मकवानपुर गढी गाउँपालिकामा मंगलबार साँझ एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
मकवानपुरगढी गाउँपालिका– ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्यचौकीको बागमती प्रदेश ०१–००३ झ ५८०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुरगढी– ७ का ३६ वर्षीय चालक पेमारत्न लामा गम्भीर घाइते भएका हुन् । उनको हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर ७ को नरसिंह डाँडास्थित भित्री सडकखण्डमा सुकौराबाट नर्सिङ डाँडातर्फ बिरामी पुर्याई फर्कने क्रममा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हो ।
एम्बुलेन्स सडकदेखि दुई सयमिटर तल खसेको वडा नम्बर ७ का वडासदस्य प्रतिमान रुम्बाले जानकारी दिए ।