१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १५ बिहीबार ११:४८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गाउँको यात्रा कसरी अविस्मरणीय बनाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १५ बिहीबार ११:४८:००

सहर छाडेर गाउँबस्ती घुम्ने रहर धेरैलाई हुन्छ । वनजंगल, स्वच्छ वातावरण, ग्रामीण जनजीवनका विभिन्न परम्परा र संस्कृतिले पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ । तर, हामीले यात्रालाई अविस्मरणीय बनाउन केही कुरामा ध्यान दिनैपर्छ । स्थानीय संस्कृति, भाषा र संस्कारको सम्मान गर्नुपर्छ । स्थानीयसँग सम्बन्ध राम्रो नभए यात्रा फिक्का हुन सक्छ । 

सकेसम्म यात्रालाई चाँडोे सकाउने हतारोमा कतिपय मानिस रहन्छन्् । तर, यात्रालाई छिटो सकाउने हतारो गर्नुभन्दा पनि दृश्यावलोकनको मज्जा लिँदै बिस्तारै हिँड्नुपर्छ । मन परेका ठाउँमा उभिएर तस्बिर कैद गर्न नबिर्सनुस् । ती तस्बिरले यात्रापछि पनि तपाईंलाई यात्राको सम्झना गराइरहन्छन् । 

हतारो गर्दा कहिलेकाहीँ स्वास्थ्य समस्या पनि देखिन्छ । पहिलो दिनमै अति धेरै हिँड्दा भोलिपल्टै थाक्ने हुन्छ । दुई हजार मिटरभन्दा कम उचाइमा बसेका मानिस एकै दिनमा तीन–चार हजार मिटर उचाइमा पुग्न खोज्छन्, जसकारण वातावरणमा घुलमिल हुन नसकेर बिरामी पनि पर्छन् । भौगोलिक अवस्था र वातावरणले गर्दा पनि थकान र स्वास्थ्य समस्या देखिन्छ । त्यही कारण यात्रामा एक दिनमा एक हजार मिटरको उचाइ पार नगर्ने भन्ने नियम नै छ । १३ सय मिटरको उचाइमा बसेको मान्छे एकै दिनमा २५ सय मिटरको उचाइमा जानुहुँदैन । दिनको अधिकतम एक हजार मिटर उचाइ पार गर्ने तरिकाले यात्राको योजना बनाउनुपर्छ । 

ग्रामीण क्षेत्रमा इन्टरनेटको सुविधा नहुन सक्छ । मोबाइल नेटवर्क पनि नटिप्न सक्छ । बत्तीको पहुँच पनि नहुन सक्छ । डिभाइसहरू चार्ज गर्न सकिँदैन । यात्रा गर्ने ठाउँको जानकारी लिन असहज हुन सक्छ । त्यसैले डाटा केबल, टर्च, पावर बैंकलगायत उपकरण यात्रामा हिँड्दा आफूसँग बोक्नुपर्छ । 

झोलामा मौसमअनुसार आवश्यक पर्ने कपडा, पञ्जा, प्राथमिक उपचारका सामग्रीलगायत बोक्नुपर्छ । ग्रामीण क्षेत्रमा विशेष गरी लामो ट्रेकमा जाँदा भनेकै ठाउँमा होटेल उपलब्ध नहुन सक्छ । तसर्थ, तपाईंले आफ्नो झोलामा केही खानेकुरा बोक्नु राम्रो हुन्छ । इनर्जी दिने चकलेट, कुकिज, काजु, बदामलगायत ड्राइफ्रुट झोलामा बोक्नु राम्रो हुन्छ ।