१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बढ्दै मानव–वन्यजन्तु द्वन्द्व : बारामा एक महिनामा तीन बाघ मरे, दर्जन मानिस घाइते

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:४१:oo

बारामा पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ। तीनवटा मात्र बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्ज विस्तार र संरक्षणपछि सो संख्या बढ्दै गएको छ। गत वर्षको गणनामा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको थियो। 

बाघको संख्या बढेसँगै वासस्थानको अभाव हुँदा बाघहरू आफैँ जुधेर घाइते हुने र घाइते बाघले बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउने गर्दछन्। जसका कारण मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको हो। हाल वन्यजन्तुसँगको द्वन्द्वका कारण स्थानीयले बाघलाई मासुमा विष हालेर दिनेदेखि गोली प्रहार गर्नेसम्म गर्न थालेको पाइएको छ।

गत मंगलबार मात्रै बाराको कोल्हवी नगरपालिका– २ स्थित तामागढी सामुदायिक वनमा चार–पाँच दिनअघि मरेको दुर्लभ पाटेबाघ फेला पर्‍याे। उक्त बाघको अनुहारमा गोली लागेजस्तो दागसमेत देखिएको छ। कोल्हवी सबडिभिजनअन्तर्गतको क्षेत्रमा दुई वर्षको पोथी बाघ मृत फेला परेको हो। डिभिजन वन कार्यालयले बाघलाई गोली प्रहार गरेर मारेको पाइएको जनाएको छ।

बाघको टाउकोमा ठूलो प्वाल भएको कारण बाघलाई कसैले गोली हानेर मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिभिजन वन कार्यालय सिमरा बाराका सूचना अधिकारी जवाहरलालप्रसाद कुर्मीले बताए।

यसको एक साताअघि निजगढ नगरपालिका– ४ स्थित कछडिया सामुदायिक वनमा समेत दुर्लभ पाटेबाघ मरेको अवस्थामा भेटिएको थियो। कछडिया सामुदायिक वनको नदी उकास क्षेत्रमा वयस्क बाघ मृत फेला परेको थियो। वयस्क पोथी बाघको शरीरमा कुनै घाउचोट नभएकाले स्थानीयले मासुमा विष हालेर छाडेको आशंका गरिएको छ। बारा र पर्सामा एक महिनामा सातवटा बाघ मरेका छन्। पर्सा राष्ट्रिय निकुञ्जले जनवारको राम्रोसँग हेरचाह नगरेको कारण बाघको मर्ने संख्या बढेको हो।

मानव र घरपालुवा  चौपायासमेत वन्यजुन्तबाट हुने आक्रमणको सिकार भएका छन्। पर्सा राष्ट्रिय निकुञ्जनजिकै रहेको बाराको निजगढ नगरपालिका– ११ स्थित तपोभूमि सामुदायिक वनमा पशुचौपाया चराउन गएकी निजगढ–११ की ४० वर्षीया दिलकुमारी पुलामी मगरलाई मंगलबार दिउँसो बाघले आक्रमण गरी घाइते बनायो। बाघको आक्रमणपछि उनलाई सँगै वनमा गएका भोबहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए। बाघको आक्रमणमा परेकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ। उनको पिठ्युँमा टाँका लगाइएको छ।

यता एक महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिकाका दुईजना घाइते भएका थिए। आक्रमणबाट बौधीमाई– ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साह बनियाँ र ३५ वर्षीय राजु साह बनियाँ घाइते भएका हुन्। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डस्थित पिलुवानजिक मोटरसाइकलमा सवार उनीहरूलाई बाघले पछाडिबाट आक्रमण गरेको थियो।

आक्रमणपछि सडकमा लडेका उनीहरूलाई त्यस रुटमा चल्ने बसमा रहेका यात्रुले उद्धार गरेका थिए। बाघको आक्रमणबाट राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ। सडकमा लडेका कृष्णको भने दुवै हातमा चोट लागेको थियो।

यस्तै, बाराको निजगढ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का निकुञ्ज र सामुदायिक वनसँग जोडिएका बस्तीका सर्वसाधारण बाघको त्रासमा छन्। पर्सा राष्ट्रिय निकुञ्ज र सामुदायिक वननजिकै रहेका बस्तीहरू यतिवेला त्रसित भएका छन्। बाघले दिनदिनै किसानले पालेको चौपाया मारेर खान थालेपछि पूरै गाउँ त्रसित भएको हो। निकुञ्जसँगै जोडिएका सामुदायिक वनमा पसेको बाघले गाई, गोरु, खसी, बाख्रा खाएको भए पनि निकुञ्जले बाघलाई नियन्त्रण गर्न सकेको छैन। निकुञ्जको मध्यवर्ती क्षेत्रको रूपमा रहेको रतनपुर र लालगाउँमा पछिल्लो समय मात्रै बाघले चार दर्जनभन्दा बढी चौपाया मारिसकेको छ।

बाघले चौपाया मार्नेक्रम बढेपछि स्थानीय बासिन्दामा त्रास बढेको रतनपुरका स्थानीय बताउँछन। घर र गोठमै बाघ पसेर चौपाया मार्न थालेपछि सर्वसाधारणले समेत असुरक्षित महसुस गर्न थालेका स्थानीय नयनकुमारी श्रेष्ठले बताइन्। वन्यजन्तुले निकुञ्जआसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि नसारेको निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले बताए। बस्ती बचाउन दीर्घकालीन योजना निर्माण गर्नुपर्ने नगरप्रमुख पुरीको भनाइ छ। विगत केही वर्षयता रतनपुर क्षेत्रमा जंगली जनावरले किसानले पालेको चौपाया र लगाएको बाली खाएर क्षति पुर्‍याउँदै आएको छ।

पर्सा राष्ट्रिय निकुञ्जले भने वन क्षेत्रमा भएका घटनाबारे निकुञ्जलाई जानकारी नहुने बताएको छ। निकुञ्जको क्षेत्रभित्र नभएका कारण घटनाको जानकारी निकुञ्जलाई नभएको पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोषकुमार भगतले बताए। उनले सामुदायिक वनमा भएका घटनामा निकुञ्जले कुनै कार्य गर्ने नमिल्ने जानकारी गराए। बाघ निकुञ्जको जंगलमा नभई सामुदायिक वन र जिल्ला वनको क्षेत्राधिकारभित्र भएको हुँदा निकुञ्जले हेर्न नमिल्ने निकुञ्जका संरक्षण अधिकृत भगतले बताए। यस क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र नरहेको प्रस्ट पार्दै उनले प्राविधिक सहयोग भने गर्न सकिने बताए।

यस क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर चौपाया मार्ने र मानवीय क्षतिको जोखिमसमेत उच्च रहेकाले सोको नियन्त्रणका लागि आवश्यक कार्य गरी पीडित किसानलाई क्षतिपूर्तिसमेत उपलब्ध गराइने बाराका डिभिजन प्रमुख विनोद सिंहले बताए। वनयजन्तुको समस्या हल गर्ने प्रमुख जिम्मेवारी निकुञ्ज, आरक्ष र वन कार्यालयको भए पनि उनीहरूसँग पर्याप्त स्रोतसाधन उपलब्ध नहुँदा प्रभावकारी  रूपमा यसको निदान गर्न सकिरहेका छैनन्।

ad
ad