१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मी र एपिएफ च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o८:oo

वीर गणेशमान राष्ट्रिय बक्सिङमा आर्मीले पुरुषमा तीन र एपिएफले महिलातर्फ तीन स्वर्ण जिते

नेपाल आर्मी र एपिएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन् । टिम विजेता आर्मीले सर्वाधिक तीन स्वर्ण हात पार्‍यो । प्रहरीले दुई तथा कर्णालीले एक स्वर्ण प्राप्त गरे । महिलामा एपिएफले सर्वाधिक तीन स्वर्ण जित्यो । आर्मी, लुम्बिनी र प्रहरीले समान १–१ स्वर्ण हात पारे । पुरुष र महिला दुवैमा समान ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपिएफकी संगीता सुनार उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० हजार नगद पुरस्कार हात पारे । 

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५१ केजी फाइनलमा प्रहरीका चन्द्रले मधेश प्रदेशका रविन थापालाई पराजित गरी स्वर्ण जिते । पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णालीका सुलभ मालीबाट (वाकओभर) पाए । यसैगरी, ६३.५ केजीमा प्रहरीका भूपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगरलाई हराए । ७१ केजीमा आर्मीका दानबहादुर दर्लामी मगरले एपिएफका विक्रम चौधरीमाथि जित निकाले । ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावललाई पाखा लगाए । 

९२ केजीमा आर्मीका महेन्द्र केसीले एपिएफका रविन नेपाललाई हराउँदै पहिलो भए । यसैगरी, महिला ५० केजीको स्वर्ण भिडन्तमा लुम्बिनीकी सुष्मा तामाङले बागमतीकी रमिशा श्रेष्ठलाई हराइन् । ५४ केजीमा प्रहरीकी अञ्जनी तेलीले बागमतीकी रक्षा जिसीलाई निराश पारिन् । ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोशीकी नारिका राईविरुद्ध जित निकालिन् । ६० केजीमा एपिएफकी संगिता सुनारले आर्मीकी ललिता महर्जनलाई पराजित गरिन् । 

यसैगरी, महिलातर्फको ६६ केजीमा एपिएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङलाई अंकका आधारमा हराइन् । ७५ केजीमा एपिएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगूलाई पाखा लगाउँदै स्वर्ण जितिन् । हरेक तौलसमूहमा शीर्ष खेलाडीले २५ हजार पाए । दोस्रो स्थानमा रहने खेलाडीले १५ हजार र तेस्रो स्थानमा रहेकाले ७५ सय रुपैयाँ पाए । विजयी खेलाडीलाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

ad
ad