१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
प्रेम गौतम काठमाडाैं
२०८० चैत १६ शुक्रबार ०७:३०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्तागठबन्धनमा सहमति कार्यान्वयन सुरु, राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा 

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०८० चैत १६ शुक्रबार ०७:३०:००

राष्ट्रिय सभा उपाध्यक्ष, राष्ट्रपतिबाट मनोनीत हुने सांसद,  मुख्यमन्त्री र मन्त्रीको विषय प्याकेजमै टुंगो लगाइने

पुरानो गठबन्धन भत्केर बनेको नयाँ समीकरणअनुसार दलहरूबीच भएको सहमति कार्यान्वयन सुरु भएको छ । यसअघि माओवादीबाट नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका थिए । बुधबार राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् ।

शीर्ष नेताहरूको सैद्धान्तिक सहमतिअनुसार पाँच दलको साझा सहमतिमा उपाध्यक्ष एमालेले पाउने अघिल्लो सहमतिको बुँदा हटाइएको छ । यद्यपि, एकीकृत समाजवादीले प्याकेजमै सहमति खोजिने जनाएको छ । एकीकृत समाजवादीकी उपाध्यक्ष एवं राष्ट्रिय सभा सांसद जयन्ती राईले राष्ट्रिय सभा उपाध्यक्ष, राष्ट्रपतिबाट मनोनीत सदस्य, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको विषय प्याकेजमै टुंगो लाग्ने बताइन् । ‘उपाध्यक्षको विषय मात्रै होइन, सबै कुरा प्याकेजमै टुंगो लगाउने कुरा छ । दलहरूको छलफलपछि मात्रै विषय टुंगिन्छ,’ उनले भनिन् ।

राजेन्द्र गौतम, प्रचार विभाग प्रमुख, एमाले
उपाध्यक्षमा एमालेको बलियो दाबी छ । तर, अन्तिम निर्णय सत्तासमीकरणमा रहेका दलहरूबीचको समझदारीबाटै हुनेछ । 

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले उपाध्यक्ष एकीकृत समाजवादीलाई दिने सैद्धान्तिक सहमति रहेको बताए । ‘उहाँहरूलाई उपाध्यक्ष दिने सैद्धान्तिक सहमति हो । प्रदेशको विषयमा पनि दलहरूबीच छलफल भइरहेको छ । केही दिनमै टुंग्याउने तयारी छ,’ उनले भने । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शीर्ष तहको सहमतिअनुसार नै अगाडि बढ्ने बताए । ‘उपाध्यक्षमा एमालेको बलियो दाबी छ । तर, अन्तिम निर्णय सत्तासमीकरणमा रहेका दलहरूबीचको समझदारीबाटै हुनेछ,’ उनले भने ।

अध्यक्ष पुरुष भएकाले एकीकृत समाजवादीबाट उपाध्यक्ष हुने अवस्थामा जयन्ती राई, मदनकुमारी शाह, गोमादेवी तिमल्सिना, राजेन्द्रलक्ष्मी गैरे र सावित्री मल्लमध्ये एक हुनेछन् । पार्टी उपाध्यक्ष र समिति सभापतिसमेत रहेकी राईले उपाध्यक्षमा इच्छा देखाएकी छैनन् । शाहको सम्भावना बलियो रहेको एक नेताले बताए । एमालेबाट इन्दिरादेवी गौतम, तुलसाकुमारी दाहाल, विमला घिमिरे, भगवती न्यौपाने, शारदादेवी भट्ट, सुमित्रा बिसी र रुकमिणी कोइराला सांसद छन् । उपाध्यक्ष एमालेले लिए यीमध्ये एक सांसद उपाध्यक्ष हुनेछन् ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी (अध्यक्षसहित) १८, कांग्रेस १६, एमाले १०, एकीकृत समाजवादी आठ, जसपा तीन, लोसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक–एक सदस्य छन् । एकजना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ । पाँच दलीय गठबन्धनतर्फ माओवादी १८, एमाले १०, एकीकृत समाजवादी, जसपा तीन गरी ३९ सदस्य छन् भने विपक्षी गठबन्धनतर्फ कांग्रेस १६, लोसपा र जनमोर्चा एक–एक गरी १८ सदस्य खुलेका छन् ।

ओली फर्किएपछि टुंग्याउने तयारी
उपाध्यक्ष निर्वाचनअघि नै प्रदेश सरकारको भागबन्डा टुंग्याउने दलहरूको तयारी छ । प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने विषय छलफलमा छ । सुरुमा एमालेले तीन, माओवादीले दुई, जसपा र नागरिक उन्मुक्ति पार्टीले एक–एक प्रदेशको नेतृत्व लिने गरी सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन् । 

एकीकृत समाजवादीले पनि एउटा प्रदेशको नेतृत्वमा दाबी गरेको छ । एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले बागमती र लुम्बिनी प्रदेशको नेतृत्व लिने गरी छलफल अघि बढेको छ । यद्यपि, बागमती र कर्णालीमा एमाले र माओवादी दुवै दलले दाबी गरेका छन् । मधेशमा जसपा र सूदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिएर प्रदेशमा नयाँ समीकरणअनुसार सरकार बनाउने तयारी छ । 

१२ चैतमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । जसमा प्रदेश सरकारको भागबन्डा, उपनिर्वाचन केन्द्रित छलफल भएको थियो । एकीकृत समाजवादीले तालमेलका लागि बझाङ दिनुपर्ने अडान राख्यो । त्यही दिन प्रचण्डले पार्टीको बागमती प्रदेशको बैठकमा दुई दिनभित्रै भागबन्डा टुंगिने बताएका थिए । तर, ओली दुई दिनदेखि झापामा छन् । पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्न झापा पुगेका ओली अझै फर्किएका छैनन् । ओली फर्किएपछि सत्तारूढ दलहरूको बैठक बसेर सहमति गर्ने तयारी छ । एमाले प्रचार विभाग प्रमुख गौतमले अध्यक्ष ओली पूर्वबाट फर्किएपछि थप छलफल गरेर टुंग्याउने बताए ।

स्रोतका अनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । मधेश प्रदेश जसपाको भागमा परेको छ । बागमतीमा एमाले र माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेले लिने मोटामोटी सहमति छ । लुम्बिनी प्रदेश माओवादीले लिने गरी छलफल भइरहेको छ । कर्णालीमा एमाले र माओवादी दुवैले दाबी गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिएर नयाँ समीकरणअनुसार सरकार बनाउने तयारी छ ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले केन्द्रमा मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा नीति तथा कार्यक्रमबाहेक अन्य विषयमा ठोस सहमति नभएको बताए । ‘छलफल र संवाद जारी छ । केन्द्रमा मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा नीति तथा कार्यक्रमबाहेक अरू ठोस कुरा भएको छैन,’ उनले भने । एकीकृत समाजवादीले मधेस र बागमतीमध्ये एक प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । जसपा प्रवक्ता मनीष सुमनले कुन प्रदेशमा कसले नेतृत्व लिने भन्नेबारे ठोस सहमति हुन बाँकी रहेको बताए । सबै प्रदेशमा आलोपालो नेतृत्व गर्ने गरी छलफल अघि बढेको उनले बताए । ‘आलोपालो गर्ने गरी छलफल भएको छ । निष्कर्ष निस्कन बाँकी छ । मधेशमा जसपाकै नेतृत्वमा सरकार कायम रहनेछ,’ उनले भने ।