१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार २३:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आठौँ विराट गोल्डकप: आर्मीलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २३:o८:oo

त्रिभुवन आर्मी क्लबलाई हराउँदै एनआरटी क्लब काठमाडौं आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अब सेमिफाइनल प्रवेशका लागि एनआरटीले भारतको सिक्किम ड्रेगानसँग प्रतिस्पर्धा गर्नेछ।

विराटनगरस्थित सहिद रंगशालामा राति भएको खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई २–० गोलले पराजित गर्यो। यही सिजनमा २४औँ बूढासुब्बा गोल्डकपको फाइनलमा पनि आर्मी क्लबसामू एनआरटी बाधक बनेको थियो। तर, आर्मीले बदला लिने अवसर सदुपयोग गर्न सकेन।

एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफको २६ औं मिनेटमा एनआरटीका रिचार्डले टिमलाई अग्रता दिलाएका थिए । आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो । 

पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५औँ मिनेटमा आफिजको गोलमा अग्रता दोब्बर पार्यो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुदीप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडर गरेका थिए । आर्मीका गोलरक्षक समित श्रेष्ठले पन्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो ।  

आर्मीले खेल सुरु भएको ६  मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाए । आर्मीका जिलेस्पी जंग कार्कीले १३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । 

त्यसलगत्तै दिनेशले गोलकिपर बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । १६औँ मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुके । 

४०औँ मिनेटमा जय गुरुङले निकालिदिएको बलमा वन भर्सेस वनको अवस्थामा पनि एनआरटीका रिचार्ड गोल गर्न चुकेका थिए । लगत्तै उनको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले डिफ्लेक्ट हुँदै बाहिरियो ।

दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो  । ५२औँ मिनेटमा जिलेस्पीको हेडर पोस्टमाथिबाट बाहिरिँदा आर्मीले बराबारीमा ल्याउन  सकेन । 

६५औँ मिनेटमा एनआरटीका संजीव विष्टले वन भर्सेस वनको अवस्थामा पोस्टमाथि प्रहार गरे । ७३औँ मिनेटमा आर्मीका युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । 

८६औँ मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडि बढाएर डिबक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बिट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । 

हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरुले चुकाउँदा हार व्यहोर्नुपरेको बताए । एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो टिमवर्कका कारण नतिजा आफ्नो पक्षमा पार्न सफल भएको प्रतिक्रिया दिए।

शुक्रबारको खेलमा प्लेरअफ द म्याच एनआरटीका आफिज ओलावाले घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । 
अब शनिबार पहिलो क्वार्टरफाइनल खेलमा घरेलु टिम सांग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटिसी एफसी क्बलबीच हुनेछ । गोल्डकपको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ । 

ad
ad