१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ ब्रोकरलाई ग्राहक बढाउन सकस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३o:oo

सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाउन पहिलोपटक खुला प्रणालीमार्फत लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई नयाँ लगानीकर्ता थप्न कठिन भएको छ । आर्थिक मन्दी र पुँजी बजारमा आएको गिरावटले नयाँ ब्रोकरलाई पुराना ब्रोकरसँग प्रतिस्पर्धा गर्न चुनौती भएको हो ।

नयाँ ब्रोकर कम्पनीले कारोबार सुरु गरेको करिब एक वर्ष हुनै लाग्दा पनि उलेख्य रूपमा लगानीकर्ता थप्न सकेका छैनन् । न्यु स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नयाँ ब्रोकरको औसतमा तीनदेखि चार हजारको संख्यामा नयाँ लगानीकर्ता भएको बताउँछन् । उनले भने, ‘नयाँ ब्रोकरले लाइसेन्स पाएदेखि नै बजार २२ सयको विन्दुभन्दा माथि उक्लिन सकेको छैन । जसले गर्दा दोस्रो बजारमा कारोबार गर्ने नयाँ लगानीकताको संख्या पनि कम नै छ ।’ बजार बढेको अवस्थामा नयाँ लगानीकर्ता थपिनेको संख्या पनि बढ्दै जाने उनको भनाइ छ । अर्थतन्त्रको सुधारसँगै सेयर बजारमा पनि सुधार आउने र नयाँ ब्रोकरमा पुँजी, लगानी र लगानीकर्ताको संख्या पनि थपिने उनको विश्वास छ ।  

नयाँ ब्रोकर कम्पनीहरूले लामो समयको संघर्षपछि ब्रोकर लाइसेन्स पाएका हुन् । सेयर बजारमा ५० वटा ब्रोकर कम्पनीको सिन्डिकेट रहेको भन्दै आलोचना हुँदै आएपछि बजारलाई प्रतिस्पर्धात्मक बनाउन तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको पहलमा सरकारले ब्रोकर लाइसेन्सका लागि अनुमति दिएको थियो । तर, करिब १६ वर्षपछि थपिएको नयाँ ब्रोकर कम्पनीलाई नयाँ सदस्य थप्न अहिलेको बजारमा मुस्किल परेको नयाँ ब्रोकरका सञ्चालक स्वीकार गर्छन् । हाल नयाँ र पुरानासहित ८६ वटा ब्रोकर कम्पनीले कारोबार गरिरहेका छन् ।

नयाँ ब्रोकर एक पदाधिकारीले लामो संघर्षपछि लाइसेन्स पाउँदा छुट्टै उत्साह थियो, तर अहिले लगानीसमेत संकटमा परेको बताए । उनले भने, ‘बजार पूरै सुस्तता छायो, पुराना ब्रोकरको कमी–कमजोरीलाई हामीले क्यास गर्न सक्छौँ भनेर उत्साहित थियौँ, तर समग्र अर्थतन्त्र नै थलियो, नयाँ ग्राहक थप्नै सकस भयो ।’

कारोबारको हिसाबले पुराना ब्रोकर कम्पनीको तुलनामा नयाँ ब्रोकर कम्पनी धेरै पछि नै छन् । अहिले बढी सेयर किनबेच गर्ने १० ब्रोकरभित्र कुनै पनि नयाँ ब्रोकर परेका छैनन् । यसले पनि नयाँ ब्रोकरमा चुनौती रहेको देखिन्छ । ब्लुचिप सेक्युरिटिजका प्रबन्धक डिल्लीराम पंगेनीले तत्कालको अवस्थामा नयाँ ब्रोकरलाई चुनौती भए पनि सधैँ यो गति नहुने बताए ।

अहिले सेयर बजार मात्र होइन, समग्र बजार नै मन्दीको चपेटामा परेको हुँदा समस्या सबैतिर भएको उनको भनाइ छ । उनले भने, ‘हामीले लाइसेन्स पाउँदै गर्दादेखि नै एउटा चुनौती थियो त्यसमा बजार झनै खस्कियो, नयाँ लगानीकर्ता बजारमा आउनै चाहेनन्, तैपनि पुराना ब्रोकर कम्पनीसँग प्रतिस्पर्धामै छौँ ।’

अर्का एक ब्रोकर सञ्चालक नयाँ र पुरानालाई अहिले नै तुलना गर्न नहुने बताउँछन् । उनले भने, ‘हो, पक्कै पनि हामी संकटमा छौँ, बजारको गति सुस्त छ, तर पुराना ब्रोकरले हिजो र आजै बनाएको पोर्टफोलियो होइन, २० वर्षदेखि बनाएका हुन्, सुरुमा आएर बजारमा भिजिसकेका छन्, अहिले हामीले जति पाएका छौँ, अहिलेको समयअनुसार सन्तुष्ट नै मान्नुपर्छ ।’

पुराना ब्रोकर भन्छन्– प्रतिस्पर्धात्मक बजार हुन सकेन
बजारलाई प्रतिस्पर्धात्मक बनाउन लाइसेन्स वितरण गरिए पनि प्रतिस्पर्धात्मक हुन नसकेको ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए । ‘प्रतिस्पर्धात्मक गराउने भनेर नयाँ ल्याइयो, तर नियामकको निकाय बन्धनमा बसेर कसरी प्रतिस्पर्धात्मक हुन्छ,’ उनले भने, ‘न कमिसनमा फेरबदल गर्न पाइन्छ, नयाँ कुनै स्किम ल्याएर लगानीकर्तालाई प्रभावित गर्न पाइन्छ, एउटै नियममा बसेर प्रतिपस्र्धा नभई खुला गरेमा बजार प्रतिस्पर्धात्मक हुन्छ ।’

बजारलाई प्रतिस्पर्धात्मक बनाउन नयाँ ब्रोकर थपियो, अब प्रतिस्पर्धा बनाउन खुला छाडिदिनुपर्ने उनको सुझाव छ । तोकिएको कमिसन, तोकिएको पुँजीमा बसेर बजार प्रतिस्पर्धात्मक नहुने सापकोटाको भनाइ छ । 

ad
ad