगेकाले भर्नासँगै विद्यार्थीले हातहातमा पुस्तक पाउने भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ मुगुका निमित्त प्रमुख खड्कराज भियालका अनुसार  जिल्लामा रहेका एक सय ३९ सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीले सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीले अनिवार्य विषयका पुस्तक निःशुल्क पाउनेछन् ।