१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ९ शुक्रबार १५:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चरा अवलोकनका लागि नवलपुरमा तीन मार्ग पहिचान

Read Time : > 1 मिनेट
२०८० चैत ९ शुक्रबार १५:५७:००

चरा अवलोकनमा रुचि भएकाहरूका लागि पोखरा पक्षी समाजले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा नवलपुरमा तीन मार्ग पहिचान गरेको छ। समाजले ‘नेपाल बर्ड फेयर’मा निर्माण गरेको नयाँ बर्ड वाचिङ ट्रेल प्याकेजहरू पोखरामा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो।

नवलपुरस्थित कावासोती– १३ मा २६ देखि २८ माघ २०८० मा आयोजना गरिएको दोस्रो नेपाल बर्ड फेयरमा तयार गरेको अवलोकन ट्रेल प्याकेजहरू उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उद्योग पर्यटनतर्फका सचिव कुमानसिंह गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नवीन पोखरेल, पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलगायतले सार्वजनिक गरेका थिए। फेयरका अवसरमा ४१ जनालाई चरा अवलोकन तालिम दिइएको थियो। तालिमपछि चरा अवलोकनका लागि अवधारणा बनाएर सरकारवालासँग छलफल गरी मार्गहरू पहिचान गरिएको हो।

पछिल्लो समय चरा हेर्न आउने पर्यटकको संख्यामा वृद्धि भइरहेको छ। नेपालमा आउने विदेशी पर्यटकहरुमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको बताइन्छ। विशेष गरी जाडो छल्नका लागि साइबेरिया, चीन, मंगाेलियालगायतका देशबाट नवलपुरदेखि पोखरासम्म हिउँदे चरा आउने गरेका छन्। नेपालमा पाइने कुल आठ सय ८७ प्रजातिका चरामध्ये ६ सय प्रजातिका चरा गण्डकी प्रदेशमा पाइन्छन्।

यस्ता छन् अवलोकन मार्ग
पहिलो मार्ग : नारायणी नदीमा डुंगामा यात्रा गरिने तीन ट्रेल यसमा समेटिएको छ। जसमध्ये पहिलो ट्रेलले पिठौलीघाटदेखि नमुना सामुदायिक वनको बीच भाग आठ किलोमिटर, दोस्रोले जमुनाघाटदेखि अमल्टारी घाटसम्मको आठ किलोमिटर र तेस्रोले रत्नापुरादेखि भुताहा पोस्टसम्मको १२ किलोमिटरको दूरी समेटेको छ।

यी ट्रेलहरूमा केही भाग जिप, केही पैदल र धेरै भाग डुंगामा यात्रा गर्ने  गरी समेटिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए। यस मार्गको मुख्य आकर्षणमा १४ भन्दा धेरै थरिका हाँस र १० प्रजातिका जलपछीहरू रहेका छन्।

दोस्रो मार्ग : देवचुली ट्रेलमा कावासोतीबाट जिप यात्रा सुरु गरी करिब डेढ घण्टामा पोखरी भन्ने ठाउँमा पुग्न सकिने र त्यसपछि तीन घण्टाको पैदल यात्रा रहेको छ। देवचुलीको चुचुरो पुगेर फर्किएपछि यात्रा सकिन्छ र थोरै तल होमस्टेमा रात बिताउन सकिन्छ। सोही दिनमा फर्कन चाहनेहरू फर्कन सक्ने छन्।

यस ट्रेलमा मुख्य गरी नेपालमा मात्रै पाइने काँडे भ्याकुर, विभिन्न प्रजातिका चाँचर, कालिज, घेघरी, घाँसेफिस्टो, नहिकुटी गौँथली आदी अवलोकन गर्न पाइनेछ। यो मार्ग २२ किलोमिटर लामो रहेको घिमिरेले जानकारी दिए।

तेस्रो मार्ग : लामीचौर बफरजोनअन्तर्गत पर्ने नमुना सामुदायिक ट्रेलमा विश्वकै पहिलो सामुदायिक व्यवस्थापनमा सञ्चालित जटायु रेस्टुरेन्टबाट यात्रा सुरु भई कृष्णसार सामुदायिक वनको गेटमा पुगेर टुंगिन्छ। पैदल यात्रा गर्नुपर्ने यो ट्रेल पूरा गर्न करिव पाँच घण्टा लाग्ने घिमिरेले जानकारी दिए।

यस ट्रेलमा विभिन्न आठ प्रजातिका गिद्ध (डंगर, सुन, लामोठुंडे, सानो–खैरो, सेतो, खैरो, हिमाली, राजगिद्ध), खर मजुर, कालिकण्ठे तोरीगाँडा, ठुलो कस्दरी, खोया हाँस, माछाकुल, झिलीलगायत प्रजातिका चराहरू देख्न सकिन्छ। यो मार्ग सात किलोमिटर लामो रहेको छ।