१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० चैत १० शनिबार १२:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली नदीको बहुउपयोगमा सराेकारवालाकाे जोड

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० चैत १० शनिबार १२:४६:००

सरोकारवालाहरूले महाकाली नदीको बहुउपयोग गर्दै आर्थिक विकासमा जोड दिएका छन्। शुक्रबार भीमदत्त नगरपालिकाले आयोजना गरेको विश्व पानी दिवस कार्यक्रममा सहभागी सरोकारवालाहरूले महाकाली नदीको बहुउपयोगमा जोड दिएका हुन्।

‘विश्व शान्तिका लागि पानीको समन्यायिक पहुँच’ भन्ने मूल नाराका साथ भीमदत्त नगरपालिकाले निड्स नेपालसहितका साझेदारी संस्थासँग महाकाली तटीय क्षेत्र खल्लामछेट्टीमा आयोजना गरेको महाकाली रिभर महोत्सव कार्यक्रममा सरोकारवालाहरूले महाकालीको बहुउपयोग गर्दै आर्थिक समृद्धिमा लगाउनुको विकल्प नभएको धारणा व्यक्त गरे।

कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटीले उत्तर हिमालयबाट बगेर आउने महाकाली नदीको प्राकृतिक रूपमा उपयोग गर्नका लागि नगरपालिकाले हरप्रयास गर्ने बताए। मेयर बोगटीले चुरेदेखि समथर भागसम्म महाकाली नदीमा साहसिक जलयात्राको समेत सम्भावना भएको बताए। ‘भीमदत्त नगरपालिकाले विगतमा पनि साहसिक जलयात्रा गरेको र अहिले पनि सफल गरेको छ। यस खल्लामछेट्टी क्षेत्रमा पर्यापर्यटनका लागि महाकाली नदी निकै उपयोगी छ,’ उनले भने।

निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले महाकाली नदी ज्यादै सम्भावना बोकेको नदी भएकाले यसको बहुुउपयोग गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा जोड दिए। उनले कञ्चनपुर खण्डमा महाकाली नदी र्‍याफ्टिङका लागि निकै सम्भावना भएकाले पर्यापर्यटनमा जोड दिए।

नेपाल र्‍याफ्टिङ एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारीले जलयात्राका लागि महाकाली निकै सम्भावना बोकेको नदी भएकाले त्यसको प्रवर्द्धनका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए। ‘यो महाकाली नदी हरेक दृष्टिकोणबाट प्रशस्त सम्भावना बोकेको नदी हो,’ उनले भने, ‘यहाँ र्‍याफ्टिङमा लगानी गर्ने लगानीकर्ता भित्र्याउनुपर्छ।’

भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले महाकाली नदीको आवश्यक उपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। कृष्णपुर नगरका मेयर हेमराज ओझाले महाकाली नदी आफैँमा महत्त्वपूर्ण भएकाले यसको सिँचाइदेखि थुप्रै विकासमा उपयोग गरेर समृद्धिका क्षेत्रमा जोड्नुपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महाकाली नदीको दिगो उपयोग गर्दै आर्थिक विकास गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री शाहले र्‍याफ्टिङसहितका सबै सम्भावनाका लागि लगानी भित्र्याउन पहल गर्ने आश्वासन दिए।