ओमानमा आयोजना हुने एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले सहज जित निकालेको छ । आइतबार गुजरातको स्टेट टिमविरुद्ध गुल्सन झाको उत्कृष्ट बलिङ प्रेरित नेपालले आठ विकेटको जित निकालेको हो । कप्तान रोहितकुमार पौडेल र अनिल शाहले अविजित इनिङ्स खेल्दै नेपाललाई जित दिलाएका हुन् ।
मोन्टी देसाईको प्रशिक्षणमा रहेको नेपालले यस खेलबाट एसिसी प्रिमियर कप तथा आइसिसी टी–२० विश्वकपका लागि राम्रो तयारी हुने आशा गरेको छ । एसएमएस फ्रेन्डसिप कप २०२४ को शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले दोस्रो खेल २० चैतमा बरोडासँग खेल्नेछ । २१ चैतमा २१ गुजरात तथा २३ चैतमा बरोडासँग दोस्रो खेल खेल्नेछ । फाइनल २५ चैतमा हुनेछ । यसपछि नेपाल ओमानमा हुने एसिसी प्रिमियर कपमा सहभागी हुनेछ ।
यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै नेपाललाई ९९ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले रणजी टिमविरुद्ध १५.२ ओभरमा दुई विकेट गुमाउँदै जित हात पारेको हो । गुजरात टिमविरुद्ध प्रशिक्षक मोन्टीले रोहित र अनिल तथा गुल्सनसँगै आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरालाई अवसर दिएका थिए ।
नेपालका ओपनरद्वय कुशल भुर्तेलले १७ र आसिफ शेखले १६ रन जोडेका थिए । त्यसपछि क्रिजमा आएका अनिलले ३२ तथा कप्तान रोहितले ३३ रनको योगदान गरेका हुन् । अनिलले ३५ बलमा ३ चौका र एक छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरेका हुन् ।
गुल्सन चम्किँदा गुजरातको ब्याटिङ धराशयी
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि गुल्सन झा चम्किएपछि गुजरातको टोली कमजोर बनेको थियो । गुजरातको इनिङ्समा कुनै पनि खेलाडीले ठूलो साझेदारी गर्नै पाएनन् । बलिङमा नेपालका गुल्सनले चार विकेट लिए । गुल्सनले चार ओभरमा २२ रन खर्चिएका हुन् । करण केसीले तीन विकेट लिए । उनले ३.२ ओभरमा २२ रन नै दिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
गुजरातका लागि ओपनर रुद्र मयुर पटेलले सर्वाधिक २३ रन जोडेका थिए । नेपालका दीपेन्द्रसिंह ऐरीबाट रनआउट भएका उनले २२ बलमा चार चौका प्रहार गरेका हुन् । सरल प्रजापति १७ रनमा रनआउट भए । गुजरातका स्मित पटेलले १०, अभिषेक देसाईले ११ र हेमंग पटेलले २० रन बनाएका थिए ।