Skip This
एमाले बारा अधिवेशन : पाँच पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २३ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o चैत २३ शुक्रबार १o:४१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले बारा अधिवेशन : पाँच पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o चैत २३ शुक्रबार १o:४१:oo

अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीकाे उम्मेदवारी दर्ता

नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुईजनासहित ११ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । दुई उपाध्यक्ष पदका लागि नारायणप्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, एकजना सचिव पदका लागि एम समिउल्लाह, अमृत शर्मा बजगाईं (सुजन) र भिखारी साह विद्रोहीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोकुल घोरसाइनेले जानकारी दिए । 

दुईजना उपसचिव पदका लागि खुला र महिलातर्फ गरी चारजनाको उम्मेदवारी परेको छ । जसमा जवाहिर अन्सारी र धनीराम चौधरी गरी चारजनाको खुलातर्फ उम्मेदवारी परेको छ । यस्तै, महिलातर्फ कमला घिमिरे र भावना आचार्यले उम्मेदवारी दिएका छन् ।

एमालेको जिल्ला कमिटी पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुनेछ जसमध्ये अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित एक सय २५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । बाँकी दशजनालाई मनोनीत गरिने बताइएको छ । 

दिउँसो १ बजेदेखि मतदान

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको हुँदा  निर्वाचन तालिकाभन्दा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ । अन्तिम नामावली प्रकाशित भइसकेको हुँदा शुक्रबार दिउँसो १ बजेदेखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत महम्मद रफिक मियाँले बताए । अधिवेशनमा १६ पालिकाबाट आठ सय ३० जना प्रतिनिधि मतदाता रहेका छन् । 

नेताहरूले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाए पनि भित्रभित्रै आफ्नो गुटको पक्षमा लबिङ गरेकाले मतदानबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो । 

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पार्टी वरिष्ठ अपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशन स्थलमा सहभागी नेता, कार्यकर्ताहरूले प्रतिक्रिया दिएका छन् ।

उम्मेदवारी दर्ता नगर्न ओलीको फोन

नेकपा एमालेका नेता तथा कोल्हवी नगरपालिकाका पूर्वनगरप्रमुख भरतबहादुर भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले उम्मेदवारी दर्ता नगर्न दबाब दिएको उनले बताए । ‘म केही समयबाट अध्यक्ष पदका निम्ति तयारी गरिरहेको थिएँ । तयारी राम्रो नै थियो । तर, मनोनयन दर्ताको एक दिनअघिबाट नेताहरूले दबाब दिए । कतिसम्म भने अध्यक्ष ओलीको समेत फोन आएपछि मैले मनोनयन दर्ता गरिनँ,’ भण्डारीले भने, ‘जिल्ला कमिटी बनाउन बालकोट सचिवालयबाट चलखेल भइरहेको छ ।’

अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेले आफूले पार्टीलाई अनुकूल बनाउन तीनपटक अध्यक्षको पदका निम्ति प्रयास गर्दा सहमतिका निम्ति तीनैपटक सचिव भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेश सभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको, पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिक रूपमा पारदर्शी र मितव्ययी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल अध्यक्ष भई काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

अर्का उम्मेदवार टिना सुवेदीले पार्टीलाई थप बलियो बनाउन आफू अध्यक्षमा आउन चाहेको बताएकी छिन् । निवर्तमान जिल्ला उपाध्यक्ष सुवेदीले महिलाले जिल्लाको नेतृत्वमा गएर काम गर्न सक्छन् भने उदाहरण बन्न र जिल्लामा रहेर निकै लामो समय काम गरेका कारण यसपटक अध्यक्षमा दाबी गरेको बताइन् । निवर्तमान जिल्ला उपाध्यक्ष सुवेदी अध्यक्ष ओलीनिकट हुन् ।

एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले भने, ‘जिल्ला अधिवेशन सहमतिमा गर्ने मुख्य नेताहरूको पहल भएको हो । तर, अब सम्भव नहुने अवस्थामा आइपुगेको छ । सायद अब मतदान नै हुन्छ होला । निर्वाचनमा जिल्ला अध्यक्षका लागि पार्टीका नेताहरू पाण्डे र सुवेदीले स्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ ।’

बारामा ओलीनिकट मानिने एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वाला साह एकतर्फ छन् । अध्यक्षका उम्मेदवार टिना सुवेदी पोलिटब्युरो सदस्य मैनालीकी श्रीमती हुन् भने सचिव पदका उम्मेदवार अमृत शर्मा बजगाईं (सुजन) पोलिटब्युरो सदस्य ज्वाला साहका श्रीमान् हुन् । उनीहरूलाई परिवारवादमा लागेको आरोपसमेत मतदाताले लगाएका छन् ।  उनीहरूको जिल्लामा व्यापक विरोधसमेत भइरहेको छ ।   

यता, एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल अर्कोतर्फ छन् । उनले अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेलाई समर्थन गरेका छन् । नेकपा एमालेका नेताहरू आफूनिकटका व्यक्तिहरूलाई अध्यक्षमा जिताउने रणनीतिमा सक्रिय बनेका छन् । कतिपयले यो निर्वाचनलाई नेताहरूको शक्ति परीक्षणको रूपमा पनि हेरेका छन् ।